शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खाडीका श्रमिकले पठाएको ५६० वटा सिलिन्डिर एनआरएनले लगायो मन्त्रीको जिम्मा

आइतबार, ०२ जेठ २०७८, १३ : ०८
आइतबार, ०२ जेठ २०७८

काठमाडौं । खाडी मुलुकमा कार्यरत श्रमिकले पठाएको ५६६ वटा अक्सिजन सिलिन्डर गैरआवासीय नेपाली संघ (एनआरएनए)ले  सरकारलाई हस्तान्तरण गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहका बीच एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले मन्त्री हृदयेश त्रिपाठीलाई सो अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन् ।  

सो सिलिन्डरहरू सुदूरपश्चिममा  १००, कर्णालीमा १००, लुम्बिनीमा २००, प्रदेश २ मा  ८५ र गण्डकी प्रदेशमा ७५ वटा वितरण गरिने अध्यक्ष पन्तले रातोपाटीलाई जानकारी दिए ।  नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत थप सहायता पनि आउने बताइएको छ । एनआरएनएले ६७० वटा अक्सिजन कन्सन्ट्रेटर समेत तत्कालै उपलब्ध गराउने बताइएको छ । 

नेपालमा अक्सिजनको चरम अभाव भएको खबरपछि खाडीमा सहयोग संकलन गरेर अक्सिजन सिलिन्डर खरिद गरिएको थियो भने शनिबार नेपाल एयरलाइन्सको जहाजमा  स्वदेश ल्याइएको थियो ।  गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट ओमानबाट ५ सय ६० सिलिन्डर अक्सिजन नेपाल ल्याइएको हो ।

उनका अनुसार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूतावास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर ७५ लाख रुपैया बराबरको रहेको छ ।

ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको थियो ।  मध्यपूर्वदेखि अक्सिजन सिलिन्डर नेपाल ल्याउने अभियानमा विशेष पहलकदमी  ओमानका लागि नेपाली राजदूत  शर्मिला पराजुली ढकालले लिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप