जंगली हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु
मङ्गलबार, ०४ जेठ २०७८, १२ : ५३
जंगली हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ९ निवासी श्याम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मङ्गलबार राती साढे १२ बजेको समयमा मागुरमाडी सामुदायिक वन क्षेत्रबाट आएको एउटा जंगली हात्तीलाई धपाउने क्रममा ४५ वर्षीय राईलाई हात्तीले आक्रमण गरेको थियो । टाउको र दायाँ खुट्टामा गहिरो चोट लागेका राईको उपचारका क्रममा मेची अञ्चल अस्पताल भद्रपुरमा सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।