शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा पनि बढ्दै छ ‘इन्डियन कोभिड भेरियन्ट’ को संक्रमण

सोमबार, ०३ जेठ २०७८, २३ : ४४
सोमबार, ०३ जेठ २०७८

कोरोना महामारीमा थप शक्तिशाली रुपमा देखा परेको ‘इन्डियन कोभिड भेरियन्ट’ को संक्रमण बेलायतमा पनि तीव्र रुपमा बढ्न थालेको छ । गत हप्ताको तुलनामा यसको संक्रमण दुई गुणाले बढेको तथ्याँकले देखाएको छ । बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले दिएको पछिल्लो जानकारीअनुसार हालसम्म २ हजार ३२३ मा उक्त भाइरसको  पुष्टि भइसकेको छ ।

गएको बिहिबार एक  हजार ३१३ जनामा संक्रमण पुष्टि भएकोमा अहिले सो संख्या एक हजारभन्दा बढी वृद्धि भएको छ । हाल बेलायतका झन्डै ८६ वटा काउन्सिलमा ‘इन्डियन कोभिड भेरियन्ट’ को संक्रमण फैलिएको छ । पहिलाको तुलनामा ज्यादा संक्रामक रहेकोले विज्ञहरुले समयमै सावधानी अपनाउन चेतावनी दिएका छन् । इन्डियन कोभिड भेरिएन्ट ‘केन्ट स्ट्रेन’ भन्दा पनि ५० प्रतिशत बढी संक्रामक हुने उनीहरुले बताएका छन् ।

कोरोनाविरुद्धको खोपका कारण इन्डियन भेरिएन्टबाट सुरक्षित हुनसक्ने  कुनै प्रमाण नदेखिएको र यसबारेमा वैज्ञानिकहरुको अनुसन्धान जारी रहेको छ । तर, बेलायतको पछिल्लो तथ्यांकलाई मूल्याङ्कन गर्दा खोप नलिएका व्यक्ति बढी प्रभावित देखिएका छन् । १८ जना अस्पताल भर्ना भएकामध्ये ५ जनाले सिंगल डोज मात्र लगाएका, एकजनाले दोस्रो डोज पनि लगाएका र बाँकी १२ जनाले खोप नलगाएको स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् ।

बेलायतमा हाल कोरोना संक्रमणमा कमी आउँदै गरेको अवस्थामा ‘इन्डियन कोभिड भेरियन्ट’ ले थप त्रास बढाएको छ । पछिल्लो २४ घन्टामा बेलायतमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६८४ पुगेको छ । यसैगरी २४ घन्टामा थप एक हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै बेलायतमा कुल संक्रमितको संख्या ४४ लाख ५२ हजार ७५६ पुगेको छ । बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि कुल ५ करोड ६९ लाख ९२ हजार ७५  डोज खोप वितरण भएको छ । जसमध्ये ३ करोड ६७ लाख ४ हजार ६७२ जनाले पहिलो र दुई करोड दुई लाख ८७  हजार ४०३ जनाले दोस्रो डोज लगाएका छन् । मंगलबारबाट ३७ वर्ष उमेर पुगेकालाई पनि खोपको लागि आव्हान गरिने सरकारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप