शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डेरी उद्योगलाई १८ करोेड ३२ लाख विद्युत महसुल छुट दिन सिफारिस

बुधबार, ०५ जेठ २०७८, १३ : २४
बुधबार, ०५ जेठ २०७८

कोभिड–१९ को प्रभाव डेरी उत्पादनका क्षेत्र दूग्ध चिस्यान केन्द्र तथा दुग्ध उद्योगहरुलाई १८ करोड ३२ लाख बराबरको विद्युत महसुल छुट दिन राष्ट्रिय दुग्ध विकास बोर्डले सरकारलाई सिफारिस गरेको छ । कोरोनाको प्रभाव दुग्ध उत्पादन, खपत बजार र उद्योगमा समेत परेकाले विद्युत महसुलमा कम्तिमा ५० प्रतिशत छुट दिनुपर्ने देखिएकाले सिफारिस गरिएको दुग्ध विकास बोर्डले जनाएको छ ।

बोर्डले निजी, सहकारी तथा साझेदारी फर्ममार्फत हाल सञ्चालनमा रहेका ४ सय हाराहारीका दुग्ध चिस्यान केन्द्र तथा दुग्ध रिफाइनरी उद्योगहरुलाई ५० प्रतिशत छुटका दरले कुल १८ करोड ३२ लाख ५२ हजार ८३३ रुपैयाँ छुट दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको हो ।

यस्तो छुट सहकारी संघ संस्थाबाट सञ्चालित चिस्यान केन्द्र एवम् उद्योगहरुलाई ७ करोड २५ लाख ७७ हजार ५८३ रुपैयाँ, नेपाल डेरी एसोसिएसन अन्तर्गतका चिस्यान केन्द्र तथा उद्योगहरुलाई १ करोड ३४ लाख ९७ हजार ७५० रुपैयाँ, डेरी उद्योग संघ अन्तर्गतका चिस्यान केन्द्र तथा उद्योगहरुलाई ६ करोड ७७ लाख ७७ हजार ५०० रुपैयाँ र दुग्ध बिकास संस्थान अन्तर्गतका चिस्यान केन्द्र तथा उद्योगहरुलाई २ करोड ९४ लाख रुपैयाँ छुट दिनुपर्ने बोर्डले जनाएको छ ।

त्यसो त यो बोर्डको अनुसन्धानबाट प्राप्त सबै उद्योगहरुको कुल ३६ करोड ६५ लाख ५ हजार ६६६ रुपैयाँको महसुलबाट ५० प्रतिशत छुट गरि आएको रकम हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मुलुकको होटल, रेष्टुरेन्ट, शैक्षिक संस्था, पसल लगायत सर्वसाधारणहरूको चलायमान हुनु पर्ने प्रायः सबै क्षेत्र ठप्प हुँदा दूध तथा दुग्ध पदार्थको खपतमा निकै कमि आएकाले सो क्षेत्रको संरक्षणका लागि पनि यस्तो छुट दिनुपर्ने बोर्डद्वारा मन्त्रालयलाई सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बोर्डद्वारा तयार गरिएको प्रतिवेदनमा हाल देशैभरिबाट साना, मझौला तथा ठूला गरी करिब ४०० दुग्ध प्रशोधन उद्योगहरु रहेका छन् भने जसबाट दैनिक १० लाख ७१ हजार लिटर (कुल उत्पादनको १७ प्रतिशत) दूध नियमित संकलन तथा प्रशोधन हुने गरेका छन् ।

यी बाहेक कुल उत्पादनको ३३ प्रतिशत अर्थात् २१ लख लिटर अनौपचारिक क्षेत्र मार्फत दैनिक मिठाई पसल, चिया पसल, रेष्टुरेन्ट, लज लगायतका क्षेत्रमा विक्री वितरण हुने गरेको छ । बाँकी ५० प्रतिशत दूध भने कृषकहरुले स्थानीय रुपमै घ्यू, खुवा, दही उत्पादन गर्ने गरेको बोर्डको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदन अनुसार हाल देशैभरिबाट औपचारिक अनौपचारिक गरी दैनिक कुल २३ लाख एक हजार मेट्रिक टन दूध उत्पादन हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप