शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हिमाली जिल्ला ताप्लेजुङ पनि कोराना संक्रमणको चपेटामा

महामारीमा एक्लै जुध्दै फुङलिङ नगरपालिका
सोमबार, ०३ जेठ २०७८, १७ : ४९
सोमबार, ०३ जेठ २०७८

गत वैशाख १२ मा ताप्लेजुङमा २० जनामा कोरोना संक्रमण देखियो । लगत्तै वैशाख २२ गतेको पीसीआर रिपोर्टमा ३२ जना संक्रमित थपिए । २३ गते ५८ जनाको स्वाब परीक्षण गर्दा ४८ जनामा कोरोना देखिएको छ ।

पछिल्लो समय २९ वैशाखमा फुङलिङ नगरपालिकाका एक सयजनाको रिपोर्ट आउँदा नयाँ ६२ र फलोअपका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप २६६ जनाको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

हिमाली जिल्ला ताप्लेजुङमा कोरोनाको दोस्रो लहरसँगै संक्रमण दर उच्च हुँदै गएको देखिन्छ । तर स्रोतसाधन र आवश्यक जनशक्तिको अभावमा संक्रमण नियन्त्रण एवम् प्रतिनिदान कार्यमा ठोस उपलब्धि हासिल भएको देखिँदैन ।

ताप्लेजुङमा आइतबारसम्म २७७ जना सक्रिय संक्रमित छन् । त्यसमा पनि सदरमुकाम फुङलिङसहित आसपासका क्षेत्र कोरोनाको दोस्रो लहरबाट उत्तिकै प्रभावित छन् ।

कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले २१ वैशाखदेखि फुङलिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्ने, फक्ताङलुङ गाउँपालिका३ को लिङ्खिम बारी फुरुम्बु क्षेत्र, सिकैचा बारी फावाखोला क्षेत्र, सुकेटार आसपास, पाथिभरा याङ्वरक गाउँपालिका जाने बाटो कामीडाँडा र काबेली खोलाको चार किल्लाभित्र निषेधाज्ञा जारी गरेको छ । तर पनि संक्रमण दर नियन्त्रणमा आउन सकेको छैन ।

ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले संक्रमण दर बढेसँगै सदरमुकामसहित आसपासका स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको बताए । कोभिड१९ संक्रमण दर दिनहुँ बढ्ने क्रमसँगै संक्रमण नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा जारी गरिएको छ, उनले भने, ‘मानिसहरुको अनावश्यक हिँडडुलमा कडाइ गरिएको छ । तर पनि सदरमुकाम र आसपासका स्थानीय तहमा संक्रमितको दर उच्च हुँदै गएको उनले बताए ।

प्रजिअ पाण्डेले सदरमुकाम फुङलिङसहित आसपासका स्थानीय तहबाट २६६ जनाको स्वाब संकलन गरी प्रदेश प्रयोगशाला विराटनगर पठाइएको उनको भनाइ छ । पीसीआर परीक्षणको रिपोर्ट भने आउन बाँकी छ । स्वाब संकलनका लागि आवश्यक किटको अभाव र कन्ट्याक्ट ट्रेसिङ लगायतका लागि जनशक्ति अभाव रहेको उनले बताए ।

२० दिनमा २७७ जना संक्रमित

कोरोनाको दोस्रो लहर सुरु भएपछि प्रदेशका सघन बस्ती भएका मोरङ, सुनसरी र झापामा संक्रमित पेला पर्न थालेका थिए तर हिमाली जिल्ला ताप्लेजुङमा वैशाख ९ गतेसम्म संक्रमितको संख्या शून्यमै थियो ।

वैशाख १० गते फुङलिङ नगरपालिका काँग्रेस नगरसमिति सभापति शिवकुमार गुरुङको बिएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भयो । त्यसपछि नगर क्षेत्रमा कोरोना परीक्षण सुरु भयो ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत प्रतीमा खरेलका अनुसार पहिलो लटको परीक्षणमा २० जनामा, दोस्रो लटको रिपोर्ट आउँदा ३२ जना संक्रमित थपिए । २३ गते ५८ जनाको परीक्षण गर्दा ४८ जनामा कोरोना देखियो । त्यसपछि संक्रमितको संख्या निरन्तर रुपमा उकालो लागेको छ । आइतबारसम्म जिल्लामा कुल सक्रिय संक्रमितको संख्या २७७ पुगेको छ भने यो अवधिमा १३ जना संक्रमणमुक्त भएका छन् । यस्तै, ६ जनाको मृत्यु भएको छ ।

कुल २७७  संक्रमितमध्ये दुईजना संस्थागत क्वारेन्टिनमा छन् भने बाँकी संक्रमित होम आइसोलेसनमा छन् ।

रिपोर्ट आउन एक साता

कोरोना संक्रमण बढ्न थालेसँगै जिल्लामा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका मानिसको संख्या पनि बढ्दो छ । तर पीसीआर परीक्षण रिपोर्ट आउनै एक साता लाग्ने गरेका कारण त्यस्ता बिरामीमा संक्रमण रहेको अवस्थामा अन्यमा पनि फैलिने खतरा बढ्दो छ ।

ताप्लेजुङबाट संकलित स्वाबको पीसीआर परीक्षणका लागि प्रदेश ल्याव विराटगनरमा पठाउने गरिएको छ । ल्याबको रिपोर्ट एक सातापछि मात्र सदरमुकाममा प्राप्त हुने कारण नरम खालका लक्षण भएका कतिपय संक्रमित यो बीचमा घरपरिवार र समुदायसम्म पुग्ने गरेका छन् । जसका कारण अन्यमा पनि संक्रमण फैलने गरेको छ ।

जिल्ला अस्पताल ताप्लेजुङका निमित्त मेडिकल सुपरिटेण्डेट डा. सनिङ लामाले थोरै जनसंख्या भएको ताप्लेजुङमा पछिल्लो समय कोरोनाको संक्रमणदर निकै उच्च भएको बताए ।

एकै परिवारका धेरै मानिस शंकास्पद संक्रमित रहे पनि उनीहरु परीक्षणको दायरामा नआउने एवम् स्वाब परीक्षणको रिपोर्ट आउन धेरै दिन लाग्ने हुँदा संक्रमण रोकथाम र नियन्त्रणमा थप चुनौती बढेको उनको भनाइ छ । डा. लामाका अनुसार संक्रमण दर बढेपछि सदरमुकाम बस्दै आएका कयौं शंकास्पद बिरामी गाउँमा गएकाले कोरानाको संक्रमण गाउँगाउँ पुगेको छ ।

जिल्ला अस्पतालमा अहिले कोभिड१९ संक्रमितका लागि १० बेडको युनिट सञ्चालन गरेर संक्रमितको उपचार गर्ने काम भईरहेको उनले बताए । हाल सबै बेड संक्रमितले भरिएको उल्लेख गर्दै उनले थप संक्रमितलाई उपचारका लागि तराई पठाउनुपर्ने बाध्यता रहेको बताए ।

महामारीमा एक्लै जुध्दै फुङलिङ

जिल्लामा कुल संक्रमितमध्ये अधिकांश फुङलिङका हुन् । फुङलिङमा २०६ जना संक्रमित छन् । फुङलिङ नगरपालिका माहामारीविरुद्ध एक्लै जुध्दै आएको छ । नगरपालिकाका अनुसार अहिलेसम्म न केन्द्र सरकार, न प्रदेश सरकारको साथ पाइएको छ ।

महामारीविरुद्धको लडाईमा जे जति काम गरेका छौँ, हाम्रो आफ्नै स्रोतसाधनको बलमा भएको छ, मेयर छत्रपति प्याकुरेलले भने, ‘यो महामारीविरुद्ध लडाईमा हामीले केन्द्र सरकार साथै प्रदेश सरकारसँग आवश्यक सहयोगका लागि धेरै पटक गुहारेका छौँ तर अहिलेसम्म हाम्रो कुराको कतैबाट सुनुवाइ भएन ।

महामारीलाई परास्त गर्न अहिले सबैभन्दा बढी आवश्यकता स्वास्थ्य उपकरण र जनशक्तिको रहेको उनको भनाइ छ । उपकरण र आवश्यक जनशक्ति पठाइदिन प्रदेश र केन्द्र सरकारसँग माग गरेका छौं, उनले रातोपाटीसँग भने, ‘तर अहिलेसम्म सुनुवाई भएको छैन ।

फुङलिङ नगरपालिकामा यति धेरै संक्रमित भए पनि संस्थागत आइसोलेसन बनाउन पनि समस्या छ । जसका कारण धेरै संक्रमित अहिले होम आइसोलेसनमा बस्न बाध्य छन् । कुल संक्रमितमध्ये तीनजना क्वारेन्टिनमा छन् भने १० जना जिल्ला अस्पतालको आइसोलेसनमा छन् । त्यसबाहेक सबै संक्रमित होम आइसोलेसनमा छन् । प्रदेश सरकारले सबै स्थानीय तहलाई कम्तीमा १५ बेडको आइसोलेसन तयार गर्न यसअघि नै परिपत्र गरेको थियो ।

मेयर प्याकुरेलले नगरपालिको २५ बेडको क्वारेन्टिन रहेकाले संस्थागत आइसोलेसन आवश्यक नरहेको बताए । आवश्यक परेको खण्डमा नगरपालिकाले तयार परेको क्वारेन्टिन छ, मेयर प्याकुरेलले भने, ‘प्रायः सबै संक्रमित घरमै छन्, स्वास्थ्यमा समस्या आएको खण्डमा उनीहरुको व्यवस्थापनमा हामी लाग्ने छौं ।

उनले अहिले नगरपालिका स्वाब संकलन गर्ने कार्यमा केन्द्रित भएको बताए । उनले सदरमुकामबाट संकलित १४४ जनाको स्वाब परीक्षणका लागि विराटनगर प्रदेश ल्याबमा पठाउने तयारी भइरहेको जानकारी दिए ।

एन्टिजेन परीक्षण गर्न किटको अभाव भएपछि ५ सय किट खरिद गर्न लागिएको पनि उनले बताए ।

मेयर प्याकुरेलका अनुसार सदरमुकाम फुङलिङमा जिल्लाका ९ वटै स्थानीय तहका मानिस बसोबास गर्दै आएका र पछिल्लो समय उनीहरु गाउँ फर्कदा कोरोना पनि उनीहरुसँगै गाउँ छिरेकाले समस्या अझ बढेको छ ।

जिल्लाका मैवाखोला, आठराई त्रिवेणी, मिरिङदेन, सिरिजंगा, मिक्वा खोला गाउँपालिकाका मानिस पनि कोरानाबाट संक्रमित छन् । धेरैमा अझै पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप