शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केपी–माधव मिल्दा बादललाई धोका !

मङ्गलबार, ०४ जेठ २०७८, २२ : ०२
मङ्गलबार, ०४ जेठ २०७८

काठमाडौं । नेकपा एमालेभित्रको राजनीतिक द्वन्द्व समाधानको दिशातर्फ अघि बढ्दा राष्ट्रियसभाका उम्मेदवार रामबहादुर थापा ‘बादल’ वा डा. खिमलाल देवकोटामध्ये एकजनाले धोका पाउने निश्चित थियो । पछिल्ला दिनमा विकसित घटनाक्रमले अन्ततः बादलले नै धोका पाउने त होइनन् भन्ने आशंकालाई बलियो तुल्याएको छ ।

बागमती प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा बादल र देवकोटा यस्ता उम्मेदवार हुन्, जो एउटै पार्टीका दुई अलग समूहको प्रतिनिधित्व गर्दछन् । बादल नेकपा एमालेका आधिकारिक उम्मेदवार हुन् भने डा. देवकोटालाई एमालेको खनाल–नेपाल पक्षले उम्मेदवार बनाएको हो । देवकोटालाई काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालको उपेन्द्र–बाबुराम पक्षले समेत समर्थन जनाएको छ ।

राष्ट्रियसभा सदस्य पदको उम्मेदवारी दर्ता गर्ने समयसम्म एमालेभित्रको द्वन्द्व उत्कर्षमा पुगेको थियो । तर, पछिल्ला दिनमा पार्टीभित्र विवाद समाधान गर्ने उद्देश्यले दुवै पक्षका पाँच–पाँच सदस्यसहितको कार्यदल बनाइएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवाद समाधानउन्मुख रहेको नेता तथा कार्यकर्ताहरु नै बताइरहेका छन् ।

ओलीको ‘च्वाइस’ बादल कि माधव नेपाल ?

त्यसो त, एमालेका नेता–कार्यकर्ताहरु बादलको तुलनामा पार्टीमा खिमलालको योगदान महत्त्वपूर्ण रहेको बताउँछन् । तर, नेकपा खारेजपछि माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका बादललाई तत्कालीन परिस्थितिमा प्रधानमन्त्री ओलीले पनि निकै महत्त्व दिए ।

यतिबेला ओलीका सामु पार्टीभित्रको विवाद समाधान गर्नु मुख्य चुनौती बनेको छ । यसका लागि बादलको तुलनामा ओलीका लागि माधवकुमार नेपाल पक्षको भूमिका स्वाभाविकरुपमा महत्त्वको विषय बनेको छ । त्यसैले पनि ओलीले खनाल–नेपाल पक्षलाई देवकोटाको समर्थनबाट हात झिक्न दबाब दिएर पार्टी एकताको प्रयासलाई बिथोल्न नचाहने जानकारहरु बताउँछन् ।

एमालेभित्र कस्तो बन्ला समझदारी ?

एमालेभित्रको विवाद समाधानको पहल सुरु हुन अघि नै राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता भएका कारण एमालेको कार्यदलले यो विषयलाई विवादमा तानेर एकता प्रक्रियालाई ओझेलमा पार्न स्वाभाविक रुपमा चाहँदैन ।

जुन पृष्ठभूमिमा उम्मेदवारी दर्ता भयो, पार्टीका तर्फबाट कुनै प्रकारको हस्तक्षेपकारी भूमिका निर्वाह नगरी निर्वाचन सम्पन्न हुन दिने मध्यमार्ग रोज्दै एमालेले पार्टीभित्रको विवाद समाधानका लागि प्रयास जारी राख्ने सम्भावना देखिन्छ ।

उपचुनावको नतिजाले के फरक पार्छ ?

राष्ट्रियसभामा एमालेको प्रष्ट बहुमत रहेका कारण उसलाई एक सिटको तलमाथिले खासै फरक पर्नेवाला छैन । तर, राष्ट्रियसभाको यही एक सिटका माध्यमबाट पार्टीभित्रको विवाद सुल्झाउन एउटा ईंटा थप्ने कार्य हुन्छ भने ओली त्यस दिशामा अघि बढ्न सक्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

यद्यपि एमालेले अहिलेसम्म बादल नै आफ्नो आधिकारिक उम्मेदवार रहेको बताउँदै आएको छ भने अर्का उम्मेदवार खिमलालले पनि एमालेकै भोटले आफू विजयी हुनेमा विश्वस्त रहेको बताउँदै आएका छन् ।

बादल पराजित भएको अवस्थामा ओलीले सरकारमा नयाँ गृहमन्त्री खोज्नुपर्ने हुन्छ । किनकि संविधानले संघीय संसद सदस्य नरहेको व्यक्तिलाई ६ महिनाभन्दा बढी अवधि सरकारमा रहन बन्देज लगाएको छ ।

उता, देवकोटाको सन्दर्भमा पार्टीले ‘भिटो’ प्रयोग गरेर खनाल–नेपाल पक्षलाई बादलको पक्षमा लतार्ने प्रयास गरेमा पार्टीमा एकता प्रक्रिया बिथोलिन सक्ने र त्यसले अन्ततः प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनका लागि पनि यसअघि झैं धोका हुन सक्ने विश्लेषकहरुको आँकलन छ ।

राजनीतिक विश्लेषक हरि रोका भने यसअघि विगतमा जगतबहादुर बोगटी राष्ट्रिय सभा सदस्य हुँदाको अवस्थासँग अहिलेको अवस्थालाई तुलना गर्दछन् । उनले रातोपाटीसँग भने, ‘जगतबहादुर बोगटी राष्ट्रिय सभाको सदस्य निर्वाचित हुँदाको अवस्थासँग अहिलेको अवस्था मिल्न खोज्छ । त्यतिबेला उनी राष्ट्रिय सभाको सदस्य हुनका पछाडि माधव नेपालसँग सीपी मैनाली पक्षधरले विद्रोह गरेका थिए ।’

माधव नेपाल पक्षले अहिले खिमलाल देवकोटाको साथ छोडेमा माधव नेपालकै राजनीति समाप्त हुने भएकाले उनीहरुले त्यस्तो गल्ती नगर्नेमा आफू विश्वस्त रहेको रोकाले बताए ।

‘आफैंले अरु दलसमेतलाई भनेर उठाएको उम्मेदवारलाई अन्तिममा आएर यसरी साथ छाडे भने भविष्यमा कुनै पनि कार्यकर्ताले माधव नेपाललाई किन साथ दिने ? प्रश्न यो छ,’ रोकाले भने ।

मतदाताहरुको समीकरण हेर्दा उम्मेदवारी दर्ता गर्दाकै गठबन्धन कायम रहेमा बादल कमजोर देखिन्छन् । तर, एमाले एक भएर उभिएको अवस्थामा भने उनको जित लगभग निश्चित देखिन्छ ।

मंगलबार साँझसम्मको अवस्थामा एमालेभित्र राष्ट्रियसभा उम्मेदवारमा ‘बादल कि खिमलाल ?’ भन्नेमा एकमत भइसकेको छैन । अर्थात एमालेका दुवै पक्षले एक भएर एउटै उम्मेदवार रोजिसकेका छैनन् ।

मंगलबार रामबहादुर थापा बादल भोट माग्नका लागि कोटेश्वरस्थित माधवकुमार नेपालको निवासमा पुगेका थिए । त्यहाँबाट फर्केपछि बादलका सहयोगी किरण भट्टराईले माधव नेपालले बादललाई मत दिने सहमति जनाएको दाबी गरे ।

तर, बादलको सचिवालयको दाबीको खण्डन गर्दै माधव नेपालको सचिवालयले खिमलाललाई मत दिने निर्णयबाट पछि नहटेको स्पष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप