शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बढ्दैछ कोरोनाबाट संक्रमितको मृत्युदर, संक्रमण दर पनि घटेन

यस्तो छ संक्रमण र मृत्युको ३२ दिनको ग्राफ
आइतबार, ०२ जेठ २०७८, १२ : ११
आइतबार, ०२ जेठ २०७८


 

जेठ २ गते बिहान ८ बजेको स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्ने हो भने हालसम्म नेपालमा ४ लाख ४७ हजार ७०४ जनालाई कोरोना संक्रमण भएको छ । जसमध्ये ४ हजार ८५६ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमित र कुल मृत्यु भएकाहरुको तथ्यांक मापन गर्दा यो १.०८४ प्रतिशत हो ।

यो त नेपालमा पहिलोपटक कोरोना देखिएदेखि हालसम्मको तथ्यांक हो, त्यो पनि सरकारी तथ्यांकमा मात्रै दर्ज भएको । पहिलो लहरमा कोरोना संक्रमणको दर कम भएको र अस्पतालहरुमा भेन्टिलेटर र आइसियुको पर्याप्त उपलब्धता हुँदाको समय थियो ।

तर, जब नयाँ भेरियन्ट नेपालमा आइपुग्यो, त्यसपछि भने संक्रमण दर सँगै संक्रमितहरुको मृत्यु हने दर पनि बढिरहेको छ ।

भारतमा संक्रमणको दर बढ्न थालेसँगै नेपालमा पनि बिस्तारै बढ्न थालेको थियो । गत वैशाख १ गते ४ हजार ७४० जनाको कोभिड परीक्षण गराउँदा ६०३ जनालाई संक्रमण देखिएको थियो, जुन कुल परीक्षण भएकाहरु मध्ये १२.७२ प्रतिशत संक्रमित बनेका थिए ।

त्यसको भोलिपल्ट अर्थात् वैशाख २ गते संक्रमितको दर केही बढ्यो । वैशाख २ गते ४ हजार १५२ जनाको कोभिड परीक्षण गरिएकामा ५३४ जना संक्रमित बनेका थिए । जुन कुल परीक्षणको १२.८६ प्रतिशत हो ।  

त्यसपछिका प्रत्येक दिनहरुमा संक्रमण दर पनि बढ्न थाल्यो । सरकारले लकडाउनको घोषण गर्नुभन्दा अघिल्लो दिन अर्थात् वैशाख १५ गते १४ हजार ८३४ जनाको कोभिड परीक्षण गरिएकामा ४ हजार ८९७ जना संक्रमित बने, जुन कुल परीक्षण गरिएकामध्ये ३३ प्रतिशतमा संक्रमण देखिएको थियो ।

तर, लकडाउन सुरु भएपछिको संक्रमितको ग्राफ हेर्ने हो भने अत्यासलाग्दो अवस्थामा पुगेको छ । लकडाउन सुरु भएको १२ औँ दिन अर्थात् वैशाख २७ गतेको तथ्यांक हेर्ने हो परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीलाई कोरोना संक्रमण भएको देखिन्छ । वैशाख २७ गते १८ हजार ४११ जनाको कोभिड परीक्षण गरिएकामा ९ हजार २७१ जनामा कोभिड संक्रमण देखियो, जुन कुल परीक्षण गरिएकामध्ये ५०.३५ प्रतिशत हुन आउँछ ।

यी त सबै कोभिडको लक्षण देखिएकाहरू अस्पताल पुगेर परीक्षण गराएकाहरुको तथ्यांक हो । सामान्य लक्षण देखिएर जचाउनै नगएका वा संक्रमित भएर पनि वेवास्ता गरेकाहरूको तथ्यांक यो भन्दा ब्यापक छ ।

शनिवार अर्थात् जेठ १ गते पनि संक्रमण दरमा खासै कमी आएको छैन । शनिवार १८ हजार ५४८ जनाको कोभिड परीक्षण गरिएकामा ८ हजार १६७ जना संक्रमित बनेका छन्, जुन कुल परीक्षणको ४४ प्रतिशतभन्दा माथि हो ।

पछिल्लो १ महिना अर्थात् वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्मको तथ्यांक हेर्ने हो भने पनि कुल २ लाख ९८ हजार १६ जनाको कोभिड परीक्षण गरिएकामा १ लाख २८ हजार ४७८ जनामा संक्रमण देखिएको छ, जुन कुल परीक्षणमध्ये ४३.११ प्रतिशत हो ।

मृत्युदर पनि बढ्यो

कोरोनाको दोस्रो लहरमा संक्रमण दरमात्रै उच्च छैन, मानिसहरुको मृत्युदर पनि उत्तिकै बढिरहेको छ । भारतको संक्रमण र मृत्युदर बढ्न थालेको मध्य अप्रिलबाट हो । अर्थात् नेपालमा वैशाख महिनादेखि संक्रमण दरमा केही वृद्धि हुन थालेको थियो । तर, सरकारले समयमै पूर्व तयारी नगर्दा र सुरक्षा उपाय नअपनाउँदा अहिले भारतमा भन्दा तीब्र गतिमा नेपालमा संक्रमण फैलिइरहेको छ र मानिसहरुको मृत्यु पनि त्यही अनुपातमा भइरहेको छ । भारतमा हालसम्म २ करोड ४६ लाख ८३ हजार ६५ जना संक्रमित हुँदा २ लाख ७० हजार ३१९ जनाले ज्यान गुमाएका छन्, जुन कुल संक्रमितमध्ये १.०९ प्रतिशत हो ।

तर, कोरोनाको पहिलो लहरजस्तो कम क्षति गर्ने प्रवृत्तिको छैन दोस्रो लहर । अहिले नेपालमा लकडाउन सुरु भएपछिको तथ्यांक हेर्ने हो भने १.२० प्रतिशत बिरामीको निधन भइसकेको छ । दोस्रो चरणको लकडाउनको सुरुवात अर्थात् वैशाख १६ गते पछाडि जेठ २ गतेसम्म कुल १ लाख ३६ हजार ६४५ जना कोरोनाबाट संक्रमित बनेकामा १ हजार ६४५ जनाले ज्यान गुमाएका छन्, जुन कुल संक्रमितमध्ये १.२० प्रतिशत हो ।

 

यसको अर्थ जब जब कोभिड संक्रमितहरुको सङ्ख्या बढ्न थाल्छ र अस्पतालहरुमा उपचार गर्ने अवस्था हुँदैन, तब बिरामीहरुको मृत्युदर बढिरहेको छ । अघिल्लो लकडाउनमा ०.७ प्रतिशतभन्दा तल नै मृत्युदर रहेको भन्दै नआत्तिन सरकारले आग्रह गरेको थियो । तर, पछिल्लो समय मृत्युदर १.२० पुग्दा सरकारले हात उठाउने काम मात्रै गरेको छ ।

यस्तो छ कोरोना संक्रमण र मृत्युको ३२ दिनको ग्राफ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप