बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

रोल्पामा लागुऔषधको ओसारपसारमा महिलाको प्रयोग बढ्दो

आइतबार, ०२ जेठ २०७८, १६ : ३४
आइतबार, ०२ जेठ २०७८

–उमा केसी
 जघन्य र संगठित अपराध मानिने लागुऔषध (अफिम) ओसारपसारमा पछिल्लो समयमा रोल्पामा महिलाहरुको प्रयोग बढेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले चालु आर्थिक वर्षको वैशाख १२ गतेसम्म गरेको ‘अफिम अप्रेशन’ मा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पाँच महिला पक्राउ परेसँगै यो तथ्य बाहिर आएको हो । यस अवधिमा लागुऔषध ओसारपसारका चार घटनामा पक्राउ परेका १० मध्ये छ महिला नै थिए ।

प्रहरीले २०७७ साल असोज ५ गते रोल्पा थवाङ गाउँपालिका–२ छेर्लोवाङबाट सोही गाउँपालिका–२ ठूलोगाउँकी ४५ वर्षीया मुली झाँक्रीमगर र ३५ वर्षीया विनज्योति रोकामगरलाई पक्राउ गर्यो । चेकजाँचका क्रममा मुली झाँक्रीमगरले बोकेको झोलाबाट चार किलो ९३५ ग्राम र रोकामगरको साथबाट चार किलो ८८५ ग्राम अफिम बरामद गर्यो । पक्राउ परेका उनीहरु २०७७ मङ्सिर १४ को रोल्पा जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान भए ।  

विसं २०७७ असोज १७ गते रोल्पा सुनिलस्मृती गाउँपालिका वडा नं २ खुग्रीस्थित प्रहरी चौकीले दाङ जाँदै गरेको एक स्कार्पियो गाडीको जाँच गर्ने क्रममा लागुऔषध (अफिम) फेला पार्यो । वा १५ च ३७७६ नम्वरको गाडीको डिक्कीमा लुकाइएको अवस्थामा चार किलो ३०० ग्राम कालो रङ्को लागुऔषध फेला पारेको हो । सो गाडीमा सवार दाङ गढवा गाउँपालिका वडा नं ६ बस्ने ३० वर्षीया निसा पुन र घोराही उपमहानगरपालिका ६ हापुर वस्ने ४५ वर्षीया दिलप्रभा वुढामगरको मिलोमतोमा सो पदार्थ ल्याइएको प्रहरी अनुसन्धानबाट खुल्यो । 

सोही गाडीमा सवार रुकुमपूर्व भूमे गाउँपालिका वडा नं. ६ की ३७ वर्षीया ज्योती घर्तीमगर पनि सोही घटनामा पक्राउ परिन् । रोल्पा जिल्ला अदालतमा पेश गरेको सो मद्दामा  विसं २०७७ मङ्सिर २४ मा भएको अदालतको आदेशमा दिलप्रभा रु १ लाख ५० हजार धरौटीमा छुटे पनि निसा र ज्योती  पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

विसं २०७८ वैशाख १२ गते रोल्पा त्रिवेणी गाउँपालिका– ७ भित्रिखोलाका ४० वर्षीय रतन बुढाको तीन रोपनी जग्गामा लगाएको अफिम खेती प्रहरी चौकी जुँगारबाट खटिई गएको प्रहरी टोलीले नष्ट गर्यो । उक्त खेतीमा संलग्न रहेको आरोपमा सोही ठाउँका ३५ वर्षीया मनकुमारी वुढा पक्राउ परिन् । वुढाकोे मुद्दा जारी रहेको प्रहरीको भनाई छ ।

“महिलाले अरुको विश्वास छिट्टै गर्ने गरेका कारण पनि यस्ता अपराधमा उनीहरुको संलग्नता रहेको देखिन्छ र उनीहरु समातिएका पनि छन्” जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले भने । “लागुऔषध संगठित अपराध भएकाले यसमा धेरै जनाको संलग्नता हुन्छ र त्यसमा बढी मात्रामा महिला प्रयोग गरेको पाइएको छ” सुवेदीले भने । “यस्तो अपराधमा अहिलेको युवा समूह नै संलग्न हुँदा भावि पुस्तालाई पनि हत्या, हिंसा जस्ता अपराधमा प्रोत्साहित गर्नसक्ने खतरा रहेको छ” सुवेदीले भने । नेपालको सामाजिक सुरक्षाका दृष्टिकोणले यो पक्षलाई दुःखद रुपमा लिनुपर्ने पनि उनले बताए ।

प्रहरीका अनुसार रोल्पाबाट वसाइँसराईं गरी दाङ, नेपालगञ्ज, बुटवल जस्ता शहरी क्षेत्रमा वसोवास गरेकाहरुले समेत संलग्न भई उत्पादन र ओसारपसारको काम भइरहेको छ । रोल्पाको भूगोल, रहनसहन तथा चालचलन थाहा पाएका उनीहरु आएर ग्रामीण क्षेत्रका सोझा महिलाहरु प्रयोग गरेको प्रहरीको दावि छ । “गरिब तथा विपन्न परिवारलाई छोटो समयमा धनी बन्न सकिने लोभलालचामा फसाएर यस्तो अपराधमा संलग्न गराएको देखिन्छ” प्रहरी नायव उपरीक्षक सुवेदीले भने ।

कानुन  सबैले जानेका हुन्छन् भन्ने मान्यता रहेपनि लागुऔषधको बारेमा ग्रामीण भेगमा चेतना पाईंदैन अधिवक्ता श्रीमन पोख्रेलको भनाई छ । “लागुऔषधको उत्पादन,  ओसारपसार र  बिक्री वितरणको पनि कसुर र संवेदनशीलताअनुसार फरक फरक भएपनि त्यसको जानकारी नहुदा निर्दोषहरु पनि फसेको देखिन्छ” पोख्रेलले भने । मलाई थाहा थिएन, झोला त्यहाँसम्म पुर्याइदेउ भनेर यस्तो काम गरेका हुँ भन्नेजस्तो बयान उनीहरुले दिने गरेका पनि अधिवक्ता पोख्रेलले जानकारी दिए ।

त्यस्तै काममा लागेका टाँठोबाठो मान्छेले सोझा र इमान्दार महिलाहरुलाई भरियाको रुपमा प्रयोग गर्ने गरेको पाइएको छ । कानुन जानेको थिएन भनेर अपराध छुट नहुने उनको भनाई छ । त्यसैले पनि यस्ता विषयमा गाउँगाउँमा सचेतनामूलक कार्यक्रमहरु जरुरी देखिएको पोख्रेलको अनुभव छ । 
महिलाहरुले ओसारपसार गर्दा प्रहरीले निगरानी र चेकजाँच गर्दैन भन्ने गलत मान्यताका कारण पनि महिलाहरु बढी मात्रामा प्रयोग भएका हुनसक्ने महिला अधिकारकर्मी श्रीकुमारी  रोकाको वुझाई छ । कतिपय गाउँमा लागुऔषध खरिदको काम पनि महिलाले गरेको देखिएको र उनीहरु नै आफुले खरिद गरेको लागुऔषध ठूला व्यापारी भएको ठाउँसम्म पुर्याउने जिम्मा लिएका हुन्छन् । 

“ओसारपसारको क्रममा ठूला व्यापारी सम्म नपुग्दै उनीहरु बाटैमा पक्राउ  परेको देखिन्छ” रोकामगरले भनिन् । “कपितय महिलाहरु कानुन थाहा पाउदा पाउदै अनि कति त पैसाको लोभले पनि संलग्न भएको देखिन्छ” रोकामगरले भनिन् ।

नेपालको कानूनले उत्पादन,ओसारपसार र बिक्री वितरणमा प्रतिबन्ध लगाए पनि लुकीछिपी  उत्पादन र ओसारपसारमा संलग्न भएका उनीहरुलाई पक्राउगरी कानुनी कारवाही गरिएको प्रहरी दावि छ । “अन्य लागुऔषधको  तुलनामा हेरोइनको उत्पादन, ओसारपसार र बिक्री वितरणलाई गम्भीर मानिन्छ” जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोषकुमार केसीले भने । रोल्पा, रुकुम पश्चिम, रुकुमपूर्व तथा बागलुङ जिल्लामा यसको खेती बढी मात्रामा हुने गरेको प्रहरीको भनाई छ । यी जिल्लामा उत्पादन हुने लागुऔषध रोल्पाको सुलिचौर र घर्तीगाँउ नाका हुदै ओसारपसार गर्ने गरेको पाइएको केसीको भनाई छ ।

“कतिपयलाई आफुले उत्पादन गरेको वस्तु हिरोइन हो भन्ने थाहा नभएको पाइयो” केसीले भने । अरु नै प्रजातीको बीऊ भन्दै लागुऔषधका सङ्कलकहरुले हेरोइनको बीऊ दिएर उत्पादन गराएको समेत अनुसन्धानका क्रममा भेटिएको प्रहरी निरीक्षक केसीको भनाई छ ।

अफिम विरुद्ध अप्रेशन नै चलाएको रोल्पा प्रहरीले चालू आर्थिक वर्षमा रोल्पाका विभिन्न भागमा अफिमको खेती नष्ट गरेको छ । अफिम खेती भइरहेको स्थानीय नागरिकको सूचनाका आधारमा प्रहरीले जिल्लामा ठूलो क्षेत्रफलमा लगाएको खेती नष्ट गरी उत्पादनमा संलग्नहरूलाई सचेत गराउने काम गरेको थियो । यस्तो खेती निजी जग्गा, ऐलानी तथा जंगलको बीच भागमा पनि हुने गरेको प्रहरीको भनाई छ । ऐलानी जग्गा तथा जंगल बीचमा सो खेती  कसले गरेको भन्ने प्रहरीलाई बुझ्न समस्या परेको देखियो ।

इलाका प्रहरी कार्यालय थवाङको टोलीले विसं २०७७ चैतमा थवाङ गाउँपालिका– १ याङचवाङमा ऐलानी दुई कठ्ठामा लगाइएको अफिम खेती नष्ट गरेको थियो । सोही प्रहरी टोलीले विसं २०७७ चैत १० मा थवाङ गाउँपालिका वडा नंं १ थाङ्चिनस्थित जंगलको बीचभागमा अन्दाजी तीन कठ्ठा ऐलानी जग्गामा लगाएको अफिम खेती पनि नष्ट गर्यो । त्यस्तै २०७८ वैशाख १२ मा थवाङ गाउँपालिका वडा नं। २ सिस्याखानाको जंगलमा अन्दाजी दुई कठ्ठा जग्गामा लगाई राखेको अफिम खेती नष्ट गर्यो । तीनै स्थानमा लगाएको सो खेती कसले गरेको भन्ने खुल्न नआएको प्रहरीको भनाइ छ । 

लागुऔषध जस्तो संगठित र जघन्य अपराध नियन्त्रणका लागि ओसारपसारमा भन्दा उत्पादन हुन नदिने तर्फ भूमिका बढाउनुपर्ने प्रहरीको बुझाइ छ । सङ्गठित अपराधको जालो धेरै ठूलो हुने भएकाले यसको नियन्त्रणका लागि नागरिकको साथ सहयोग जरुरी रहने प्रहरीको धारणा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप