मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

होम आइसोलेशनमा बस्नेबाट समुदायमा संक्रमण फैलिन सक्नेतर्फ सचेत हुनुपर्छ : प्रधानमन्त्री

शनिबार, ०१ जेठ २०७८, २१ : ५७
शनिबार, ०१ जेठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित होम आइसोलेशनमा बस्दा समुदायमा संक्रमण फैलिएको हुन सक्नेसक्ने तर्फ सरकार सचेत रहेको बताएका छन् । उनले होम आइसोलेशनमा बसेका संक्रमितले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा  उनले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालनामा सबैले ध्यान दिनुपर्नेमा समेत जोड दिए । 

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले करीब ९२ प्रतिशत संक्रमित होम आइसोलेशनमा छन् ।

ओलीले कोरोना महामारी  नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने पनि बताएका छन्।
 
“हामी कोरोना सामना गर्न सक्षम छौँ, सरकारले थुप्रै विषय कार्यान्वयन गरेको छ, नियन्त्रणका उपाय गर्न तयार र उत्सुक छ, आगामी दिनमा पनि निरन्तर हुन्छ”, उनले भने, “सरकारका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैरसरकारी संस्था, गैरआवासीय नेपाली सबैका आआफ्ना ठाउँबाट संगठित प्रयासको खाँचो छ ।”
 

अक्सिजनको आपूर्ति तथा उपकरणको उपलब्धतामा सबैको जोड हुनुपर्ने बताउँदै उनले अक्सिजन, औषधिलगायत अत्यावश्यक सामग्रीको जोहो गर्न सरकार गम्भीर भएर लाग्ने दृढता व्यक्त गरे । कोरोना नियन्त्रणका लागि सञ्चालनमा ल्याइएका हटलाइन नम्बरमा फोन नउठ्ने गुनासा बाहिर आएकाले  समस्या समाधान तत्काल गर्न आवश्यक जनशक्तिको व्यवस्था गर्न उनले निर्देशन दिए।

 
कोरोना संक्रमण बढिरहेका बेला जनतालाई अत्यास लाग्ने अभिव्यक्ति कोही कसैले पनि दिन नहुनेमा जोड दिँदै उनले  नागरिकको उपचार सरकारले गर्ने बताए । 
 
कोरोना नियन्त्रण गर्न सरकारले केही गरेर भनेर भन्नु मूर्खता भएको टिप्पणी गर्दै उनले एउटा पनि कोरोना परीक्षण गर्ने प्रयोगशाला नभएको मुलुकमा अहिले ८० भन्दा बढी प्रयोगशाला स्थापना भएको बताए । 
 छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री, सुरक्षा निकायका प्रमुख, विशेषज्ञ चिकित्सक, निजी क्षेत्रका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप