शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदलाई सिलिन्डरको बोझ : मन्त्रालय भन्छ– कोटा छैन

परराष्ट्रमन्त्री भन्छन्– राजनीतिक दबावलाई मिलाउनु पर्नेछ
आइतबार, ०२ जेठ २०७८, १८ : ३७
आइतबार, ०२ जेठ २०७८

काठमाडौं । सत्तारुढ एमाले सांसद गंगा चौधरी शान्तिनगरस्थित ओमशान्ति चोकमा बस्छिन् । चौधरी बस्ने घरमा चीनबाट ल्याइएका ५ वटा अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री भेटिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

स्वास्थ्य सामग्री भेटिएको खबर पाएपछि महानगरीय प्रहरी वृत बानेश्वरको प्रहरी टोली त्यहाँ पुग्यो । तर, सांसद चौधरीले दाङको अस्पतालमा लैजानका लागि स्वास्थ्य सामग्री ल्याएको स्वास्थ्य मन्त्रालयको पत्र देखाएपछि प्रहरी टोली फर्कियो ।

‘स्वास्थ्य मन्त्रालयको पत्र देखाउनुभएको छ’ महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डीएसपी दक्ष बस्नेतले रातोपाटीसँग भने, ‘स्वास्थ्य सामग्री दाङ पठाउन लाग्नुभएको रहेछ ।’ सांसद चौधरीले दाङको अस्पतालमा पठाउनका लागि सिलिन्डर राखेको बताएकी छिन् । उनको घरमा ज्ञानेन्द्र शाहीको टोलीले पुगेर भिडियो खिचेको थियो । पछि यथार्थ बुझेपछि शाहीले आफूले पनि केही थान सिलिन्डर माननीयज्यूलाई दिन्छौं, लिएर दाङ जानोस् भनेका थिए ।

दाङमा मानिसहरु मरिरहेको सुन्दाखेरी आफूलाई निद्रा नलागेको र सिलिन्डरको जोहो गरेर पठाउन लागेको सांसद चौधरीको स्पष्टीकरण छ । यथार्थ कुरा नबुझिकन आफूविरुद्ध भिडियो खिचेर भाइरल बनाइएको भन्दै आक्रोशित बनेकी सांसद चौधरीले भनिन् ‘हाम्रो राज्य कहाँ छ ? दुर्गममा बस्नेहरु चाहिँ जनता हैनन् र ? हामीले व्यक्ति हेर्ने होइन, हामी जनताको प्रतिनिधि हो, जनताको प्रतिनिधिले कहिल्यै पनि दलाली र गद्दारी काम गर्दैन ।’

कोभिड–१९ संक्रमणको दोस्रो लहर चलिरहेका बेला अहिले अक्सिजनसहितका स्वास्थ्य सामग्रीको हाहाकार छ । मन्त्री र सांसदहरुले सिलिन्डरसहितका स्वास्थ्य सामग्री काठमाडौंमा जम्मा पारेर आफ्नो निर्वाचन क्षेत्रमा पठाउने क्रम पनि बढिरहेको छ । यसमा गंगा चौधरी एक्ली होइनन् । आफ्नो गाउँमा एकै दिन ५ जनाको मृत्यु भएको र फोन आएर रातभर सुत्न नसकेको सांसद चौधरीको दुःखेसो छ । उनको भनाइले स्थानीय मतदाताको प्रेसरमा परेर स्वास्थ्य सामग्रीको जोहो गर्नुपरेको संकेत गर्दछ ।  

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले पनि बैशाख २९ गते गृहजिल्ला अर्घाखाँचीमा यसैगरी स्वास्थ्य सामग्रीहरु पठाएका थिए । रायमाझीले जिल्लावासीलाई पठाएको सामग्रीमा २३ वटा अक्सिजन सिलिन्डर र ५ वटा अक्सिजन कन्सन्टेटरसमेत १२ प्रकारका आइटमहरू थिए । मन्त्री रायमाझीले स्वास्थ्य सामग्रीका साथ जिल्लावासीलाई भावुक पत्रसमेत लेखेका छन् ।

यसरी आफ्नो निर्वाचन क्षेत्रका लागि मन्त्री र सांसदहरुले स्वास्थ्य सामग्री पठाउने क्रम बढ्दो छ । कोभिड–१९को उपचारमा अमृत समान मानिएको अक्सिजन देशभर अभाव छ । बेइजिङबाट ४ सय र ओमानबाट ५६० वटा अक्सिजनका सिलिन्डर काठमाडौं आइपुगेको छ ।

यस्ता सिलिन्डरहरू सोझै अस्पतालमा नगएर कसरी सांसदका हातमा पुगे त ? यो प्रश्नको उत्तर सरकारसँग पनि छैन । उता सांसदहरु चाहिँ आफ्नो निर्वाचन क्षेत्रबाट आउने दबावमा पर्ने गरेका छन् । गाउँबाट स्थानीयले खोई हामीलाई सिलिन्डर पठाएको भनेर प्रश्न गर्न थालेको कतिपय सांसदहरु बताउँछन् ।

सांसदलाई अक्सिजनको कोटा तोकिएको छैन : स्वास्थ्य मन्त्रालय

आ–आफनो निर्वाचन क्षेत्रमा पठाउन सांसदहरूका लागि स्वास्थ्य सामग्रीको कोटा नतोकिएको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार मन्त्रालयले अस्पतालहरूका लागि मात्रै अक्सिजन सिलिन्डरको कोटा निर्धारण गरेको बताउँछन् स्वास्थ्य मन्त्रालयका प्रवक्ता सहसचिव प्रा.डा जागेश्वर गौतम । डा. गौतमले रातोपाटीसँग भने, ‘सांसदका लागि कोटा तोकिएको छैन ।’

स्वास्थ्य मन्त्रालयले कोटा निर्धारण नगरे पनि मन्त्री र सांसदले कसरी अक्सिजनका सिलिन्डर पाउँछन् भन्ने प्रश्न उठेको छ । पहुँचवालाले सिस्टममा हस्तक्षेप गर्ने पुरानै संस्कार भएको बताउँछन् सिन्धुली–२ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद हरिबोल गजुरेल ।

‘यो पुरानै रोग हो’ सांसद गजुरेलले रातोपाटीसँग भने, ‘आवश्यकता कहाँ छ भन्ने हुँदैन तर, सिलिन्डर बोकेर फेसबुकमा फोटो राखेर मैले यत्ति गरेँ भन्ने राजनीतिक संस्कार विकास भएको छ ।’ मन्त्री र सत्ता निकट सांसदले अक्सिजन सिलिन्डर पठाएको समाचार सुनेर आफ्नो क्षेत्रका स्थानीयले पनि ‘तपाईले किन सिलिन्डर नल्याएको ?’ भनेर प्रश्न गर्न थालेको गजुरेल बताउँछन् ।

काठमाडौं उपत्यकाका अस्पतालले नै बिरामीलाई आफैं अक्सिजनको व्यवस्था गरेर आउनु भनिरहेका छन् । पहुँच नहुने बिरामीका परिवारले धेरैतिर भौतारिँदा पनि अक्सिजन पाएका छैनन् । अक्सिजनमा राजनीतिकरण भएको मन्त्रीहरुले पनि स्वीकार्न थालेका छन् ।

शनिबार बरिष्ठ पत्रकार कनकमणि दीक्षितसँगको अन्तर्वार्तामा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने, ‘अक्सिजन लेबल घट्ने बित्तिकै विरामीहरु आइसियु र भेन्टिलेटर भएको ठाउँमा भर्ना हुन चाहन्छन् । त्यसमा राजनीतिक दबाव पनि हुने, अरु विभिन्न ढंगका दबावहरु पनि हुने । यसमा अलिकति चैं मिलाउनुपर्नेछ ।’

विदेशबाट ल्याएको सिलिन्डर सीधै प्रदेशमा

चीन र ओमानबाट अक्सिजन सिलिन्डर र भेन्टिलेटर सपोर्टर काठमाडौं ल्याइएको छ । चीनबाट ४ सय सिलिन्डर र १० थान भेन्टिलेटर सपोर्टर ल्याइएको छ । ओमानबाट शनिबार ५६० वटा अक्सिजन सिलिन्डर काठमाडौं ल्याइएको छ ।

विदेशबाट ल्याएका सिलिन्डर प्रदेशमा पठाउन लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता (सह–सचिव जागेश्वर गौतमले बताए । ओमानबाट ल्याएको २ सय वटा सिलिन्डर लुम्बिनी प्रदेशमा पठाउने निर्णय गरिएको छ । कर्णाली र सुदूरपश्चिममा १ सयका दरले सिलिन्डर पठाइँदैछ ।

‘ओमानबाट आएको मध्ये गण्डकीमा ७५ वटा पठाउँछौं’ प्रा.डा गौतमले भने, ‘अरु बाँकी रहेका सिलिन्डर दुई नम्बर प्रदेशमा पठाउँछौं ।’ बेइजिङबाट आएको चार सयमध्ये दुई सय थान सिलिन्डर बागमती र दुई सय थान प्रदेश–१ मा पठाउने मन्त्रालयले निर्णय गरेको छ । विदेशबाट ल्याएका सिलिन्डर सम्बन्धित प्रदेशको प्लान्टमा रिफिल गरिनेछ ।

कोभिडविरुद्ध लड्न सहयोग पुगोस् भनेर चीनले २० हजार  सिलिन्डर र भेन्टिलेटर लगायतका सामग्री नेपाललाई अनुदानमा दिने घोषणा गरेको छ । चिनियाँ अनुदानको १८ हजार थान सिलिन्डर तातोपानी नाका हुँदै काठमाडौं ल्याइँदैछ ।

कर्णाली र सुदूरपश्चिममा अक्सिजन प्लान्ट छैन

कर्णाली र सुदूरपश्चिममा अक्सिजन कम्पनी छैन । त्यहाँ आवश्यक अक्सिजन भर्न लुम्बिनी प्रदेशमा आउनुपर्छ । लुम्बिनी प्रदेशका रुपन्देही, बाँके र दाङमा कोभिडका बिरामीको चाप छ । लुम्बिनीमा रहेका अस्पतालमा ५ हजार ४ सय ९० थान अक्सिजन सिलिन्डर छन् ।

कर्णाली र सुदूरपश्चिमलाई आवश्यक अक्सिजन प्रदेशमा रहेका ६ वटा कम्पनीमा रिफिल गरेर लाने गरी सहजीकरण गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी रवीन्द्र धानुकले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप