शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्दै चौधरी फाउन्डेसन

आइतबार, ०२ जेठ २०७८, १९ : ४४
आइतबार, ०२ जेठ २०७८

काठमाडौं । कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटको समयलाई मध्यनजर गर्दै चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।

फाउन्डेसनले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनाहरूमा काम गर्ने निर्णय पनि गरेको छ । र यी निर्णय तत्काल कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा रहेको पनि फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड स्थापना गर्ने र, वीर अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गर्ने जनाएको हो । 

त्यसैगरी फाउन्डेसनले सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ । यस सम्बन्धमा दुवै नगरपालिकासँग आवश्यक सहमति भइसकेको पनि फाउन्डेसनले जनाएको छ । 

वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युविक लिटर÷प्रति घण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ । अक्सिजन प्लान्ट स्थापनाका लागि चौधरी फाउन्डेसनले आफ्ना साझेदार एवं स्थानीय नगरपालिकाहरूसँग सहकार्य गर्ने र अक्सिजन प्लान्ट केही दिनभित्रै आयात गर्ने जनाएको छ । 

धनगढी र सुर्खेतमा स्थापना हुने अक्सिजन प्लान्टले दुवै प्रदेशको अक्सिजन माग पूरा गर्नेछन् । यसका साथै चौधरी फाउन्डेसन तत्काल अक्सिजन कन्सन्ट्रेटर आयात गरी अक्सिजनको चर्को अभाव खेपिरहेका अस्पतालहरूलाई उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि जानकारी गराएको छ । 

चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले फाउन्डेसनले एकीकृत योजना अगाडि सारेको बताए । उनले बिरामीको जीवन रक्षा गर्नु, यसका लागि आईसीयू वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर सबैभन्दा महत्वपूर्ण स्वास्थ्य उपकरण जुटाउन आफू अग्रसर भएको बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप