शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवाह र पूजापाठसँगै गाउँगाउँमा पुग्यो कोरोना संक्रमण

सोमबार, ०३ जेठ २०७८, १० : ३०
सोमबार, ०३ जेठ २०७८

गण्डकी प्रदेशमा कोरोनाभाइरस संक्रमण गाउँगाउँमा फैलिएको छ । निषेधाज्ञाका बाबजुद संक्रमण नियन्त्रणमा आउन सकेको छैन ।

कोरोना संक्रमणको चेन ब्रेक गर्न प्रदेशका अधिकांश जिल्लामा वैशाख २१ गतेदेखि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा लगाइए पनि प्रदेशमा दैनिक सयौंको संख्यामा संक्रमित थपिँदै गएका छन् भने मृत्यु हुनेको संख्या पनि बढ्दो छ ।

वैशाख महिनामा विवाह, भोजभतेर लगायतका कार्यक्रमले गर्दा गाउँगाउँमा संक्रमण पुगेको स्वास्थ्यकर्मीहरु बताउँछन् । पछिल्लो समयमा कास्की, पर्वत, बागलुङ, स्याङ्जा, तनहुँ लगायतका जिल्लाका ग्रामीण क्षेत्रमा विवाह र भोजमा सहभागी भएकामध्ये ठुलो संख्यामा संक्रमण देखिएको छ ।

पछिल्लो समय विवाह, ब्रतबन्ध, चौरासी पूजा र भोजभतेर लगायतका कार्यक्रम आयोजना गरिएका ठाउँमा महामारीका रुपमा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्मा बताउँछन् ।

विवाह भोजमार्फत समुदायमा संक्रमण फैलिएर पछिल्लो समय बागलुङ र कास्कीका केही गाउँ नराम्रोसँग प्रभावित भएका छन् । बागलुङको बडिगाडमा विवाहपछि एकै परिवारका ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बलेवा, काठेखोला, ताराखोला र बडिगाड गाउँपालिकामा विवाह भोजकै कारण समुदायस्तरमा संक्रमण फैलिएको छ ।

बडिगाड गाउँपालिका–४ मा गत वैशाख ११ गते आयोजित विवाह भोजमा वडाध्यक्षसहित इस्टमित्र र छिमेकी सहभागी भएका थिए । उक्त भोजमा सहभागी भएकाहरुमा रुघा, खोकी, ज्वरो लगायतका समस्या देखिन थाल्यो । नातिको बिहे भएको ३÷४ दिनमा ८७ वर्षीय हजुरबुबामा रुघा, खोकी र श्वासप्रश्वासमा समस्या देखिन थाल्यो । सासै फेर्न गाह्रो भएपछि उनलाई वैशाख १७ गते धौलागिरि अस्पतालमा ल्याएर स्वाब परीक्षण गरियो । वैशाख १८ आएको रिपोर्टमा उनलाई संक्रमण पुष्टि भएको हो । अस्पतालको सघन उपचार कक्षमा उपचार हुँदाहुँदै उनको वैशाख २३ गते मृत्यु भयो ।

कोरोना संक्रमणले ८७ वर्षीय वृद्धको मृत्यु भएको १० दिनभित्र उनकै परिवारका अरु तीनजना सदस्यको समेत मृत्यु भएको छ । वैशाख ३० गते ४० वर्षका उनकै एक छोराको मृत्यु भयो भने वैशाख ३१ गते पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत अर्का छोराकोसमेत मृत्यु भयो । सोही विवाह भोजमा सहभागी उक्त परिवारकै जेठी छोरी बडिगाड गाउँपालिका–५ ग्वालीचौरकी ५१ वर्षीय महिलाको समेत धौलागिरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका–४ जलजलाका वडाध्यक्ष प्रेम गलामीका अनुसार उक्त विवाह भोजमा सहभागीहरुमा अहिले रुघाखोकी र उच्च ज्वरो देखिन थालेको छ । गाउँभरी एकै पटक ठुलो संख्यामा बिरामी परेपछि गाउँपालिकाको पहलमा गरिएको कोरोना परीक्षणमा एकैपटक ४९ जनामा संक्रमण देखिएको छ ।

कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि अहिले गाउँलाई सिल गरिएको छ । बागलुङमा हालसम्म कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भइसकेको छ । एक हप्ता अघिसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १०० हाराहारीमा रहेकोमा हाल ८०० पुगेको छ ।

जिल्लामा विवाह र ब्रतबन्धका भोजमा सहभागी भएकाहरुमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । वैशाख महिनामा लगन रहेकाले विवाह, चौरासी पूजा तथा अन्य सामाजिक संस्कारजन्य भोजभतेर गर्ने क्रम तीव्र हुँदा सक्रमण दर बढेको उनको ठम्याइ छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको झोवाङ गाउँमा पनि विवाह र भोजभतेरका कारण नै कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । गाउँभरी धेरै मानिस बिरामी भएपछि शंकास्पद लक्षण देखिएका २८ जनाको पीसीआर परीक्षण गरिएकोमा २१ जनामा कोभिड संक्रमण देखिएको थियो । ठुलो संख्यामा संक्रमित भेटिएपछि सम्पर्कमा आएका अन्य ६० जना कन्ट्रयाक टे«सिङमा परेकाहरुको समेत स्वाब संकलन गरिएको छ ।

गाउँमा वैशाख महिनामा आधादर्जन भन्दा धेरै विवाह, रुद्री पूजा, ब्रतबन्ध र चौरासी पूजाको भोज आयोजना भएको स्थानीयवासीको भनाइ छ । गाउँभरी संक्रमण बढेपछि अहिले झोवाङ गाउँलाई पूरै सिल गरिएको छ । गाउँ छिर्ने सबै नाका बन्द गरिएको छ भने अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन रोक लगाइएको छ ।

पीसीआर परीक्षणका लागि लिइएको स्वाबको रिपोर्ट एक हप्तापछि मात्रै आउने भएकाले नतिजा नआउँदासम्म घरमै बस्न र अन्य व्यक्तिसँग सम्पर्कमा नजान गाउँलेलाई निर्देशन दिइएको गाउँपालिकाका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले बताए ।

अन्नपूर्ण गाउँपालिकामा अहिले ३५ जना सक्रिय संक्रमित छन् । संक्रमितहरु होम आइसोलेसनमै बसेका छन् ।

अस्पताल लैजान हेलिकोप्टर चार्टर

गण्डकी प्रदेशका हिमालपारीका जिल्ला मनाङ र मुस्ताङका गम्भीर खालका कोरोना संक्रमितहरु उपचारका लागि पोखरा र काठमाडौं जान बाध्य भएका छन् । पछिल्लो समय कोरोना संक्रमणले थलिएपछि मनाङका दुईजना बिरामीलाई पोखरा र एकजनालाई काठमाडौं लगिएको छ । उनीहरु तीनैजनालाई हेलिकोप्टर चार्टर गरेर अस्पताल लगिएको हो ।

मनाङ र मुस्ताङमा अक्सिजनसहितको आइसियु, भेन्टिलेटर र आवश्यक स्वाथ्यकर्मी नहुँदा संक्रमितहरु उपचारका लागि महँगोमा हेलिकोप्टर चार्टर गरेर अस्पताल जान बाध्य भएका हुन् ।

प्रदेश सरकारले २ वटा भेन्टिलेटरसहित आईसियु कक्ष बनाउन गत वर्ष बजेट दिए पनि मनाङ र मुस्ताङमा उपकरण किनेर थन्क्याएर राखेका कारण विपदको बेला नागरिकले यस्तो समस्या भोग्नु परेको हो ।

मनाङमा प्रदेश सरकारले पठाएको दुईमध्ये एउटा भेन्टिलेटर जोडिएको छ । त्यो पनि प्राविधिक जनशक्ति नभएकोले त्यसै थन्क्याएर राखिएको छ । मनाङमा अहिले ४३ जना सक्रिय संक्रमित छन् । त्यहाँको जिल्ला अस्पतालमा अहिले डाक्टर छैनन् भने स्वास्थ्यकर्मी पनि निकै कम छन् ।

मुस्ताङमा हाल ६३ जना संक्रमित छन् । ती मध्येका ४ जनालाई थप उपचार आवश्यक भएपछि हेलिकोप्टरमा पोखरा ल्याएको सांसद इन्द्रधारा विष्टले बताए । उनले कोरोना संक्रमण वृद्धि भएपछि सरकारले निषेधाज्ञा जारी गरेसँगै आपतकालीन रुपमा उडान भर्दै आएका हेलिकोप्टर कम्पनीहरुले मनलाग्दो रकम असुल्ने गरेको गुनासो गरे ।

सांसद विष्टले सामान्य अवस्थामा २ लाख रुपैयाँ भाडा लिदै आएका हेलिकोप्टर कम्पनीहरुले अहिले ५ लाखसम्म असुल्ने गरेको आरोप लगाए ।

गण्डकी प्रदेश सरकारले गतवर्ष सबै जिल्ला अस्पतालमा भेन्टिलेटर सहितको आइसियु बनाउनका लागि १४ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, अधिकांश अस्पतालले सामान खरिद गरे पनि प्राविधिक जनशक्तिको व्यवस्था गर्न नसक्दा खरिद गरिएका सामग्री प्रयोगविहीन अवस्थामा राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप