शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्रलाई थाहा नै नदिई राजेन्द्र भए संसदीय दलको नेता

महेश बस्नेतजीहरुले बनाउनुभएको हाेला : उपेन्द्र यादव
शुक्रबार, ३१ वैशाख २०७८, १९ : २६
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन् । सो पार्टीको महन्थ ठाकुर पक्षका सांसदहरुको हिजो बसेको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको हो । जसपाका सांसद अकवाल मियाँका अनुसार हिजो बबरमहलमा बसेको संसदीय दलको बहुमत सदस्यको बैठकले महतोलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

केहीदिन पहिले जसपा नेपालका अध्यक्ष ठाकुरले सुरु गरेको हस्ताक्षर अभियानमा महतोलाई संसदीय दलको नेता बनाउने एजेण्डा पनि समावेश थियो । त्यसबेला महतोलाई संसदीय दलको नेता बनाउने विषयमा बहुमत पुगेको थिएन । हिजो बबरमहलमा बसेको दलको बैठकमा बहुमत पुगेपछि सो निर्णय भएको उनले बताए ।

उक्त निर्णयबारे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षलाई कुनै जानकारी छैन । पार्टीमा संसदीय दलको नेताका लागि उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोले दावी गर्दै आइरहेका थिए । तर दलको नेता चयनको विषयमा कुरा मिलिरहेको थिएन । पछिल्लो समय अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहुमत पुर्याउनका लागि संकलन गरेको हस्ताक्षर अभियानमा राजेन्द्र महतो सहभागी भएका थिएनन् ।  हस्ताक्षर जुटाएर महन्थ ठाकुर स्वयम् संसदीय दलको नेता बन्न थालेको भन्दै महतो हस्ताक्षर कार्यक्रममा सहभागी भएनन् ।

महतोले आफूलाई संसदीय दलको नेता बनाएपछि मात्र हस्ताक्षर गर्ने अडान लिएपछि अध्यक्ष ठाकुरले उनलाई संसदीय दलको नेता बनाएका हुन् । जसपा नेपालका कार्यकारिणी सदस्य एवं सांसद रामसहाय यादवले राजेन्द्र महतो संसदीय दलको नेता बनेकोमा पार्टीलाई कुनै जानकारी नरहेको प्रतिकृया दिए । उनले भने– ‘संसदीय दलको बैठक नै बसेको छैन भने उहाँ कसरी संसदीय दलको नेता बन्नुभयो थाहा छैन, उहाँले आफ्नै मनले संसदीय दलको नेता घोषणा गराउनुभएको हो भने हामीलाई त्यसमा केही भन्नु छैन ।’ 

अध्यक्ष उपेन्द्र यादवले पनि संसदीय दलको बैठक नै नबसेको र विधान पनि पारित नभएको बेला महतो कसरी संसदीय दलको नेता भए त्यसबारेमा आफूलाई केही जानकारी नरहेको बताए । उनले भने–‘महेश बस्नेतजीहरुले राजेन्द्रजीलाई संसदीय दलको नेता बनाउनुभएको होला, हाम्रो पार्टीका संसदीय दलले उहाँलाई संसदीय दलको नेता बनाएको छैन ।’

यादवले संसदीय दलको नेता बन्न विभिन्न प्रकृया हुने र ती प्रकृया पुरा नभएको बताए । उनले भने, ‘पहिलो कुरा संसदीय दल समायोजन हुनुपर्छ, समायोजनपछि विधान पारित हुनुपर्छ । सो विधानअनुसार संसदीय दलको नेता बन्छ । त्यसमध्ये कुनै प्रकृया पुरा भएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप