बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जारी छ रक्तदान, माग अनुसार अपर्याप्त

मङ्गलबार, ०४ जेठ २०७८, २२ : ४१
मङ्गलबार, ०४ जेठ २०७८

नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रले कोभिड–१९ का महामारीमा  रगत सङ्कलनलाई जारी राखेको छ । मानवीय सेवाको सर्वोच्च संस्था रेडक्रसले  रगतको अभाव हुन नदिन जनस्वास्थ्यमा आवश्यक सबै मापदण्ड पालना  गरी  देशभर रगत सङकलनलाई निरन्तरता दिएको  छ  । 

क्यान्सर,मिर्गौलाका बिरामी , प्रसूति तथा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई ताजा रगतको आवश्यक पर्छ । सोसाइटीद्वारा सञ्चालित केन्द्रका निर्देशक दिव्यराज पौडेलले निषेधाज्ञाका कारण काठमाडौँ जिल्लामा दैनिक दुई ठाउँमा २० देखि २५ युनिट मात्र रगत सङ्कलन भइरहेको र स्वयंसेवी रक्तदाता कालीमाटीस्थित केन्द्रमा आइ रगतदान गर्ने गरेको बताए । उनका अनुसार निषेधाज्ञा जारी गर्नुपूर्व काठमाडौँमा दैनिक २०० युनिट सङ्कलन हुने गर्दथ्यो ।  अहिले यसको २० प्रतिशत मात्र हुने गरेको उनको भनाइ  छ । साथै दैनिक ३५० युनिट रगत खपत हुने गर्दथ्यो । 

सङ्कलित रगतले मागको आधामात्र पूर्ति गरेको छ । अहिले दैनिक ५० युनिट रगतको माग हुने गरेको बताइएको छ ।  “अहिले  क्याम्पबाट सङ्कलित  रगतले मागको  आधा मात्र पुरा गरेको छ”, उनले भने, “यसैले रगत सङ्कलन अझ बढाउनु आवश्यक छ । म रक्तदातालाई पायक पर्ने स्थानमा पुगि रगत दान दिन आह्वान गर्दछु ।”

केन्द्रले कारोना सङ्क्रमणको जोखिमलाई ध्यान दिँदै ठूला रक्तदान शिविरलाई स्थगन गरेको जनाएको छ । “क्यान्सर, मिर्गौलाका बिरामी, प्रसूतिलाई नियमित रगतको आवश्यक भइरहने गर्दछ” उनले भने, “अहिले गरिएको सङ्कलनले ती बिरामीलाई धान्न मुश्किल परेको छ ।” बिरामीका आफन्तले पनि  रगत दिइरहेका छन् । सामान्य अवस्थामा देशभर दैनिक एक हजारदेखि एक हजार २०० युनिट र बार्षिक तीन लाख युनिट रगत सङ्कलन हुने गर्दथ्यो । कोरोना कहरका कारण देशभर अहिले  २० प्रतिशत मात्र सङ्कलन भइरहेको छ । 

विश्व स्वास्थ्य सङ्गठनले  रगतदान र रगत प्राप्त गरेका कारण  कोभिड–१९ को सङ्क्रमण नसरेको जनाएको  छ । उनले भने, “ ढुक्क भएर स्वास्थ्यमा मापदण्ड पालना गरी रगत सङ्कलन गर्ने ठाउँमा गएर रक्तदान गर्न आग्रह गर्दछु ।” उनका अनुसार लक्षण नभएका र खोप लगाएकाले  १५ दिनपछि रक्तदान गर्न मिल्ने छ । उनले रगतको अभाव हुन नदिन  रेडक्रस शाखा , उपशाखा तथा स्वयंसेवी रक्तदाताले  जनस्वास्थ्यमा मापदण्ड पालना गरी सङ्कलनमा सहयोग  गरिरहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप