मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

दासढुंगा काण्डको २८ वर्ष : फाइल बन्द गरिएको हो ?

सोमबार, ०३ जेठ २०७८, ११ : १८
सोमबार, ०३ जेठ २०७८


आज जेठ ३, नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख मेरो बुबा जीवराज आश्रितको हृदय विदारक अवसान भएको दिन । देशमा दासढुंगा काण्ड भएको २८ वर्ष पूरा भएको छ । तर, यो घटना एउटा दुर्घटना थियो कि षडयन्त्र ? अझै छिनोफानो भएको छैन । हाम्रो लागि यो सबैभन्दा ठूलो विडम्बना हो ।

सम्भवतः दासढुंगा काण्ड र दरबार हत्याकाण्ड नभएको भए देश आजको स्थितिमा हुन्थ्यो वा समग्र परिदृश्य नै भिन्न हुन्थ्यो, अनुमान गर्न सकिदैन । तर, एउटा कुरा चाहिँ पक्का हो, मदन आश्रित बाँचेको भए, एमालेभित्रको अहिलेको भाँडभैलो भने अहिलेकै अनुपातमा चर्को हुने थिएन ।

दासढुंगा काण्डका कारण मदन आश्रितको नेतृत्व क्षमता र योग्यताको सम्पूर्ण लाभ यो देशले प्राप्त गर्न पाएन । २०५० साल जेठ ३ गते पोखराबाट चितवनको पार्टीको कार्यक्रममा जाँदाजाँदै नेताद्वयको दासढुंगामा रहस्यमय अवसान भएको हो । २०५० सालपछि जन्मेको धेरै मानिसलाई त मदन आश्रित को हुन भन्ने बारेमा समेत थाहा नहुन सक्छ । त्यसैले दासढुंगा काण्ड पनि धेरैको विस्मृतिमा गएको अनुभूति हुन्छ ।

मदनआश्रित बाहेक नेपालको इतिहासमा ठूलो राजनीतिक दलका प्रमुख नेता रहस्यमय सडक दुर्घटनामा मारिएको रेकर्ड छैन । त्यसैले दासढुंगा काण्ड एउटा रहस्यमय घटना मात्र होइन, अपवाद नै भएको छ ।

आजको विश्वमा हाम्रो जस्तो देशका यस्ता काण्डहरू राज्यले चाहने हो भने छानविन हुन नसक्ने होइन । दासढुंगा काण्डका एक सूत्रधार अमर लामाको पनि हत्या भइसकेकाले यो प्रकरण थप रहस्यमय भएको छ । तर, फाइल खोल्न नै नमिल्ने त भएको होइन होला । त्यसैले दासढुंगा काण्डको फाइल खोलियोस् । 

गएको वर्षको जेठ ३ को स्मृति दिवसका अवसरमा पनि मैले बुबा र मदन भण्डारीको अवसान बारे न्यायिक छानविन होस् भनेर एउटा लेख लेखेको थिएँ । मदन आश्रित लगायतका नेताको कठोर योगदानले निर्माण भएको पार्टी कै सरकार भएकोले दासढुंगा काण्डको छानविन हुन सकेन भने दासढुंगा घटनाको छानविन कदापि हुन सक्दैन भनेर मैले प्रधानमन्त्री केपी ओली र मदन अंकलकी धर्मपत्नी महामहिम राष्टपति विद्या भण्डारी आन्टीको ध्यानाकर्षण गराएको थिएँ ।

राज्य सत्ताको सम्पूर्ण बागडोर उहाँहरुको हातमा भएको बेला दासढुंगा काण्डको यथार्थ छानविन होस् र सत्यतथ्य बाहिर आओस् भन्ने परिवारको मात्र होइन, देशबासीकै चाहना हो । तर, त्यसमा ठोस प्रगति भएको थाहा छैन, भित्रभित्र केही भएको भए, बाहिर आउला नै । तर, हामीले आश मारेका छैनौं । एमालेको पार्टी पंक्ति, प्रधानमन्त्री राष्टपति र सरकारका मन्त्रीहरुको पनि चासो बनोस् दासढुंकाण्ड र यो एउटा दुःखद स्मृतिमा सीमित नहोस् । सत्ताको सिँढी चढ्नका लागि मात्र मदन आश्रितको नाम जप्ने र दासढुंगा काण्डको चर्चा गर्नु नेताद्वयमाथिकै अन्याय हो ।

आजको विश्वमा हाम्रो जस्तो देशका यस्ता काण्डहरू राज्यले चाहने हो भने छानविन हुन नसक्ने होइन । दासढुंगा काण्डका एक सूत्रधार अमर लामाको पनि हत्या भइसकेकाले यो प्रकरण थप रहस्यमय भएको छ । तर, फाइल खोल्न नै नमिल्ने त भएको होइन होला । त्यसैले दासढुंगा काण्डको फाइल खोलियोस् । 

दासढुंगा काण्ड एमाले र सरकारका लागि सँधै एउटा स्मृतिमा मात्र सीमित हुनु हुँदैन । हरेक वर्ष जेठ ३ आएपछि हाम्रो ध्यान बल्खुको स्मृति सभातिर मात्र जान्छ । स्व. नेताको तस्वीरमा माल्यार्पण गर्ने र केही शब्द उहाँहरुका बारेमा खर्च गर्ने औपचारिकतामा सिमित भएको छ हरेक जेठ ३ । औपचारिक स्मृति मात्रले दिवंगत नेताको आत्माले शान्ति पाउन सक्दैन । त्यसैले मदन भण्डारीलाई जनताको बहुदलीय जनवादका प्रणेताको रुपमा चर्चा गर्ने अनि मेरो बुबालाई कुशल संगठक भनेर प्रशंशा गरेर मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन सक्दैन । हत्या वा दुर्घटना के हो भन्ने छिनोफानो भएको दिन नै उहाँहरुको आत्माले शान्ति पाउनेछ ।

 छानविन नगर्ने हो भने पार्टीले औपचारिक निर्णय गरेर दासढुंगाको फाइल अब सदाका लागि बन्द गरियो, यो एउटा दुर्घटना मात्र हो भन्न सक्नुपर्छ, यदि यो कसैको षडयन्त्र वा सनक होइन भने ।

मदन भण्डारीको राजनीतिक प्रताप देशभित्र र बाहिरका शक्तिका लागि ठूलो राजनीतिक टाउको दुखाइको विषय थियो होला । तर, मेरो बुबाको के दोष थियो त ? उहाँ मदन अंकल जति लोकप्रिय हुनुहुन्थेन । तर, मदन भण्डारीसँगै षडयन्त्रको शिकार हुनु भयो । र, त्यसको मुल्य हामी परिवार र नेपाली समाजले चुकाउनु परी रहेको छ । त्यसैले म फेरि यसपाली पनि प्रधानमन्त्री, राष्टपति, सरकार र शीर्ष नेताहरुलाई अनुरोध गर्न चाहन्छु दासढुंगा काण्डको छानविन गरेर एउटा टुंगो लगाइयोस् ।

पार्टीको संगठनात्मक काम बाहेक बुबाको साहित्य तथा कला क्षेत्रमा पनि रुचि थियो । त्यो झुकावका कारण उहाँ फुर्सदमा कोठा बन्द गरेर गीत तथा कविता लेख्नुहुन्थ्यो । मोदनाथ प्रश्रित र जीवराज आश्रितबीच निकै घनिष्ठ सम्बन्ध थियो बनारस बस्दादेखि नै । भौगोलिक क्षेत्र पनि एउटै भएकाले दुवैबीच आत्मीय सम्बन्ध थियो । मोदनाथ अंकलको प्रेरणाले पनि काम गरेको थियो होला बुबालाई गीत लेख्नलाई । उहाँले लेखेका केही गीत नेपाली समाजमा अझै पनि लोकप्रिय छन् ।

बुबाको दासढुंगामा अवसान भएपछि आमाको माया पाए पनि हामीलाई बुवाको माया र अभिभावकत्वको अभाव रह्यो । म र भाइको जीवनमा हमेशा बुबाको अभाव रही रहेको छ । लामो भूमिगत जीवनपछि केही समय बुबासँग बस्न थालेपछि नै उहाँको अवसान भएकोले हामीले बुबाको सानिध्य पाउनै पाएनौं  । हामीले धेरै समय पोखरामा बुवासँग बिताएका थियौं । जति समय हामीले बितायौँ तीसबै पल ज्यादै प्रेरणादायी र स्मरणीय छन् ।

स–साना कुरामा बुबाले हामीलाई सम्झाउनु भएको आज जस्तै लाग्छ । मलाईभन्दा पनि भाइ (डा.सागर न्यौपाने) लाई बढी सम्झाउने गर्नुहुन्थ्यो बुबाले । भाइ पछिसम्म पनि बुबाको समिपमा पर्न अलि हच्किएको जस्तो लाग्थ्यो मलाई । बुबा आफू अनुशासनको पालना गर्नुहुन्थ्यो र अरुलाई पनि अनुशासित हुन प्रेरित गर्नुहुन्थ्यो । अनुशासित पार्टीका लागि अनुशासित नेता र कार्यकर्ता चाहिन्छ, सायद अहिलेको एमालेलाई अनुशासित नेता कार्यकर्ताको खाँचो छ ।

अहिलेको पार्टीको अस्थिर अवस्था देख्दा सायद मदन अंकल र बुबा बाँचेको भएको भए यति विकराल अवस्था आउने थिएन कि जस्तो लाग्छ । सबैलाई सम्झाएर बुझाएर समस्याको समाधान गर्ने कला उहाँहरुमा थियो । आज साँच्चै नै एमालेमा बुवाको अभाव छ ।

पार्टीको संगठनात्मक काम बाहेक बुबाको साहित्य तथा कला क्षेत्रमा पनि रुचि थियो । त्यो झुकावका कारण उहाँ फुर्सदमा कोठा बन्द गरेर गीत तथा कविता लेख्नुहुन्थ्यो । मोदनाथ प्रश्रित र जीवराज आश्रितबीच निकै घनिष्ठ सम्बन्ध थियो बनारस बस्दादेखि नै । भौगोलिक क्षेत्र पनि एउटै भएकाले दुवैबीच आत्मीय सम्बन्ध थियो । मोदनाथ अंकलको प्रेरणाले पनि काम गरेको थियो होला बुबालाई गीत लेख्नलाई । उहाँले लेखेका केही गीत नेपाली समाजमा अझै पनि लोकप्रिय छन् ।

उहाँले लेखेको एउटा गीत हो :

नउठी भएन नेपालका दिदीबहिनी हो,

के छ र बाँच्ने आधार कम्मर नकसे ?

अहिले पनि यो गीत रेडियोमा गुञ्जिदा मेरो मन भक्कानिन्छ, किनभने बुबाविनाको हाम्रो जीवन अधुरो, उजाड र उदास छ ।

नेपाली समाजलाई अर्धसामान्ती तथा अर्धऔपनिवेशपनबाट मुक्त गर्न अनि पञ्चायती कालरात्रीबाट मुक्त गरेर लोकतन्त्रमा विचरण गराउन बुबाले गर्नुभएको योगदान सदा स्मरणीय छ । कुनै पनि नेता वा राजनेताको मुल्यांकन सत्तामा पुगेका आधारमा मात्र होइन, सत्ता र शक्ति बाहिर रहेर गरेको कर्मका आधारमा गरिनुपर्छ ।

नेपालमा त्यस्ता धेरै नेताहरु हुनुहुन्छ, जो सत्ता र सरकार बाहिर रहेर नै देश र समाजका लागि महत्वपूर्ण योगदान गर्न सफल हुनुहुन्छ । मेरो बुबा स्व. जीवराज आश्रित पनि राज्यको कुनै पनि उच्च पदमा नबसी देश र जनताको मुक्तिका लागि अनवरत योगदान गर्ने सच्चा योद्धा हो । जेठ ३ को यो स्मृति दिवस स्व. बुबा आश्रित र मदन अंकलप्रति हार्दिक श्रद्धासुमन ।

(उषा जीवराज आश्रितकी छोरी हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उषा न्यौपाने
उषा न्यौपाने
लेखकबाट थप