शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ मा एक सातामा थपिए तीन कोभिड विशेष अस्पताल

संक्रमित अझै अस्पतालको पेटी र होम आइसोलेसनमा छट्पटाउन बाध्य
मङ्गलबार, ०४ जेठ २०७८, १२ : २२
मङ्गलबार, ०४ जेठ २०७८

कोराना संक्रमणको दर उच्च भएसँगै प्रदेश १ मा एक साताको अवधिमा तीनवटा सरकारी कोभिड विशेष अस्पताल थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार अहिले प्रदेशमा चार निजीस्तरका र ६ वटा सरकारी गरी १० वटा कोभिड अस्पताल छन् । योसँगै प्रदेशमा कोभिड–१९ संक्रमितलाई राखेर उपचार गर्ने बेड संख्या एक हजार १५५ पुगेको छ ।

प्रदेशमा कोभिड विशेष अस्पतालको सेवा विस्तार भए पनि संक्रमितलाई थेग्न सकेको छैन । बेड नपाएर संक्रमितहरु अस्पतालको पेटी र होम आइसोलेसनमा छट्पटाउन बाध्य छन् ।

मन्त्रालयका अनुसार एक साताभित्र विराटनगरसहित धनकुटा र संखुवासभामा कोभिड अस्पताल थपिएका छन् । धनकुटामा २६ बेडसहितको कोरोना अस्पताल र संखुवासभामा ४५ बेड क्षमताको कोभिड अस्पताल सञ्चालनमा आएको छ । यी दुवै अस्पतालले संक्रमितलाई भर्ना लिएर उपचार गर्न थालेका छन् भने विराटनगको कोशी अस्पतालभित्र सञ्चालनमा ल्याइएको कोभिड युनिटले बुधबारदेखि सेवा सुरु गर्दैछ, जसमा भेन्टिलेटरसहित ६१ शय्या छ ।

यी सबै सरकारीस्तरमा सञ्चालित कोभिड अस्पताल हुन् । ती अस्पतालले सघन उपचार कक्ष आईसियु, भेन्टिलेटर, एचडीयुसहित जनरल बेडको सेवा विस्तार गरेका हुन् ।

कोशी अस्पतालका सुपरिन्टेन्डेन्ट (मेसु) डा.चुमनलाल दासले ५ बेडको भेन्टिलेटरसहितको आइसियु, २४ बेडको एचडीयु, ३२ अक्सिजनसहितको बेड सञ्चालन हुने बताए ।

मन्त्रालयका सचिव गोविन्द कार्कीका अनुसार संक्रमितहरुको उपचारको यथोचित व्यवस्थापनका लागि प्रदेशमा थप तीनवटा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । ‘अस्पतालहरु संक्रमितले भरीभराउ भएका छन्,’ सचिव कार्कीले भने, ‘संक्रमण दर उच्च हुदै जाँदा धेरैले उपचार नपाउने अवस्था सिर्जना भएको छ । यस्तो बेलामा नागरिकको स्वास्थ्य उपचारको हक सम्बोधन गर्न प्रदेश सरकार प्रयासरत छ ।’

तर उनी अहिले पनि अस्पतालले संक्रमितको भार थेग्न नसकेको स्वीकार गर्छन् । प्रत्येक दिन हजारको संख्यामा संक्रमित बढ्ने क्रम रहेकाले संक्रमितको उपचार र व्यवस्थापनमा समस्या भइरहेको उनको भनाइ छ ।

प्रदेशका सरकारी तथा निजीस्तरमा सञ्चालित कोभिड विशेष अस्पतालहरुमा यसअघि एक हजार ९४ बेड क्षमता थियो । प्रदेश सरकारको तथ्याङ्क अनुसार अहिले प्रदेशमा कुल एक हजार १९६ जना संक्रमितको विभिन्न कोभिड अस्पतालमा उपचार भइरहेको छ ।

दुई अस्पताल आइसोलेसनस्तरका

धनकुटा र संखुवासभामा खोलिएका दुई कोभिड अस्पताल आइसोलेसनस्तरका हुन् । त्यसैले गम्भीर समस्या देखिएका बिरामीका लागि ती अस्पताल उपयुक्त हुँदैनन् । त्यस्ता बिरामीलाई तराईका ठुला अस्पतालमा पठाउनुपर्ने बाध्यता कायम छ ।

धनकुटा अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्माले अस्पतालमा आईसियु नभएका कारण गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था रहेको बताए । ‘हामीसँग आईसियु सेवा छैन’, उनले भने, ‘गम्भीर प्रकृतिका बिरामीलाई झापा वा मोरङ पठाउनुपर्ने बाध्यता छ ।’

संखुवासभास्थित अस्पतालको सेवा पनि उस्तै छ ।

सघन उपचार कक्षमा संक्रमितको चाप

कोरोनाको संक्रमण दर उच्च भएसँगै प्रदेश १ का कोभिड अस्पतालमा सघन उपचार कक्षमा राखेर उपचार गर्ने संक्रमितको संख्या ह्वात्तै बढेको छ । प्रदेश १ मा सञ्चालित १० वटै कोभिड अस्पतालमा सघन उपचार कक्षमा राखेर उपचार गर्ने संक्रमितको संख्यामा वृद्धि भएको हो ।

प्रदेशमा सञ्चालित ६ सरकारी र ४ निजी कोभिड अस्पतालमा मंगलबार बिहानसम्म १ हजार १९६ जनाको उपचार भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अस्पताल भर्ना भएकामध्ये सघन उपचार कक्ष आईसियुमा १६५, भेन्टिलेटरमा ४६, एचडीयुमा ३१४, उपचाररत छन् । यो

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीले तीन दिनको अवधिमा सघन उपचार कक्षमा राखेर उपचार गर्ने संक्रमितको दर ह्वात्तै बढेको बताइन् ।

‘कोभिड अस्पतालमा सघन उपचार कक्ष सीमित संख्यामा रहेको र अधिकांश संक्रमित सघन उपचार कक्षमा राख्नुपर्ने अवस्थाका रहेका कारण समस्या छ,’ उनले भनिन्, ‘त्यस्ता संक्रमितलाई भर्ना गरेर उपचार गर्न निकै कठिनाई हुन थालेको छ ।’

महामारीका कारण प्रदेश १ मा सञ्चालित १० वटै कोभिड अस्पताल भरिएका छन् । ती अस्पतालले थप बिरामी भर्ना लिन नसक्ने अवस्थामा पुगेको जनाएका छन् ।

प्रदेशमा  १२ हजार बढी होम आइसुलेसनमा

प्रदेश १ मा होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या १२ हजार ९२० पुगेको छ ।

कोरानाको दोश्रो लहरसँगै उनीहरु संक्रमित भएपछि घरमै एकान्तबासमा रहेका हुन् । त्यसबाहेक संस्थागत आइसोलेसनमा  ७१८ जना छन् । स्थानीय तहले तयार पारेको एवं अस्पतालले सञ्चालन गरेका ३७ वटा आइसोलेसनमा उनीहरु रहेको सामाजिक विकास मन्त्रालयको अभिलेखमा उल्लेख छ ।

प्रदेशमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या १४ हजार २९३ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप