बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको चन्द्रागिरीमा आजदेखि एक साता लकडाउन, नागढुंगा नाकामा कडाइ

शनिबार, ०१ जेठ २०७८, १२ : ५२
शनिबार, ०१ जेठ २०७८

काठमाडौँ उपत्यकाको चन्द्रागिरी नगरपालिकाले एक साता अवधिभरका लागि नगरपालिका सिल (लकडाउन) गरेको छ ।
आज जेठ १ गते देखि लागु हुने गरि ७ गते सम्म बिहान ६ बजे देखि सांझ ५ बजे सम्म सर्वसाधरणलाई हिँडडुल गर्न पुर्ण रुपमा प्रतिबन्ध गरिएको छ । नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमणको रोकथाम र नियन्त्रणका लागि औषधी पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफुल  तथा तरकारी पसल, निर्माण व्यवसायी लगायतका पसलहरु, नगरपालिकाका वडा कार्यलय, नगरबाट सञ्चालित योजनाहरु, सरकारी , गैरसरकारी, बैक तथा वित्तीय संस्थाहरु निजी सम्पुर्ण कार्यालयका सेवा पुर्णरुपमा बन्द गरि नगरपालिकालाई नै सिल गरेको हो ।

खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दुधको ढुवानीका साधनलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरि सञ्चालन गर्न दिइएको छ । त्यसैगरी पशुपक्षीको दाना, कृषि प्रयोजनका बिउ, बिजन, कृषि उत्पादन, औषधी उद्योग लगायत फोहरमैला बोक्ने सवारी साधनहरुलाई सिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने भएको छ ।

यसैबीच नगरपालिका सिल भएपछि उपत्यका प्रवेश गर्ने नाका नागढुंगामा सुरक्षा जाँच कडा पारिएको छ । 
अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारी साधन बाहेकलाई प्रवेश नाकाबाट नै फर्काउने काम गरिएको छ । नगरपालिकाले बैशाख २९ गते नै सार्वजनिक सूचना जारी गरेकाले सीमाबाट फर्काउनुपर्ने सवारीसाधनहरू धेरै नभएको सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । शनिबार आज नागढुंगा नाका पनि सुनसान प्रायः देखिएको छ । एम्बुलेन्स, अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन भएका छन् । सर्वसाधारण पनि घरबाहिर निस्कन नपाएपछि नगरपालिका सुनसान बनेको छ । राजमार्गमा पनि अन्य दिनमा जस्तो पास लिएर हिँड्ने सर्वसाधरणहरु देखिएका छैनन् ।

नगरपालिकाले अन्य व्यवस्थाका सम्बन्धमा भने बैशाख २८ गते काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेश बमोजिम गर्न गराउन मातहतलाई निर्देशन जारी गरेको छ ।
नगरपालिकाकाले भेरोसिल खोपको दोश्रो मात्रा लगाउनका लागि भने आवतजावतमा अवरोध नगर्ने भएको छ । सरकारले जारी गरेको सूचनाका आधारमा पहिलो खोप लगाएको देखाएर तोकिएको खोपकेन्द्रसम्म आवतजावत गर्न दिइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप