मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशको कोरोना कोषमा १३ करोड भए पनि अक्सिजन प्लान्ट निर्माणमा छैन चासो

शनिबार, ०१ जेठ २०७८, १७ : २२
शनिबार, ०१ जेठ २०७८

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालसहित बागमती प्रदेशका विभिन्न अस्पतालमा अक्सिजन अभावका कारण कोरोनाका बिरामीहरुको उपचारमा कठिनाई भइरहँदा समेत बागमती प्रदेश सरकारले त्यसको समाधानमा चासो देखाएको छैन ।

हेटौंडा अस्पतालसहित प्रदेशका विभिन्न अस्पतालले अक्सिजन अभावका कारण कोरोना संक्रमितहरुको उपचार गर्न समस्या भएको भन्दै नयाँ संक्रमितलाई भर्ना नलिने जनाइसकेका छन् ।

स्वास्थ्यकर्मीहरुले अक्सिजन प्लान्ट स्थापना गर्न माग गरिरहे पनि प्रदेश सरकार गम्भीर हुन सकेको छैन । अक्सिजन अभाव भएसँगै हेटौंडा अस्पतालले ११ जना संक्रमित बिरामीलाई अन्यत्र उपचारका लागि पठाएको छ । अस्पतालले चितवन, काठमाडौं र सिन्धुलीमा उपचारका लागि उनीहरुलाई पठाएको हो । हाल सो अस्पतालमा ४८ जना संक्रमित बिरामी उपचाररत छन् ।

बागमती प्रदेश सरकारले कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि गत आर्थिक वर्ष कोरोना विपद् कोष स्थापना गरी रकम संकलन गरेको थियो । उक्त कोषमा बागमती प्रदेश सरकार, प्रदेशका विभिन्न निकायका पदाधिकारी, कर्मचारी, जनप्रतिनिधि तथा विभिन्न बैंक तथा वित्तीय संस्थाले स्वेच्छाले रकम जम्मा गरेका थिए ।

खाता सञ्चालन गरेको केही अवधिमै उक्त कोषमा ४४ करोड ४३ लाखभन्दा बढी रकम जम्मा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडाले जनाएको छ ।

बागमती प्रदेश सरकारले विभिन्न समयमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै प्रदेशका १३ जिल्ला र सबै स्थानीय तहमार्फत् ३१ करोड ४८ लाख रुपैयाँ खर्च गरिसकेको छ भने कोषमा करिब १३ करोड रुपैयाँ बाँकी रहेको मुख्यमन्त्री कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

किन बनाइँदैन अक्सिजन प्लान्ट ?

प्रदेश सरकारको कोरोना विपद् कोषमा करिब १३ करोड रुपैयाँ बाँकी रहे पनि उक्त रकम सदुपयोग गर्नतर्फ प्रदेश सरकारले चासो देखाएको छैन ।

प्रदेशका २ वटामा बाहेक अन्य अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउन सकिएको छैन । अन्य २ वटा अस्पतालमा प्लान्ट स्थापनाका लागि सम्झौता भइरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम राज सेढाई बताउँछन् ।

एउटा अस्पतालमा प्लान्ट स्थापना गर्न करिब ३ करोड रुपैयाँ आवश्यक पर्ने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाई बताउँछन् ।

प्रदेश सरकारले चाहने हो भने विपद् कोषकै रकमबाट प्रदेशका थप ४ वटा अस्पतालमा त्यस्ता प्लान्ट निर्माण सकिन्छ । सो रकमले करिब १ महिनाको अवधिमा प्लान्ट निर्माण गर्न सकिने जानकारहरु बताउँछन् । तर, मुख्यमन्त्री डोरमणि पौडेलले चासो नदेखाउँदा रकम भएर पनि हेटौँडा अस्पतालसहित प्रदेशका अन्य अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुन नसकेको हो ।

तत्कालीन हेटौँडा अस्पताल विकास समितिले पटक–पटक अक्सिजन प्लान्ट निर्माणका लागि प्रदेश सरकारका सम्बन्धित निकायहरुमा प्रस्ताव गरेको थियो । तर, राजनीतिक दाउपेचका कारण उक्त प्रस्ताव सम्बन्धित मन्त्रालयको घर्रामा थन्कियो ।

हाल प्रदेशको राजधानीसमेत रहेको हेटौंडाको एकमात्र सरकारी अस्पतालमा अक्सिजनको चरम अभाव छ । शुक्रबार नुवाकोट, पर्सासहितका केही उद्योगबाट अक्सिजनको जोगाड गरी संक्रमितको उपचारमा प्रयोग गरियो ।

हेटौँडा अस्पतालले विभिन्न सप्लायर्स, अस्पताल र अन्य जिल्लाबाट अक्सिजन सिलिन्डर ल्याउन पहल गरिरहेको छ । तर, ती सबै पहल सार्थक भएको अवस्थामा समेत उपचाररत संक्रमितलाई एक दिनको आवश्यकता मात्र टर्ने चिकित्सकहरुको भनाइ छ ।

अक्सिजन अभाव बढ्दै जाने देखिएको भन्दै उनीहरुले यसको दीर्घकालीन समाधान खोज्न ढिला गर्न नहुने बताए ।

उपमहानगरपालिका समाधान खोज्दै

हेटौंडा अस्पतालमा अक्सिजन अभावको समस्या समाधान गर्न हेटौंडा उपमहानगरपालिकाले पहलकदमी सुरु गरेको छ । अक्सिजन अभावको दीर्घकालीन समाधानका लागि उपमहानगरपालिकाले अक्सिजन प्लान्ट निर्माणका लागि छलफल सुरु गरेको हो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले तयार गरेको अक्सिजन प्लान्ट स्थापना परियोजना प्रस्तावसहित हेटौंडा उपमहानगरपालिका छलफलमा जुटेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप