शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको त्रास : दुई प्रान्तमा ४२ संक्रमित फेला परेपछि चीनमा १० दिनमा १० करोडले लगाए खोप

हर्ड इम्युनिटीनजिक बेइजिङ
बुधबार, ०५ जेठ २०७८, १३ : १३
बुधबार, ०५ जेठ २०७८

पश्चिमा राष्ट्रहरुमा कोरोनाभाइरसविरुद्धको खोप लगाउन मानिसहरु हिच्किचाइरहेको बेला चीनमा भने खोप अभियान तीव्ररूपमा अघि बढिरहेको छ । नेशनल हेल्थ कमिसनका अनुसार चीनमा ४० करोड डोज खोप लगाइसकिएको छ । यो अमेरिका, बेलायत र जर्मनीको संख्या जोडेर पनि धेरै हो ।

यो तथ्यांकले १.४ अर्ब जनसंख्या रहेको चीनका आधा जनसंख्यालाई पनि अझै खोप लगाउन बाँकी रहेको देखाए पनि पछिल्ला दिनमा खोप अभियान निकै तीव्र गतिमा बढिरहेको पाइएको छ । चिनियाँ अधिकारीहरुका अनुसार गत मार्च २७ मा १० करोड डोज खोप लगाइसकिएको थियो । यो संख्या दोब्बर हुन मात्र २६ दिन लाग्यो भने त्यसको १७ दिनपछि खोप लगाउनेको संख्या ३० करोड पुगेको थियो । अहिले मात्र ९ दिनको अन्तरमा थप १० करोड डोज खोप लगाइएको छ ।

केन्द्रीय सरकार र स्थानीय अधिकारीहरुले खोप अभियानलाई अघि बढाउन कदम चालिनैरहेका छन् तर डरका कारणले पनि मानिसहरु खोप अभियानमा सामेल हुन थालेको बताइन्छ । पछिल्ला दुई हप्तामा खोप अभियान तीव्ररुपमा अघि बढेका आन्हुई र लियाओनिङ प्रान्तमा क्रमशः १७ र २५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । जसले गर्दा मे १६ मा एकै दिन आन्हुईमा ११ लाख जनाले खोप लगाउन पुगेका थिए । पछिल्लो हप्ता सो प्रान्तमा औसतमा ८ लाख ४० हजारले खोप लगाइरहेका छन् । सिन्ह्वाका अनुसार लियाओनिङ प्रान्तको राजधानी सेन्याङमा मे १२ यता औसतमा दैनिक १ लाख जनाले खोप लगाइरहेका छन् ।

सानो संख्या भेटिएका संक्रमितका कारण देशभर नै खोप लगाउनेहरुको संख्या बढेको देखिन्छ । आन्हुई र लियाओनिङमा संक्रमति भेटिएको समाचारपछि गत शुक्रबार एकै दिन देशभर १.४ करोड मानिसले खोप लगाइएका थिए । राजधानी बेइजिङमा १८ वर्षमाथिका ८० प्रतिशत जनताले कोभिड–१९ विरुद्धको खोपको कम्तिमा एक डोज लगाइसकेको  ग्लोबल टाइम्सले जनाएको छ । यसले बेइजिङ हर्ड इम्युनिटीको नजिक पुगेको बताइएको छ ।

स्रोत : सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप