मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौं रेजर्स बन्यो नेपाल सुपर लिगको च्याम्पियन

शनिबार, ०१ जेठ २०७८, २१ : १३
शनिबार, ०१ जेठ २०७८

काठमाडौं रेजर्स फुटबल क्लब पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको च्याम्पियन भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा काठमाडौं रेजर्सले धनगढी फुटबल क्लबलाई १–० ले स्तब्ध बनाउँदै उपाधि उचाल्न सफल भएको हो । लिग चरण र पहिलो क्वालिफायरमा पराजय भोगेको काठमाडौंले हारको बदला लिँदै उपाधि उचाल्न सफल भएको हो ।

निकै रोमाञ्चक बनेको खेलमा शनिबार धनगढी एफसीलाई १–० ले पराजित गर्न विदेशी खेलाडी मेसौके ओलोमोउकोले गरेको गोल  निर्णायक रह्यो । मेसौकेले खेलको २२ औं मिनेटमा गरेका थिए । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल राईको खुट्टाबाट बल खोस्दै अगाडी बढाएर उपलब्ध गराएको पासमा मेसौकेले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यससँगै मेसौकेले सम्पन्न लिगमा आफ्नो आठौं गोल पूरा गरे । मेसौके प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बने ।

अग्रता बुने सँगै गोलका लागि अधिक अवसर खोजेका दुबै टोलीले गोलको थुप्रै अवसर पाएका थिए । तर, गोल गर्न दुबै टोली चुकेका थिए । २९ औं मिनेटमा धनगढीका दिनेश राजवंशीले मेसौकेलाई फाउल गरेपछि काठमाडौंले करिब २५ यार्डबाट फ्रिकिक पाएको थियो । उक्त फ्रिकिकमा स्टेफेन बिनोङको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । ३९ औं मिनेटमा धनगढीका बुद्ध बल तामाङको पासमा रुपेश केसीको प्रहारले दिशा लिन सकेन । ५३ औं मिनेटमा धनगढीका विशाल राईले गोलको अवसर खेर फाल्दा धनगढीको बराबरी अवसर गुमेको थियो । अनमार्क रहेका विशालको हेडर बलले पोस्टको दिशा लिन सकेको थिएन । खेलको ५५ औं मिनेटमा अशोक खवासको लामो प्रहार काठमाडौंका गोलकिपर विकेश कुथुले बल बाहिर फाल्दै गोल हुनबाट जोगाएका थिए । ६५ औं मिनेटमा स्टेफेन बिनोङको प्रहार धनगढीका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए ।

७४ औं मिनेटमा मेसोउकेले बक्स बाहिर पाएको फ्रि–किक प्रहार क्रस बारमा लाग्दै फर्किएको थियो । ८३ औं मिनेटमा करिब ३५ यार्ड बाहिरबाट धनगढीक पुजन उपरकोटीको प्रहार बारको केही माथिबाट बाहिरिँदा चुकचुकाएको थियो । खेलमा काठमाडौंका फ्लोरेन्ट कोरेया प्लेयर अफ दि म्याच चुनिएर नगद २५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका राजन गुरुङ चुनिए । उनले १० हजार प्राप्त गरे ।

रोमाञ्चक जित निकाल्दै उपाधि उचालेको काठमाडौंले नगद ३५ लाख रुपैयाँ प्राप्त ग¥यो । यस्तै उपविजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझाएको छ ।

समूह चरणमा काठमाडौं धनगढीसँग ३–० र पहिलो क्वालिफायरमा अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित भएको थियो । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको  लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको थियो ।  प्रतियोगितामा ललितपुर सिटी एफसीका कप्तान अन्जन विष्ट उत्कृष्ट फरवार्ड चुनिए । प्रतियोगिताको उत्कृष्ट डिफेन्डर धनगढीका दिनेश राजवंशी र उत्कृष्ट गोलकिपर धनगढीका किरण चेम्जोङ चुनिए । उत्कृष्ट प्रशिक्षक काठमाडौंका बाल गोपाल महर्जन घोषित भए । व्यक्तिगत विधामा उत्कृष्ट बनेका खेलाडी र प्रशिक्षकले जनही १÷१ लाख प्राप्त गरे । यस्तै प्रतियोगिताको इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट काठमाडौंका विश्वास श्रेष्ठ चुनिए । उनले ५० हजार प्राप्त गरे । फेयर प्ले टिमको अवार्ड बुटवल लुम्बिनी एफसीले हात पा¥यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप