शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिन्ती, पुलिसलाई नजिस्क्याऔँ

मङ्गलबार, ०४ जेठ २०७८, १२ : १०
मङ्गलबार, ०४ जेठ २०७८

 

पुलिसले पनि खाना खान्छ र ?
केही वर्ष अगाडि 
आफ्नै कानले सुनेको हुँ
यो वाक्य ।

उकालो बाटो 
गस्तीमा हिँडेका हामी
एकछिन थकाइ मार्न बस्यौँ
हामी बसिरहेको बेला
यिनै कानले सुनेको हुँ
पुलिसलाई पनि थकाइ लाग्छ र ?
मुस्कानसहितको प्रहरी सेवा
मुसुक्क हाँस्दै भन्यौ
अहँ ! लाग्दैन
यिनै कान त्यहीँनेर सुनेको हुँ
पुलिस पनि भुइँमा बस्छ र ?
मुस्कानसहितको प्रहरी सेवा
मुसुक्क हाँस्दै भन्यौ
अह ! बस्दैनौ
पुलिस त सोफामा मात्र बस्छ ।।

अ महोत्सवको ड्युटी
गायिकाले गीत गाउँदा गाउँदै
एकजना सहकर्मी नाच्नुभयो
ती पुलिस नाचेको देखेर
धेरै मान्छे बोलेको 
यिनै कानले सुनेको हुँ
उनीहरूले भनिरहेका थिए
पुलिस पनि नाच्छ र ?
मुस्कानसहितको प्रहरी सेवा
हामी मुसुक्क हाँस्यौ मात्र ।

मैले सुनेको मात्र हैन
यी कुरा भन्ने मान्छेहरूलाई 
यी आँखाले राम्रोसँग देखेको छु
र म ती मान्छेलाई
राम्रोसँग चिन्छु पनि ।।

वर्षातको समय 
धरती बग्ने गरी 
रातभरि परेको पानी
ठूलो पहिरो गएछ
सडक बन्द भएछ
बिहानै सयमा फोन आयो
फोन उठाउने म नै थिए
‘सर पहिरो गयो’
पहिलो पटक थाहा पाए
पहिरो जाँदा पनि 
पुलिसलाई नै फोन आउँदो रहेछ
मुस्कानसहितको प्रहरी सेवा
हतार हतारमा हामी दौडियौँ
आठ जनाको टोली
ठूलो पहिरो गएको थियो
हामी पुग्दा मान्छेका अनुहारहरू 
खुसी हुँदै थिए
म केहीका अनुहारमा हेर्दै थिए
फेरि जीवनमा पहिलो पटक सुनेँ
पुलिस आयो 
अब त पहिरो बन्द हुन्छ होला है
मुस्कान सहितको प्रहरी सेवा
केही बोलिनँ ।।

केही समयअगाडि
जङ्गलहरूमा आगो लाग्यो रे
पुलिसकै सयमा फोन आएछ
आगोले तहसनहस भएको जङ्गलमा
सहकर्मीहरू पुगेछन्
केही मान्छे
पुलिस आयो
अब त आगो बन्द हुन्छ होला है 
भन्दै थिए रे ।।

आज फेरि केही सहकर्मीहरू भोग्दैछन्
केही सहकर्मीहरू लड्दा लड्दै
महारोगको सिकार भएका छन्
सुन्दै छु र ठूला ठूला
शीर्षकका समाचारहरू पढ्दैछु
नेताको मृत्यु
डाक्टरको मृत्यु
खान नपाएर किसानको मृत्यु
उद्योगीको मृत्यु
कलाकारको मृत्यु
पत्रकारको मृत्यु
यी सबै सबै समाचारहरू
गोरखापत्रमा पढ्छु
कान्तिपुर टेलिभिजनामा 
भिडियोसहितको समाचार हेर्छु
ठूला ठूला शीर्षकमा 
गोरखापत्रका पानाहरूमा
श्रमिकलाई भोकमरी
गरिबलाई भोकमरी
कलाकारलाई सम्मान भएन
पत्रकारलाई सम्मान भएन
यी समाचार प्रत्येक दिन पढ्छु
देशले फलानोलाई हेरेन
देशले फलानो क्षेत्रलाई हेरेन
देशले फलानो वर्गलाई हेरेन
सरकारले जनताको स्वास्थ्य हेरेन
यिनै शीर्षकमा लेखिएका समाचार
प्रत्येक दिन पढ्छु
जनताका पीडा
कर्मचारीका पीडा
डाक्टरका पीडा
किसानका पीडा
नेताका पीडा
यिनै समाचार प्रत्येक दिन म
अनलाइनमा पढ्छु
यी सबै सबै छापिने अनलाइन, पत्रिका र टेलिभिजनमा 
किन पुलिसका समाचार
कहिल्यै छापिँदैनन्  ?

सायद पत्रकारका मसीले
तीन अक्षरको पुलिस लेख्न सक्तैन होला
सायद पत्रिकाहरूमा
तीन अक्षरको पुलिस लेख्ने ठाउँ
नपुगेको हुनसक्छ
सायद टेलिभिजनका क्यामेराहरू
पुलिसको निलो बर्दी देखेर
तर्सिएका हुन सक्छन्  ।।

सहकर्मी मित्रहरू 
अचेल जोखिम छ रे
जोखिमको पहिलो लाइनमा खटिनेलाई
सरकारले जोखिम भत्ता दिएको छ रे
सरकारले दिएको जोखिम भत्तामा
पुलिस परेन भनेर
निराश नहुनु
सायद ! तपाईं हामीलाई जोखिम नहुन पनि त सक्छ
कि सरकारले तोकेको जोखिममा
पुलिस नपरेको पनि त हुनसक्छ
सहकर्मी मित्रहरू निराश नहुनु है
कहीँकतै मनमा निराशापन आयो भने
मुस्कानसहितको प्रहरी सेवा सम्झिनु ।।

हुन त भत्ताका लागि भर्ना भएका हैनौँ
सरकार बेला बेलामा 
भत्ताको नाम निकालेर 
मेरा सहकर्मीहरूलाई नजिस्काउनु है
सरकार तपाईंले जे गर्दा पनि
तपाईंलाई स्यालुट गर्छु
तर बिन्ती छ
बेलाबेलामा भत्ताको नाम निकालेर
मेरा सहकर्मीहरूलाई नजिस्क्याउनु है
किनकि अठार घण्टाको ड्युटी
जेठको प्रचण्ड गर्मी
चोकको ड्युटी
उभिएरै बिताएका रातहरू
उभिएरै बिताएका दिनहरू
भोको पेट
घरको समस्या
महिनाभरी हिसाब गरेर बुझेको
बीस हजार तलब
तपाईंको महँगी
तपाईंको सेखी
यी सबै सबै सहेर बसेका
यो देशका सिपाहीहरू पड्किए भने
तपाईं र तपाईंको खोर 
एकै सेकेन्डमा उड्न सक्छ
यसैले सरकार बिन्ती छ
मेरा सहकर्मीहरूलाई 
बेलाबेलामा नजिस्काउनु है ।।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा