बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

जसपामा एकता र संघर्ष : कसको पत्र आधिकारिक ?

मङ्गलबार, ०४ जेठ २०७८, २१ : ५६
मङ्गलबार, ०४ जेठ २०७८

केपी ओलीको पक्ष र विपक्षमा बाँडिएर विवादित बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव आपसमा मिलेको खबर सुनेपछि मंगलबार दिउँसो सो पार्टीभित्र एकाएक उत्साहको सञ्चार भयो । तर, त्यो उत्साह आधा घण्टा पनि टिकेन ।

अध्यक्षद्वय ठाकुर र यादवबीच मंगलबार लिखित सहमति भएको थियो । पार्टीमा अब विवाद छैन भन्दै ठाकुर र यादवले संयुक्त हस्ताक्षरमा वक्तव्य जारी गरे । जेठ ८ र ९ गते बालकुमारीमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको अर्को विज्ञप्तिमा पनि ठाकुर र यादव दुबैको हस्ताक्षर थियो ।

दुई पक्षबीच सहमति भएको संयुक्त वक्तव्यमा ओलीको सरकारलाई समर्थन नगर्ने बरु आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने भन्ने उल्लेख थियो ।

तर, दुई अध्यक्षको वक्तव्य आएको आधा घण्टा पनि नबित्दै महन्थ ठाकुरले हस्ताक्षर गरेको पत्र संसद सचिवालयमा दर्ता गराइयो, जुन पत्रमा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन भएको जानकारी गराइएको थियो ।

अध्यक्ष ठाकुरको त्यो पत्र सार्वजनिक भएको १० मिनेट नपुग्दै अर्का अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर भएको अर्को पत्र सार्वजनिक भयो । जुन पत्र जेठ २ गते नै संसद सचिवालयमा दर्ता गराइएको देखिन्छ ।

अध्यक्ष उपेन्द्र यादवले जेठ २ गते संघीय सचिवालयमा दर्ता गराएको पत्रमा भनिएको छ, ‘कसैले संसदीय दलको नेता चयन भएको भनी सचिवालयमा जानकारी दिएको भए त्यस्ता संवैधानिक कार्यलाई मान्यता प्रदान नगर्न हुन हार्दिक अनुरोध गर्दछौं ।’

अर्थात महन्थ ठाकुरको पक्षबाट राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको जानकारी जेठ १ गते नै संघीय संसद सचिवालयलाई गराएको सूचना उपेन्द्र यादवसम्म पुगेको थियो । त्यो जानकारी पाउनेवित्तिकै सो पत्रलाई मान्यता नदिन उनले जेठ २ गते संघीय संसद सचिवालयका महासचिवलाई सम्बोधन गर्दै पत्र दर्ता गराएका थिए ।

वैशाख ३० गते भक्तपुरको डोलेश्वर रिसोर्टमा बसेको महन्थ ठाकुर पक्षका बहुमत सांसदको बैठकले महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । सो निर्णयबारे संसद सचिवालयलाई जानकारी गराउनुपर्छ भनि जेठ १ गते पत्र तयार भयो । पत्र तयार भए पनि त्यो दिन दर्ता भएन । कारण थियो, उपेन्द्र यादवले आफ्ना पक्षका सांसद तथा कार्यकारिणी समिति छुट्टै बैठक बोलाउनु ।

उपेन्द्र यादवले बैठकबाट के निर्णय गर्छ भनी प्रतिक्षामा महन्थ ठाकुरले त्यो दिन पत्र दर्ता गराएनन् । त्यो दिन दुईटा विज्ञप्ति आए । उपेन्द्र यादवले छुट्टै बैठक बोलाएकोप्रति महन्थ ठाकुरले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका थिए भने राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेकोप्रति आपत्ति जनाउने उपेन्द्र यादवले विज्ञप्ति जारी गरेका थिए । यिनै लफडाका बीचमा महन्थ ठाकुरले संसद सचिवालयमा त्यो दिन पत्र दर्ता गराउन सकेनन् ।

त्यसको भोलिपल्ट अर्थात जेठ २ गते अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुरलाई फोन गरेर छलफलका लागि आग्रह गरे । पार्टीमा देखिएको विवादलाई समाधान गर्न एकपटक बसौं भनी उपेन्द्र यादवले आग्रह गरेपछि महन्थ ठाकुर वार्ताका लागि तयार भए । उनी दुईजनाको बीचमा गोप्य छलफल सुरु भयो । वार्ताकै कारण संसद सचिवालयमा दर्ता गराउन तयार पारिएको पत्र त्यतिकै रह्यो ।

उता, उपेन्द्र यादवले महन्थ ठाकुरलाई वार्तामा बोलाए पनि संसद सचिवालयमा पत्र दर्ता गराइसकेका थिए । उनी दुईजनाको बीचमा दुई दिनसम्म वार्ता चल्यो । त्यति मात्र होइन, भक्तपुरको रिसोर्ट बैठकबाट महतोलाई संसदीय दलको नेता बनाएको निर्णय बाहिर आउने वित्तिकै अध्यक्ष उपेन्द्र यादवले तत्कालै संसद सचिवालय र सभामुखलाई मेल गरेर जसपा संसदीय दलको कुनै बैठक नबसेको तथा कसैलाई संसदीय दलको नेता चयन नगरेको जानकारी गराई सकेका थिए ।

दुई दिनसम्म वार्ता चलिरहँदासम्म उपेन्द्र यादवले संसद सचिवालयलाई मेल गरेको तथा दर्ता गराएको पत्रका बारेमा सुइँको पाएनन् ।

पार्टीलाई एकतावद्ध गर्ने, सरकारमा नजाने तर जसपालाई नेतृत्व प्राप्त भयो भने त्यसका लागि प्रयास गर्ने, पार्टीभित्र रहेको समस्या पार्टीको विधानअन्तर्गत रहेर संगठनमा समाधान गर्ने, गुटबन्दीलाई अन्त्य गर्ने जस्ता विषयमा दुईजनाको बीचमा भएको सहमतिलाई ८ बुँदामा समेटेर जब विज्ञप्ति जारी भयो ।

विज्ञप्ति जारी भएपछि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो जो संसदीय दलको नेतामा चयन भएका थिए उनले हतार हतारमा पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य केशव झालाई दिएर त्यो पत्र दर्ता गराउन लगाए ।

पत्रमा १ गते लेखिएको थियो र महन्थ ठाकुरको हस्ताक्षर थियो । १ गतेलाई ४ गते बनाएर राजेन्द्र महतोले पत्र दर्ता गराएको कुरा अध्यक्ष ठाकुरको जानकारीमा थिएन ।

पत्रसहित समाचार बाहिर आएपछि मात्र अध्यक्ष ठाकुरले जानकारी पाए । तर त्यो पत्रको बारेमा न त अध्यक्ष ठाकुरले कुनै प्रतिकृया दिन मानेका छन् न त राजेन्द्र महतोले नै ।

रातोपाटीले दुवै नेतालाई पटक–पटक सम्पर्क गर्ने प्रयास गरे उनीहरु सम्पर्कमा आउन मानेका छैनन् । बरु अध्यक्ष उपेन्द्र यादवले त्यो पत्रले मान्यता नपाउने बताएका छन् । पार्टीको विधान, विधि र प्रकृयालाई मिचेर त्यो निर्णय गरेको हुनाले त्यसले मान्यता नपाउने यादवले प्रतिकृया दिएका छन् ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले अध्यक्ष उपेन्द्र यादव पक्षले जेठ २ गते सचिवालयमा पत्र दर्ता गराए पनि जेठ ३ गते पत्र प्राप्त भएको बताए । अध्यक्ष महन्थ ठाकुर पक्षले आजै पत्र दर्ता गराएको बताउँदै उनले दुवै पत्र सचिवालयका महासचिवलाई सम्बोधन गरेर लेखेका कारण महासचिवले नै त्यसका बारेमा निर्णय लिने बताए ।

‘महासचिव अस्वस्थ्य हुनुहुन्छ, उहाँ आएपछि पत्रको आधिकारिता बारेमा जाँच भएपछि मात्र केही कुरा बाहिर आउँछ,’ उनले भने,

पत्र नै फर्जी ?

अध्यक्ष ठाकुर पक्षले दर्ता गराएको पत्र नै फर्जी रहेको अध्यक्ष उपेन्द्र यादव पक्षले दाबी गरेको छ । नेताहरुका अनुसार लेटरप्याड हतार–हतारमा तयार गरेको देखिन्छ र त्यो पार्टी कार्यालयको लेटरप्याड पनि होइन । मिति २०७८–२–० सम्म टाइप गरिएको छ भने ४ गते पेनले लेखिएको छ । उपेन्द्र यादवले जेठ २ गते दर्ता गराएको पत्रमा चलानी नम्बर ५२ लेखिएको छ भने महन्थ ठाकुरले पठाएको पत्रमा चलानी नम्बर २ लेखिएको छ । अध्यक्ष ठाकुर पक्षले फर्जी काम गरेको यसैबाट स्पष्ट भएको उपेन्द्र यादव पक्षका नेताको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप