शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

जहाँ बिरामीको परीक्षणै हुँदैन

शनिबार, ०१ जेठ २०७८, ०७ : १०
शनिबार, ०१ जेठ २०७८

भीमदत्त–१० की संक्रमित एक महिलाको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । तर उनको परिवारका सदस्यहरूको कन्ट्याक्ट ट्रेसिङ वा परीक्षण गरिएन । एकरदुई जनाले आफ्नो सतर्कताका लागि अस्पतालमा गएर पीसीआर परीक्षण गराए पनि सबैले भने परीक्षण गराएनन् । उनीहरूको सोधीखोजी पनि कसैले गरेन ।


जिल्लामा दैनिक डेढरदुई सय जनाको हाराहारीमा नयाँ संक्रमित थपिँदै छन् । दैनिक मृत्यु हुने पनि ४/५ जनाकै हाराहारीमा छन् । तर स्वास्थ्य संस्था र स्थानीय तहहरूले संक्रमित र मृतक कसैको पनि कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा ध्यान दिएका छैनन् ।

‘कन्ट्याक्ट ट्रेसिङ र परीक्षण नभएरै संक्रमण नियन्त्रण बाहिर जाँदै छ,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन कपिलदेव जोशीले भने । उनका अनुसार केन्द्रबाट टोली नै बनाएर कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा बढाउन निर्देशन आए पनि यसतर्फ पालिकाहरूले चासो दिएका छैनन् ।

छिमेकी मुलुक भारतमा दिनहुँ ३/४ लाखको संख्यामा संक्रमित थपिँदै छन् । यस्तो अवस्थामा पनि ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट (थ्री टी) को अवधारणा लागू गरेर रोकथामको प्रयास भइरहेको छ । कञ्चनपुरमै पनि गत वर्ष संक्रमण देखिँदा स्वास्थ्यकर्मीदेखि जनप्रतिनिधि सबै खटिएका थिए ।

संक्रमित देखिनेबित्तिकै ट्रेसिङ र परीक्षणमा विशेष चासो दिइएको थियो । तर अहिले न स्वास्थ्यकर्मी देखिन्छन् न त जनप्रतिनिधि । ‘गत वर्ष स्रोतसाधन थियो, टिम पनि राम्रो थियो,’ भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले भने, ‘अहिले परीक्षणका लागि एन्टिजेन किट र भीटीएम नै छैन ।’ कन्ट्याक्ट ट्रेसिङका लागि जनशक्ति पनि तयार नभएको उनले बताए । गत वर्ष भीमदत्त नगरपालिकाले २५ सय भीटीएम खरिद गरेर स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाएको थियो ।

‘अहिले एन्टिजेन किट पनि पाउन गाह्रो भयो,’ प्रमुख जोशीले भने, ‘नगरपालिकाले ५ सय किट खरिद गरेको छ तर आइपुगेको छैन ।’ उक्त किटहरू आइपुगेपछि कोरोनाबाट मृत्यु भएकाका आफन्तहरूको ट्रेसिङ र परीक्षण गरिने बताए ।

भीमदत्त नगरपालिकाले होम आइसोलेसनमा बसेकाहरूको निगरानीका लागि वडा स्तरमा टोली बनाएकाले अब छिटै अनुगमन गरेर उनीहरूको अवस्था बुझिने जोशीले दाबी गरे । तर नगरपालिकासँग यसपटक सक्रिय संक्रमितहरूको तथ्यांकसमेत छैन ।

कोरोना संक्रमण रोकथामका लागि कञ्चनपुरमा वैशाख १६ देखि जारी निषेधाज्ञाको समयावधि तेस्रो पटक थप गरेर जेठ ७ सम्म पुर्‍याइएको छ । संक्रमणको दर भने नघटेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड– १९ फोकल पर्सन जोशीले बताए । ‘दुई साता कडा लकडाउनसँगै पालिकाहरूले ट्रेसिङ र परीक्षण बढाउनुपर्छ,’ उनले भने । अहिलेकै अवस्थामा संक्रमण नघट्ने देखिएको उनको भनाइ छ ।

यो समाचार कान्तिपुर दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप