बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरमा निषेधाज्ञा अवधिमा उकालो लाग्दै कोरोना संक्रमितको ग्राफ

१४ दिनमा ३ हजार ३ सय २८ संक्रमित थपिए
शनिबार, ०१ जेठ २०७८, १५ : ३७
शनिबार, ०१ जेठ २०७८

जिल्ला प्रशासन कार्यालय मोरङले कोभिड१९ (कोरोनाभाइरस) संक्रमण फैलिएको भन्दै विराटनगरमा वैशाख १८ गते निषेधाज्ञा जारी गरेर पहिलो पटक एक साताका लागि आवतजावतमा प्रतिबन्ध लगायो ।  सो समय पूरा भएलगत्तै संक्रमणको चेन ब्रेक गर्न भन्दै थप एक साता निषेधाज्ञा लम्ब्याइयो । र, यो क्रम आज शनिबारसम्म आइपुग्दा दुई साता पुरा भएको छ ।

यस्तै शनिबार रातिनै देखि लागु हुने गरी प्रशासनले निषेधाज्ञा थप १० दिन लम्ब्याएको छ । निरन्तरको निषेधाज्ञाले विराटनगरमा मानिसहरुको चहलपहल केही कम भएपनि संक्रमित घटेका छैनन् ।  बरु दुई साताको अवधिसम्म आइपुग्दापनि कोरोना संक्रमितको ग्राफ दिनहुँ उकालो लागिरहेको छ ।

निषेधाज्ञा जारी हुने अघिल्लो दिन अर्थात् वैशाख १७ गते विराटनगरमा  सक्रिय संक्रमितको संख्या १ हजार ७९ थियो । जबकी वैशाख ३१ गते प्रदेशको राजधानी समेत रहेको विराटनगरमा यो संख्या बढेर ४ हजार चार सय ७ पुगेको छ।

निषेधाज्ञाको दुई साताको अवधिको ग्राफ ह्वातै बढ्यो

वैशाख १७ गते विराटनगरमा १ सय १९ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अर्थात निषेधाज्ञाको पहिलो दिन वैशाख १८ गते विराटनगरमा ८१ जना संक्रमित थपिए । यो अघिल्लो दिनको भन्दा आधा संख्यामा कमी थियो । तर, निषेधाज्ञाको दोस्रो दिन अर्थात् वैशाख १९ गते संक्रमितहरु ह्वात्तै बढेर २ सय १ जना पुगे । त्यस समय यतादेखि निरन्तर संक्रमितको संख्याको चाप उकालो लाग्यो ।

वैशाख २० गते २ सय २६ जना थपिए । वैशाख २१ मा संक्रमितको संख्यामा केही कमी हुँदै १ सय ६९ जनामा सीमित भए । 

यसैगरी वैशाख २२ गते १ सय ८७ जना संक्रमित थपिए भने वैशाख २३ गते २ सय माथि उक्लिँदै २ सय ४४ जना थपिए । वैशाख २४ गते संक्रमित हुनेको दर उच्च हुँदै ३ सय ६३ जना पुगे । वैशाख २५ गते १ सय ८७ जना संक्रमित थपिए । वैशाख २६ गते २ सय ४ जना संक्रमित थपिए भने ७ गते फेरि संक्रमितको संख्या एकै दिन ३ सय १ जना पुगे ।

त्यसपछिका दिन निरन्तर ३ सयको हाराहारीमा संक्रमितको संख्या रह्यो । जसमा बैशाख २८ गते ३ सय ७ जना, २९ गते ३ सय १६ जना रह्यो र वैशाख ३० गते २ सय ९६ जना र वैशाख ३१ गते संक्रमितको संख्या ओरालो लाग्दै २ सय ४५५ मा झरेको छ । दुई साता लामो निषेधाज्ञाको अवधिमा सबै भन्दा बढी वैशाख २४ गते ३ सय ६३ जना संक्रमित एकै दिन थपिएका थिए।

विराटनगर महानगरपालिकाको अभिलेख अनुसार प्रदेशको कुल जिल्ला मध्ये मोरङमा सबै भन्दा बढी नयाँ संक्रमित थपिने दर उच्च छ । त्यसमा महानगर क्षेत्रमा मात्र निषेधाज्ञाको अवधिमा ५३ प्रतिशतले नयाँ सङ्क्रमित थपिएका छन् ।

विराटनगर महानगरपालिकाका कोभिड संयोजक हैदर अलीले निषेधाज्ञा जारी भएपनि प्रभावकारी नहुँदा मानिसको आवाजावत उत्तिकै मात्रामा रहेकाले महामारी रोकथाम र नियन्त्रणमा चुनौती थपिएको बताए ।

संयोजक अलीले प्रदेश १ का राजधानीसमेत रहेको विराटनगरमा सङ्क्रमण दर उच्च बन्दै गएकाले त्यसको रोकथाम र नियन्त्रणका लागि केही समयका लागि कर्फ्यु लगाएर सो अवधिमा प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा माहामारी नियन्त्रण र रोकथाममा केन्द्रीत हर्नुपर्ने बताए ।

संयोजक अलीका अनुसार अहिले ३ हजार ७ सय ७५ संक्रमित होम आइसोलेसनमा रहेका छन्। बैशाख महिना भरी ४ सय २० जना संक्रमित निको भएका छन् भने ४१ जनाको मृत्यु भएको छ । विराटनगरका तीनवटा कोभिड विशेष अस्पतालमा आईसीयुमा २१ भेन्टिलेटरमा पाँच अक्सिजन बेडमा ६२ र अस्पतालले तयार पारेको क्वारेन्टाइन बेडमा १३ जना रहेका छन्।

विराटनगर महानगरपालिका कार्यालयका अनुसार वैशाख १ मा प्रदेशभरी कुल २० जना संक्रमित हुँदा विराटनगरका मात्र १६ जना भेटिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप