मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

इजरायली हवाई आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु

शनिबार, ०१ जेठ २०७८, २२ : ३९
शनिबार, ०१ जेठ २०७८

गाजा सिटी । इजरायलले शनिबार प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश बालबालिका छन् ।  गाजामा सक्रिय हमासका लडाकूलाई लक्षित गरी इजरायलले यसै साताको शुरुदेखि हवाई तथा स्थल आक्रमण जारी राखेको छ । गाजामा इजरायल र हमास लडाकू बीचको युद्ध रोक्न र युद्धबिराम गराउन प्रयास जारी छन् । 

पछिल्लो पटकको हिंसा जेरुसेलमबाट शुरु भएको थियो र यो अहिले गाजा क्षेत्रका साथै इजरायली भूमिमा बसोबास गर्ने अरब समुदायसम्म फैलिएको छ । अरब र यहुदी समुदायबीच पनि इजरायलभित्रै हिंसात्मक झडपहरु जारी छन् । 

शुक्रबार इजरायल अधिनस्थ पश्चिमी किनारामा पनि प्यालेस्टिनी समुदायले इजरायल विरोधी प्रदर्शन गरेका थिए । त्यहाँ पनि इजरायली सेनाले गरेको कारबाहीमा ११ जना सर्वसाधारणको गोली लागेर मृत्यु भएको थियो ।  हिंसात्मक कारबाही तिब्र भएसँगै नयाँ प्यालेस्टिनी “इन्तिफादा” अर्थात विद्रोह हुने सम्भावना बढाएको छ ।

केही वर्षदेखि प्यालेस्टिनी समस्याको समाधानका लागि ठोस पहल र शान्तिवार्ता हुन सकेका छैनन् ।  सन् १९४८ मा इजरायल स्थापना हुने क्रममा झण्डै सात लाख प्यालेस्टिनी विस्थापित भएको दिनको सम्झना पनि यही शनिबार परेको छ । यसदिन अझ बढी हिंसा हुने सम्भावना छ । 

तनाव मत्थर पार्ने प्रयासस्वरुप अमेरिकी कुटनीतिज्ञ हाडी अम्र ह्वाइट हाउसको प्रतिनिधित्व गर्दै शुक्रबार नै इजरायल आइपुगेका छन् । इजरायल–प्यालेस्टिनका विषयमा छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक आइतबार बस्दैछ । यसैबीच, इजिप्टको एक वर्षसम्म शान्ति कायम राख्ने प्रस्तावलाई हमासले स्वीकार गरे पनि इजरायलले अस्वीकार गरेको छ । 

सोमबार रातिदेखि यता हमासले इजरायली भूमितर्फ सयौं क्षेप्यास्त्र प्रहार गरेको छ । बदलामा इजरायलले गाजापट्टीमा गरेको भिषण सैन्य कारबाहीमा कम्तीमा १२६ जनाको मृत्यु भइसकेको छ, जसमा ३१ जना बालबालिका र २० जना महिला रहेका छन् । उता इजरायलतर्फ भने ६ वर्षीय एक बालक र एक सैनिक समेत सात जनाको ज्यान गएको छ । 

गाजाबाट इजरायलतर्फ क्षेप्यास्त्र प्रहार र इजरायली हवाई हमला शनिबार बिहानैदेखि जारी छ । एउटा हवाई हमलामा गाजाको एक तीनतले घर भत्किएको र त्यहाँ रहेका आठ बालबालिका र दुई महिलाको मृत्यु भएको रेडक्रसले जनाएको छ । 

मोहम्मद अबु हताबले संवाददाताहरुलाई भन्नुभयो, इद मनाउन आफन्तकोमा गएकी पत्नी र छ देखि १४ वर्ष उमेरका तीन बालबच्चाको मृत्यु भयो । ११ वर्षको एउटा बच्चा हराइरहेको छ । एउटा पाँच महिनाको छोरा ओमार मात्र बाँचेको छ । 

इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कोनरिकसले हमास लक्षित आक्रमण गर्दा ठूलो क्षति नहोस् भनेर इजरायली सेनाले सचेतता अपनाएको दाबी गर्नु भएको छ । तर सेनाले हवाई कारबाही गर्नुअघि सर्वसाधारणलाई आफ्ना स्थान छाड्ने संकेत गर्दै साइरन नबजाइएको स्थानीयको भनाई छ । 

हमास र इस्लामिक जिहाद समूहले आफ्ना २० जना लडाकू मारिएको बताएको छ । तर इजरायली सेनाले त्योभन्दा ठूलो संख्यामा लडाकूहरु मारिएको दाबी गरेको छ । –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप