शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनसरीमा कोरोना संक्रमित पत्रकारलाई ‘मोबाइल डाक्टर सेवा’, मोरङमा निःशुल्क टेलिमेडिसिन

सोमबार, ०३ जेठ २०७८, २० : ४७
सोमबार, ०३ जेठ २०७८

विराटनगर । नेपाल प्रेस युनियन सुनसरीले सोमबारदेखि जिल्लामा रहेका कोरोना संक्रमित पत्रकारहरुको घरमै गएर मोबाइल डाक्टर सेवा सुरु गरेको छ ।

मेडिकल अधिकृत डा. अमितकुमार खतिवडा, स्टार्फ नर्स किरण चौधरी, मेडिकेयर पोलिक्लिनिक कालाबन्जरका अध्यक्ष तथा औषधि विज्ञ घनेश्वर शर्माको टोलीले संक्रमित पत्रकारहरुको घरमा गएर आवश्यक स्वास्थ्य अवस्थाको जानकारी लिने र औषधि वितरणसँगै निःशुल्क परामर्श दिने काम सुरु गरेको छ ।

जिल्लामा संक्रमितको हुनेको संख्या उच्च भएपछि धेरैजसो एकान्तबासमा छन् भने एकान्तबासमा रहेको समयमा आउन सक्ने समस्यालाई मध्यनजर गरी जिल्लाभर रहेका संक्रमित पत्रकारको घरमै पुगेर उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिने र आवश्यक औषधि साथै निःशुल्क परामर्श दिन मोबाइल डाक्टर सेवा सुरु गरिएको पे्रस युनियका सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए ।

अधिकारीका अनुसार कोरानाको दोस्रो लहरसँगै सुनसरीका १२ जना पत्रकार संक्रमित भएका छन् । उनीहरु सबैको घरमा पुगेर मोबाइल डाक्टर सेवा प्रदान गरिने उनले बताए ।

‘कोराना संक्रमित भइ घरमै एकान्तबासका क्रममा कतिपय संक्रमितमा एक्कासी समस्या देखिने गरेको छ,’ अध्यक्ष अधिकारीले भने, ‘हाम्रा पत्रकार साथीहरुमा त्यस्तो समस्या नआओस् भनेर उनीहरुको स्वास्थ्य अवस्थाको नियमित जानकारी राख्ने छौँ ।’

डा. अमितकुमार खतिवडाले कोरोना संक्रमितलाई हौसला र आत्मबल बढाउनका निम्ति परामर्श दिने गरेका छन् । ‘यसबेला धेरैजसो मानिस मानसिक रुपमा कमजोर भएका छन्,’ डा. खतिवडाले भने, ‘कयौं त्रासमा बाँचिरहेका छन्, यस्तो समयमा सकारात्मक परामर्शले पनि ठूलो काम गर्छ ।’

यतिबेला संक्रमितलाई आत्मबलको खाँचो हुने र आवश्यक परामर्शले उनीहरुको आत्मबल बलियो भइ कोरोनालाई चाँडै परास्त गर्न मद्दत पुग्ने उनले बताए ।

मोरङमा निःशुल्क टेलिमेडिसिन सेवा

कोरोना संक्रमण भइ आइसोलेसनमा बसेका मोरङका पत्रकारलाई निःशुल्क टेलिमेडिसिन सेवा सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ मोरङले क्युरा हेल्थसँगको सहकार्यमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) निःशुल्क उपलब्ध गराउन थालेको हो ।

महासंघका जिल्ला अध्यक्ष संजीव खनालले महामारीको समयमा अस्पताल वा क्लिनिक जाँदा कोभिड–१९ लगायतका संक्रमण सर्ने सम्भावना हुँदा टेलिमेडिसिन सेवामार्फत संक्रमित पत्रकारलाई आवश्यक स्वास्थ्य सेवा र परामर्श दिने काम सुरु गरिएको जानकारी दिए ।

सामान्य लक्षण भएका संक्रमित पत्रकारलाई अस्पताल जानुपर्ने बाध्यात्मक अवस्था नआओस् भनेर यो सुविधा दिन लागेको क्युरा हेल्थकी प्रवन्ध निर्देशक जयश्री जाजुले बताइन् । कोरोना संक्रमणपछि उत्पन्न हुन सक्ने डर, त्रास र संक्रमितको मनोअवस्थालाई दृष्टिगत गरी आवश्यक मनोसामाजिक परामर्श समेत उपलब्ध गराइने उनको भनाइ छ ।

‘टेलिमेडिसिन सेवा प्राप्त गर्न क्युरा हेल्थको मोबाइल एप्लिकेशन डाउनलोड गर्नुपर्छ,’ उनले भनिन्, ‘एपमा देखाइए अनुसार कोभिड–१९ खण्डमा गई सूचिकृत भएका चिकित्सकहरुसँग एपोइमेन्ट लिनुपर्छ र चिकित्सकहरुबाट सेवा प्राप्त गर्न सकिन्छ ।’

त्यसैगरी पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमण भएर उपचारमा समस्या भएका पत्रकारहरूका लागि कोरोना कोभिड समन्वय कोष स्थापना गरेको छ । कोषमा महासंघका सल्लाहकार र कार्यसमितिका तर्फबाट ५१ हजार रुपैयाँ जम्मा गरिएको छ । कोषमा प्रदेश सरकारबाट प्राप्त हुने २ लाख पनि थप गरिने महासंघ अध्यक्ष सञ्जीव खनालले बताए ।

कोष सञ्चालन तथा व्यवस्थापनका लागि अध्यक्ष खनालको संयोजकत्वमा सल्लाहकार शंकर खरेल, सचिव नेत्रपी अधिकारी र कोषाध्यक्ष अभयकुमार राई सदस्य रहनेगरी समिति गठन गरिएको महासंघले जनाएको छ ।

कोरोना संक्रमणमा परेका सञ्चारकर्मीलाई अस्पतालमा भर्ना तथा प्रदेश र स्थानीय सरकारसँगको समन्वयका लागि महासंघ अध्यक्ष खनालको संयोजकत्वमा ‘¥यापिड रेस्पोन्स टिम’ समेत गठन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप