मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

एमालेका प्रेमिल गुट : रतिक्रीडाको उत्सर्गमा

आइतबार, ०२ जेठ २०७८, १४ : ०७
आइतबार, ०२ जेठ २०७८

हिजोसम्म एमालेको एउटा गुटसँग लहसिएकाहरू या अस्तिका दिनसम्म अर्को गुटको पुच्छर समाएर वैतरणी तरेका रैतीहरू यति छिट्टै यति धेरै असल र यिनीहरू मात्र यति धेरै खराब हुन एकैचोटि कसरी सम्भव भएछ ? अलि हजम हुन सकेको थिएन ।

अहिले यी प्रेमिल गुटहरूको संसदीय रतिक्रीडाको उत्सर्ग देखियो । यो त अझै एक महिना जारी रहन्छ रे । भाइरस कोरोना र राजनीतिको यो महाकोरोनाको साइनो के छ होला ? जिज्ञासावश एकनजा चिनेजानेका डाक्टरलाई सोधेको थिएँ । यसबारेमा आधुनिक चिकित्साविज्ञानले आधिकारिक अनुसन्धान र निष्कर्ष निकालेको त थाहा भएन तर मानव तथा समाजशास्त्र विज्ञानमा भने यसका धेरै व्याख्या र विश्लेषण भएका छन्  ।

हुन त यो महाकोरोना एमालेमा मात्र लागेको छैन । यो समग्र नेपाली राजनीतिको तीतो यथार्थ हो । राजनीतिमा लागेका सबै अन्ध रैती कार्यकर्ता जहिलेसम्म फेरिँदैनन् यो देशको राजनीति फेरिँदैन । अहिलेसम्म यिनको विवेक हैन रजौटा प्रतिको रैतिभाव मात्र बोल्छ ।

नेपाली कम्युनिस्टको एकता नामको हात्तीको दाँत देखाएर प्रधानमन्त्री चपाउन गरिएको चटके खेलबाट सुरु भएको यो यात्रा यो रासलीलासम्म पुगेको हो । यी चटकेले गरेको मन्त्रणामा अर्काे रतिलिप्साको र्‍यालसँगै यो रसलीला पटाक्षेप हुँदै गयो । लहरो तान्दा पहरो गर्जेझैँ यसले तथाकथित दुई तिहाइ, संविधानवाद, समाजवाद उन्मुख समाज र आफैले भनेको समृद्ध नेपाल र सुखी नेपालीको सपनाबाट सबैलाई बिउँझाइदियो ।

सँगै चलाउने भनेको नेकपाको जेट धावनमार्गमै छोडेर नियतपूर्वक सेटिङ गरेर आफ्नो बयलगाडा चलाउन पुगेका नेकपाका पाइलटले यसको चालकमा त के खलासीमा पनि आफ्ना गुटका प्युसाबाहेक बसैलाई ढिम्किन दिने कुरा भएन । यसैको परिणाम थियो यो कोरोना कालभरि भएको महाकोरोनाको ताण्डव नृत्य । बाँस काट्ने हो भने पहिला यसका हाँगा छिमल्न पर्छ भन्ने कुरामा विश्वस गर्ने एउटा गुटका एकल महारथीको सत्ता उन्माद र कुण्ठाको बीउ बुझ्न सजिलै सकिन्छ ।

उनको बयलगाडा धकेले बापत सत्ताको रसास्वादन गर्न पल्केका भान्सेहरूले निरोको महाभोजको पाहुनाजस्तो मस्त भोज खाँदै डकार्नु र डुक्रिनु स्वाभाविक थियो । त्यसैमा मिसिन आएका छिमेकी भाते आफ्नो सीमामा प्रवेश गर्नेप्रति ङारङुर नगरी बस्ने त कुरै भएन । यसैमा अल्झेको एकता वार्ता अर्को  गुटको राजीनामासँगै सत्ताबाट बहिर्गमनको भयङ्कर सपनाबाट झल्यास भयो

फेरि वार्ताको मञ्चन सुरु

भारतीय व्यङ्ग्य कवि सरल सम्पतले भारत–पाक वार्ताका बारेमा गरेको व्यङ्ग्यजस्तै वार्ताका लागि वार्ता र वार्ताका लागि मात्र वार्ता गर्ने क्रम अब एक महिनामा वार्ता गरेर टुङ्गो लगाउने गरी सौहार्द वार्तामा सकिएको कुरा सबैसँग वार्तालाप गरेर भनिएको छ । जुम्ल्याहा एमालेको भविष्यको नियति र नियत थाहा पाउन कोरोनाले कति हताहत भए र भोकभोकै बस्न को बाध्य भए भन्ने समाचार हेर्दै अरू  एक महिना नजरबन्दमै बसेर पर्खे हुन्छ ।

अहिले यी गुट अमिर खुसरोको सुहागकी रात बितायो पिया के संग, तन मेरा मन पिया कि दोनो एक हि रंग, एक ही संग को धुनमा रमाउँदै मधुमासको बेला पर्खेर बसेको प्रेमिल जोडी सिद्ध भएका छन् । तर यो सबै देखेर अरूको त कुरै छोडौ चर्पी जान त अरूले देखे के भन्लान् ? भनेर जङ्गल जाने शङ्कर नेपालीहरूसमेत सरमले भुतुक्क भएका छन् ।

यिनको नौटङ्कीले निकट भविष्य केही केही समय कष्टकर त हुन्छ तर यसले नै हाम्रो ढोकासमेत खुल्न सुरु हुन्छ । थप समय किन लाग्छ भने असक्षम शेरबहादुर फेरि सक्षम भएको जाँच्न अरू समय लाग्छ । किनकि हामी सबै  प्रोन भिडियो हेर्न पल्केको मानिस जस्तै राजनीतिका अम्मली रैती जो भएका छौं ।

सामान्यतया बोटबिरुवामा कुहिने रोग जरा वा फेदबाट सुरु हुन्छ र सुक्ने रोग टुप्पाबाट तर अहिलेको जस्तो सत्ता राजनीतिमा यो ठीक उल्टो हुने गर्छ । यसमा कुहिने रोग टुप्पा र सुक्ने रोग जराबाट सुरु हुन्छ । नेपालका सबै पार्टीमा यो रोग फैलिएको छ । विगत तीन दशकमा सत्ता राजनीतिमा जे रासलीला  देखियो । यो त्यसैको उत्कर्ष थियो । राजनीति थिएन, लाजनीति थियो । यसबाट एमाले अछुतो हुने कुरै छैन ।

यो अवधिमा नेता र उपल्लो तहका रैतीले गरेका सबै कुकर्मको हेक्का इतिहासले राख्ने नै छ । यदि कोरोना आँखाबाट सर्ने भएको भए अहिले हामी सबै आँखामा पट्टी बाँधेर हिँडेका हुने थियौँ । कम्तीमा यी नेता नामका रजौटाले फालेको लाजनीतिको लगौटी हेर्न पर्ने थिएन । यिनले लगौटी फालेर देखाएको लाजनीतिको दुर्दशाबारे सामाजिक सञ्जालमा अनेकौँ टिप्पणी देखियो । कतिसम्म भने बालुवाटारमा घडेरी दिएर भए पनि फकाउनु पर्छ रे । यसले लाजनीतिको पराकाष्टा देखाउँछ ।

पूर्खाले अपनाउँदै आएको लोकतन्त्रको मर्म गोरु जुधाउने बेत्रावतीका किसानबाट मात्र सिकेको भए पनि खुइते, तिखे, पेन्टे, तारे सबैका हुक्का गर्दै भित्तामा उधिनेकै भरमा सिङ फुक्लिएको देखाउँदै आफ्नै कार्यकर्तालाई कमिजको बाउलाले आँखा छेप्न पर्ने बनाउन त पर्थेन ।  हुन त ठालु नेताले लगौटी फालेर देखाएको जात्रा हेर्न नसकेर कमेजका बाउलाले आँखा छोप्ने नेकपाका नेता कार्यकर्तालाई अब केही राहत मिल्यो होला ।

संसारका सबैभन्दा खतरनाक मानिस ती हुन् जसले अरूका लागि सबैभन्दा ठीक के हो भनेर आफूले मात्र जानेको विश्वास गर्छन् । राम मन्दिर बनाउँछन् र आफूलाई राम बनाए रामराज्य दिने सपना देखाउँछन् । सबैभन्दा निरिह ती हुन् जसले यो कुरा पत्याएर रैती बन्न तमतयार हुन्छन् ।

नेपालमा समाजवादको व्यावहारिक प्रयोगका केही राम्रा नराम्रा अनुभवको बीउ छन् । यिनलाई उन्नत बनाउन मात्र जोगाउने हो । अब यी फसल काटेर आउने बीउ छरेर उम्रिँदैन । किनकि यसमा उपनिवेश परस्त राष्ट्रवादी कम्युनिस्ट नामको रजौटा र रैती नामको विष परेको छ ।

नेपाली समाजको एमालेकरण जनताको जनवादको फरिया लगाएको समाजवाद यही ऐँजेरु बीउजस्तै भएको छ । अन्नतः एमाले भारदारी कम्युनिस्टको पुरातनी विरासतमा बिसर्जन भएको छ । यसको विभाजन कुण्ठा र दम्भको तुष्टीकरणको पुष्टि थियो । आखिर त्यो पनि अहिले तुहिने आशङ्कामा छ । अहिलेसम्मको यिनका गालीगलौज र पाखण्डीपन अरूले खोज्दै कुरा काट्नै परेन । सामाजिक सञ्जालका भित्ता तिनैका गालीगलौजले भरिएका छन् । अब यो भन्नेलाई डन्डा लगाउने कानुन अध्यादेशबाट ल्याएमा अचम्म हुनेछैन । यसको रबर स्ट्याम्प त यिनैका खल्तीमा छँदैैछ ।

अरूलाई थाङ्ना खोज्दै सुत्न जाने भनेर खिसीट्युरी गर्नेहरू नै आज थाङ्ना बोकेर लम्पसार पर्न गएका छन् । भोलिदेखि राजनीति सम्भावनाको खेल हो भनेर यनैले चर्को भाषण गर्ने नै छन् । पर्ख र हेर भनेर बसेका शुभेच्छुकहरू ट्वाँ परेका छन् । यो सबै रजौटा र रैतीको खेल हेर्न हामी यिनका पनि रैती सबै सामाजिक संजाल खोलेर बसेकै छौँ ।

ओलीले गाम न देर ठाम खोज्न परेको हो अझै पनि गाम दे भने त ओलीसँगै बसिन्छ है भन्ने कथन पूरा भएको छ । यिनीहरू पनि राज्य नभई राम कसरी हुनु बिचरा । अनि रैतीलाई राम राज्य कहाँबाट ल्यएर टक्र्याउनु फेरि । त्यसैले त अहिले प्रतिगमनका पाइला चाल्ने नालायक अधिनायक होऊन् वा संस्थागत विधि विधानको बकबक एक महिने युद्ध विराममा परेको छ । इजराइल प्यालेस्टाइन जस्तै कतिबेला गोला बारुद सुरु हुन्छ केही ठेगान छैन ।

बाढी रोक्न बनाएको खोलाको बाँधजस्तै धैर्यताको पनि सीमा हुन्छ । थेग्न नसके सबै बगाएर लैजान्छ । यो अग्रगमनको यात्रा रोक्ने विवेकहीन ठालु नेता र तिनका रैतीलाई यो बुझाउने बेला भइसकेको छ ।  सँगै स्वार्थ बाझिएर टुक्रिएका र टुक्रिन तयार भएका पार्टीहरूलाई कुरीकुरी भन्दै हौसिने मात्रभन्दा यिनलाई जगैदेखि भत्काएर राजनीतिको नयाँ जग निर्माण गर्न खुट्टा टेकेर उभिने जोकोहीलाई सघाएर मात्र हाम्रो भविष्य राम्रो बनाउन सकिन्छ ।

कुण्ठा, अहङ्कार र मुकट्र्टा दृष्टिकोणको हावादारी लुगा लगाएका सहर घुम्ने नेतातन्त्रका रजौटा सत्तामा रहँदा २० र बाहिर हुँदा १९ मात्र हुन् । यिनका विवेकले अब नेपाल र नेपालीको भविष्य बन्दैन । तर यिनका रैतीभन्दा माथि उठेर फेरिन तम्सिएका राजनीतिका अनुभवी इमानदार कार्यकर्ता भने भूकम्पले भत्काएर रातो स्टिकर टासेको घरका इँटा, ढुङ्गा, डाडा भाटा, झ्याल, ढोका र चौखटजस्तै काम लाग्छन् तिनलाई समेल्दै गरौँ । किनकि अब सबैमिलेर नयाँ राजनीतिक संस्कृतिको घर बनाउनुको विकल्प छैन ।

अबको राजनीतिक यात्राले अहंकारी नेतृत्व, निकम्मा कर्मचारी तन्त्र र यीसँगको सहवासमा नेपाल र नेपालीलाई परनिर्भरताको साङ्लोमा बाँध्न सघाउने बिचौलियाको गठजोड बढार्ने हैसियत भएको सङ्क्रमणकालीन नेतृत्व जन्माउन सक्नुपर्छ । सचेतता र सावधानीपूर्वक यस्तो नेतृत्व र आन्दोलनको बलमा नयाँ घरको जग बनाउन नसक्ने हो नेपाली राजनीतिको सङ्क्रमणकालीन यात्रा अझै लामो मात्र हुनेछैन झनै कष्टकर समेत हुनेछ ।

सबैले याद गरौँ, गुटका गोटी फेरेर या यिनै निकम्मा पार्टी र नेतालाई पालैपालो सक्षम र असक्षमको बिल्ला भिराउँदै घुम्ने कुर्चीमा बस्न दिएर यो देशको मुहार कुनै हालतमा फेरिँदैन । यिनलाई पालो दिन कस्सिएका सबैलाई धैर्यसाथ साथ दिन सके बेग्लै कुरा नत्र चिसो पानीले नुहाउनुको विकल्प छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णप्रसाद पौडेल
कृष्णप्रसाद पौडेल
लेखकबाट थप