शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो उपचारमा खटिने डाक्टर र नर्सलाई पूर्व राजाले दिए धन्यवाद

शुक्रबार, ३१ वैशाख २०७८, २२ : ४१
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफूहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन् । पूर्वराजा शाहले एक ट्वीट गर्दै कोरोनाको वैश्विक महामारीका कारण आफूहरु नर्भिक अस्पतालमा रहँदा हरदम सेवामा जुट्ने डाक्टर, नर्स तथा हमेसा मनोवल उच्च राख्न हौसला दिने अन्य सहयोगी व्यक्ति र देशविदेशमा रहेका शुभ चिन्तकप्रति आभार प्रकट गरेका हुन् ।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा १९ दिन लामो उपचारपछि कोरोना संक्रमणमुक्त भई राजा ज्ञानेन्द्र बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको दुई दिनपछि अर्थात बैशाख ३१ गते पूर्व महारानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह डिस्चार्ज भएका थिए ।

यसैगरी, पूर्व राजपरिवारका सदस्यहरु स्वस्थ भई डिस्चार्ज भइसकेपछि नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीले पनि एक ट्वीट गर्दै खुशी व्यक्त गरेका छन् ।  उनले पूर्व राजा तथा राजपरिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घ जीवनको समेत कामना गरेका छन् । पूर्व राजा शाह, पूर्व रानी कोमल शाह र अधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमण भई नर्भिकमा भर्ना भएका थिए ।

पूर्वराजा र अधिराजकुमारीको सामान्य अवस्थामै उपचारलाई जारी राखिएको थियो भने पूर्व रानीको अवस्था भने निकै जटिल बनेको थियो । उनलाई हाइ फ्लो अक्सिजनको सपोर्टसहित केही दिन आइसियूमा राख्नुपरेको थियो ।

कोरोना संक्रमणका लागि प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो । लगातार उपचार र नर्भिकको स्तरीय स्वास्थ्य सेवाका कारण उनको स्वास्थ्यमा सुधार भएको थियो । आइसियूमा राखेको केही दिनमै पूर्वरानीको अवस्था सुधार भएपछि वार्डमा सारिएको थियो । वार्डमा सारिएको केही दिनमै उनलाई शुक्रबार डिस्चार्ज गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप