शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महामारीविरुद्ध ‘एक्शन’मा मुख्यमन्त्री राउत

आइतबार, ०२ जेठ २०७८, १७ : २५
आइतबार, ०२ जेठ २०७८

पछिल्लो समय बढ्दै गएको कोरोना सङ्क्रमण विरुद्ध प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत एक्सनमा उत्रिएका छन् । बढ्दो अक्सिजनको माग र सङ्क्रमितको चापलाई हेर्दै मुख्यमन्त्री राउतले आज धनुषास्थित अक्सिजन प्लान्ट र कोभिड अस्पतालको स्थलगत अनुगमन गरेका छन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, नेपाल प्रहरीका डिआइजी धीरजप्रताप सिंह र प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासहितको टोली लिएर मुख्यमन्त्री राउतले स्थलगत निरीक्षण तथा अनुगमन गरेका हुन् ।

ढल्केबरस्थित ढल्केबर ग्यास उद्योग (अक्सिजन प्लान्ट) निरीक्षणका क्रममा मुख्यमन्त्री राउतले उद्योगका सञ्चालकलाई अक्सिजनको वितरण एकद्वार प्रणालीमार्फत मात्र गर्न निर्देशन दिएका छन् । जिल्लामा अक्सिजनको वितरणमा आजैदेखि एकद्वार प्रणाली लागू गरिएको छ ।

त्यसैगरी मुख्यमन्त्री राउतसहितको टोलीले जनकपुरधामको बेलामा निर्माणाधीन अक्सिजन प्लान्टको समेत अवलोकन गरेका छन् । सो क्रममा उनले अविलम्ब प्लान्ट सञ्चालन गरी सङ्क्रमितको ज्यानको रक्षा गर्न उद्योगका सञ्चालकलाई आग्रहसमेत गरेका छन् । मुख्यमन्त्री राउतको आग्रह उद्योगका सञ्चालकले शनिबारसम्म जसरी भए पनि प्लान्ट सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका । बेलामा निर्माणाधीन उद्योग २४ घण्टामा ६०० सिलिन्डर रिफिल गर्न सक्ने क्षमताको छ ।


त्यस्तै मुख्यमन्त्री राउतसहितको टोलीले जानकी मेडिकल कलेजद्वारा सञ्चालित कोभिड अस्पतालको समेत निरीक्षण गरेको छ । जानकी मेडिकल कलेज रमदैया पुगेको टोलीले अस्पताल व्यवस्थापकसँग अस्पतालमा रहेका सङ्क्रमितको अवस्था र उपचारमा भइरहेको समस्याबारे जानकारी लिएको छ । 

सो क्रममा मेडिकल कलेजको व्यवस्थापन पक्षले अक्सिजनको कोटा बढाई दिन माग गरेको थियो । टोलीले आजैदेखि अक्सिजनको कोटा बढाइदिने र शनिबारदेखि चाहे जति अक्सिजन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । हाल ६० श्यया कोरोना सङ्क्रमितका लागि सञ्चालन गरिरहेको सो मेडिकल कलेजलाई मुख्यमन्त्री राउतले श्यया बढाउन आग्रहसमेत गरे ।

प्रदेश सरकारले मणिपालको खाली भवनमा निर्माण भइरहेको अस्थायी कोभिड अस्पतालको समेत मुख्यमन्त्री राउतसहितको टोलीले निरीक्षण गरेको छ । युद्धस्तरमा निर्माणाधीन उक्त अस्पतालको काम समयमै सक्न उनले निर्देशनसमेत दिए । निरीक्षणका क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सिनियर डिभिजनल इन्जिनियर भगवान् झाले यही जेठ १५ गते अगावै अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरिने प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप