शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फौजीकिराले मकैबाली नष्ट

शनिबार, ०१ जेठ २०७८, ०८ : ४९
शनिबार, ०१ जेठ २०७८

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणले थलापरेका बेला खेतवारीमा लगाइएको मकैवाली फौजीकिराले नष्ट गरिदिएपछि म्याग्दीका किसान दोहोरो रोगको चपेटामा परेका छन् । 

म्याग्दीमा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैबाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान दोहोरो चिन्तामा परेका हुन् ।

जिल्लाको बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहका कतिपय किसान अहिले कोरोनाको चपेटमा परेका छन् । कतिपय संङ्क्रमित भएर होम क्वारेन्टिन, आइसोलेशन तथा स्वास्थ्य संस्थामा उपचाररत छन् । यही बेलामा  किसानले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप देखिएको हो । 

मकै उम्रिनासाथ फौजी कीराले डाँठ र पात दुवै खाएर नष्ट गर्न थालेको बेनी नगरपालिका २ बगरफाँटका कृषक खड्गबहादुर थापाले बताए । 

बगरफाँटको ४ सय रोपनी क्षेत्रफलको फाँटमा फौजी किराले मकैवाली कामै नलाग्ने गरी नष्ट गरिदिएको कृषक थापाले बताए । “खेती लगाएका किसान कोरोनाले विस्तारामा थलिएका छन्, खेतमा मकै किराले खाएर थलिएको छ, यस वर्ष खाद्यान्नको पनि सङ्कट हुनेभयो”, कृषक थापाले भने । 

यसअघि गहुँबालीमा समेत किरा लागेर राम्रो उत्पादन हुन सकेको थिएन । गहुँसमेत राम्रो उत्पादन नहुँदा मकैको  आशा गरेर बसेका किसानहरु मकैवाली पनि किराले नष्ट गरिदिँदा चिन्तित बनेका छन् ।

ज्यामरुककोटका अर्का कृषक टेकबहादुर कार्कीले यस वर्ष रोग र भोकले किसानलाई बाँच्न कठिन हुने लक्षण देखिएको बताए । 

कोरोनाका कारण बजारमा गएर औषधि किन्ने वातावरण नहुँदा घरगाउँकै जैविक औषधी प्रयोग गर्दा रोग र किरा नियन्त्रणमा आउन नसकेको किसानले गुनासो गरेका छन् । 

तर,कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले औपचारिकरुपमा यस विषयमा किसानले कुनै गुनासो नगरेको बताए । किसानहरुका अनुसार भर्खरै उम्रिएका मकैमा कीराको प्रकोप झन बढी देखिएको छ । वर्षा भएपछि म्याग्दीका अधिकांश किसानले अहिले मकै बाली लगाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप