शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा नेपालीलाई चुनाव लाग्यो, यी हुन् अध्यक्षका दाबेदार

बुधबार, ०५ जेठ २०७८, १८ : ०६
बुधबार, ०५ जेठ २०७८

अमेरिकामा यतिबेला गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को चुनावको रौनक बढेको छ । चुनाव नजिकिँदै जाँदा अमेरिकामा रहेका नेपालीहरुमा चुनावी सरगर्मी पनि बढेको हो । अध्यक्षमा ४ जनासहित पदाधिकारी र सदस्यमा गरी करिव चार सयजनाको उमेदवार परेको छ । अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बञ्जाडे, उपाध्यक्ष बुद्धिसागर सुवेदी, पूर्व बोर्ड सदस्य कृष्ण लामिछाने र तिलक केसीको उमेदवारी परेको छ ।

यस्तै वरिष्ठ उपाध्यक्षमा चित्रा केसी, कृष्ण जीवी पन्थ र बाबुराम लामाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा पूर्णचन्द्र बानियाँ, रोशन अधिकारी, गोपेन्द्र भट्टराई, दिलु पराजुली, अमरबहादुर छन्त्याल, प्रकाश बस्नेत, किशोर रेग्मी, प्रविन केसी, रामहरी अधिकारी, बिकास उप्रेती, सुमन थापा, टंक रेग्मी, चन्द्र लामा र बासुदेव अधिकारी गरी १४ जनाको उम्मेदवारी परेको छ ।

महासचिवमा बिनोद भट्ट, नवराज सुवेदी, अञ्जन चौलागाई र न्रिपेन्द्र धितालको उमेदवारी परेको छ । यस्तै अन्य पदाधिकारी र बोर्ड सदस्यमा समेत उमेदवारी दिनेहरुको लर्को छ । बोर्ड सदस्यमा १२ जना बिजयी हुनेछन्, त्यसका लागि ५४ जनाको उमेदवारी परेको छ । यसैगरी आईसीसी सदस्यमा २१ जनाको उमेदवारी परेको छ ।

निर्वाचन प्रमुख विश्व बरालले चुनावका लागि आवश्यक तयारी पूरा गरिएको जानकारी दिएका छन् । गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषदमध्ये अमेरिका सबैभन्दा धेरै सदस्य भएको परिषद मानिन्छ । यद्यपि अन्य परिषदहरुमा सदस्यहरुको अन्तिम नामावली प्रकाशित गर्न बाँकी छ ।

अमेरिकामा आजीवन र साधारण सदस्य गरी २० हजार सदस्य छन् । केन्द्रको हाइकमान्डदेखि स्थानीय राजनीतिको प्रभावले यस पटकको चुनाव पेचिलो बन्दै गएको छ । अध्यक्षमा उमेदवारी दिएका चारजना मध्ये बञ्जाडे, सुवेदी र लामिछाने नेपाली कांग्रेस निकट मानिन्छन् भने केसी वामपन्थी धारका मानिन्छन् ।

कांग्रेस निकट अध्यक्षका उम्मेदवार मध्ये बञ्जाडेलाई जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले समर्थन गरेका छन् भने वर्तमान कार्यसमिति अध्यक्ष सुनील साहले बञ्जाडेलाई मौन समर्थन गरेका छन् ।

अध्यक्षका अर्का प्रत्यासी लामिछानेलाई जनसम्पर्क समितिका पूर्व संयोजक बिष्णु सुवेदी, एनआरएनए आईसीसी सल्लाहकार तथा कांग्रेस नेता हरिबोल भण्डारी, जनसम्पर्क समितिका नेता प्रमोद सिटौला र आईसीसी सचिव गौरी जोशीको साथ छ । एमाले निकट नेताहरुको समेत लामिछानेलाई सहयोग मिलिरहेको दाबी गरिएको छ ।

अध्यक्षका अर्का प्रत्यासी सुवेदीलाई एनआरएनए अमेरिका पूर्वअध्यक्ष डाक्टर केशव पौडेल, कांग्रेस नेता यादव पण्डित लगायतको साथ रहेको चर्चा छ ।

एनआरएन अमेरिकामा सिन्डिकेट तोडौँ भन्दै वामपन्थी धारको नेतृत्व तिलक केसीले गरिरहेका छन् । कांग्रेसनिकट चारैजना उमेदवारले आफूले चुनाव जित्ने दाबी गरिरहेका छन् । अध्यक्षका उमेदवारहरू पदाधिकारीसहित केही बोर्ड सदस्य उमेदवारका साथमा विभिन्न राज्यमा दौडिरहेका छन् ।

एनआरएनएको चुनावी दौडमा पत्रकारले पनि उमेदवारी दिएका छन् । अमेरिकाबाट सञ्चालित खसोखास डटकमका कार्यकारी सम्पादक अनिल अधिकारीले एनआरएनए अमेरिकाको बोर्ड सदस्यमा उमेदवारी दिएका छन् हुन् । उनी विगत ७ बर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनी हाल बलेवा समाज अमेरिकाका अध्यक्ष छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप