बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन : ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनुपर्ने

आइतबार, ०२ जेठ २०७८, २० : ३९
आइतबार, ०२ जेठ २०७८

निर्वाचन आयोगले कोभिड–१९ महामारीको विद्यमान अवस्था दृष्टिगत गरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गरी लागू गरेको छ । स्वीकृत मापदण्डअनुसार मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्क स्थापना हुनेछ । मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि पिसिआर रिपोर्ट देखाउन, साबुनपानीले हात धुन तथा स्यानिटाइजर प्रयोग र मास्कलाई अनिवार्य गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

कोभिड– १९ संक्रमण देखिएका मतदाताका लागि बेग्लै मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको र केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान प्रतिनिधि सबैले अनिवार्य रुपमा पिपिइ प्रयोग गर्नुपर्ने व्यवस्था गरिने छ ।

मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले मतदानस्थल वा केन्द्रमा रहँदा कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने र सबैले अनिवार्य रुपमा फेस शिल्ड, पञ्जा र मास्क लगाउनुपर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ ।

मतदान अधिकृतले एक मतदान केन्द्रमा बढीमा २५  मतदाताले मतदान गरिसकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छापलगायत मतदान सामग्री तथा मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्नुअघि र मतगणनास्थलमा मतपेटिका खोल्नुअघि  अनिवार्य रुपमा मतपेटिका निसंक्रमण गर्नुपर्ने व्यवस्थासमेत गरिने जनाइएको छ  ।

मतदानस्थलमा अनिवार्य रुपमा आवश्यक उपकरणसहितको एक एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट व्यवस्था गर्नुपर्ने जस्ता प्रावधान स्वास्थ्य सुरक्षा मापदण्डमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप