शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

डिजिटल रुपान्तरणमा जोड दिँदै विश्व दुरसंचार तथा सूचना समाज दिवस मनाइयो

सोमबार, ०३ जेठ २०७८, १९ : ५०
सोमबार, ०३ जेठ २०७८

काठमाडौं । कोरोना संक्रमण जस्तो विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरण अत्यावश्यक छ भन्ने सन्देशसहित विश्व दुरसंचार तथा सूचना समाज दिवस कार्यक्रम सम्पन्न भएको छ । 

दुरसंचार क्षेत्रको नियामक निकाय नेपाल दुरसंचार प्राधिकरणले आज भर्चुअल कार्यक्रम गरेर उक्त दिवस मनाएको छ । प्राधिकरणले यस दिवसको अवसरमा ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणको गति’ विषयमा विशेष कार्यक्रम आयोजना गरेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अहिलेको कोभिड संक्रमणमा दुरसंचार सेवा अझ भरपर्दो हुनुपर्ने बताए ।  ‘अहिले दुरसंचार क्षेत्रलाई अझ बढी भरपर्दो बनाउन आवश्यक छ,’ मन्त्री गुरुङले भने, ‘कोभिड विभिन्न चरणमा आउने छ । हाम्रो सेवालाई निरन्तर दिने प्रतिबद्धता गरौं । मानव सेवाका निम्ती एकजुट हौं ।’ 

नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यस क्षेत्रको विकासका लागि प्रतिवद्धताको खाँचो औंल्याए । ‘प्रतिवद्धता लिएर योजनावद्ध रुपमा अगाडि बढ्ने हो भने डिजिटल रुपान्तरण गर्न गाह्रो छैन,’ उनले भने, ‘प्रत्येक निकायबाट प्रतिबद्धता आउनु पर्छ ।’ 

नेपालमा डिजिटल रुपान्तरणको लागि लामो समयदेखि काम गरिरहेको बताउँदै यसलाई सफल पार्न कानुनी रुपमा बाध्यकारी बनाउनु पर्ने बताए । 

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि बस्यालले कोभिडको अहिलेको समयमा अन्य कुनै पनि पूर्वाधारले काम नगरेको बताए । 

कार्यक्रममा आइसीटी विज्ञ मनोहर भट्टराईले ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रुपान्तरणका मुख्य ट्रेण्डहरु’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । भट्टराईले नेपालमा डिजिटल रुपान्तरणको लागि विभिन्न योजनाहरु बने पनि त्यसमा अझै स्पष्टता भइ नसकेकाले त्यसलाई स्पष्ट पार्न आग्रह गरे । 

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारी नेपालमा दुरसंचार क्षेत्रमा धेरै राम्रो काम भइरहेको र नयाँ नयाँ प्रविधिको परीक्षण भएको बताए । सन् २००६ देखि हरेक वर्ष मे १७ अन्तर्राष्ट्रिय विश्व दुरसंचार र सूचना समाज दिवस मनाउने गरिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप