शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ का मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको राजीनामा माग्दै विद्यार्थीद्वारा प्रदर्शन

शनिबार, ०१ जेठ २०७८, १७ : ३१
शनिबार, ०१ जेठ २०७८

 प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा विद्यार्थीहरुले मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवल किशोर साहको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।

कोरोना संक्रमण दर लगातार बढ्दै गएको अवस्थामा अस्पतालहरुलाई चुस्तदुरुस्त राख्न नसकेको भन्दै नेपाली काँग्रेस निकट विद्यार्थीहरुले मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको राजीनामा माग गर्दै शनिबार जनकपुरधाममा प्रदर्शन गरेका हुन् ।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले प्रादेशिक अस्पताल जनकपुरधाम अगाडि नारा जुलुससहित प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी विद्यार्थीले अस्पताल प्रशासन, मेडिकल सुपरिटेन्डेन्ट, सामाजिक विकास मन्त्री विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

विद्यार्थीहरुले निःशुल्क कोरोनाको उपचार गर, अक्सिजनको ग्यारेन्टी गर, मुख्यमन्त्री राजीनामा दे, सामाजिक विकास मन्त्री राजीनामा दे, मेसु राजीनामा दे लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रादेशिक अस्पताल जनकपुरधाममा मेसु डा.प्रमोदकुमार यादवको कार्यशैली चिकित्सकजस्तो नरहेको आरोप लगाउँदै विद्यार्थीहरुले अस्पताल प्रशासनलाई घचघच्याउनकै लागि प्रदर्शन गरिएको नेविसंघका केन्द्रीय सदस्य कपिलदेव यादवले बताए ।

उपचार अभावमा दिनदिनै संक्रमित बिरामीहरुले ज्यान गुमाइरहेको भन्दै नेविसंघका नेता सोनु निधिले मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, मेडिकल सुपरिटेन्डेन्टको राजीनामा माग गरे । उनले यहाँका चिकित्सकले संक्रमितका कुरुवालाई अक्सिजन र भेन्टिलेटर बाहिरबाट व्यवस्था गरेर ल्याएमा मात्रै उपचार गर्ने भन्दै अन्यथा बिरामीलाई लैजान दबाब दिइरहेको आरोपसमेत लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप