शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश १ मा कोरोनाको कहर : १० दिनमा १०३ जनाको मृत्यु

एक महिनामा १० हजार ३०१ संक्रमित थपिए
शुक्रबार, ३१ वैशाख २०७८, १८ : ३०
शुक्रबार, ३१ वैशाख २०७८

विराटनगर । गत शुक्रबार सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका ४१ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक ल्याबमा पठायो । आइतबार प्राप्त रिपोर्टमा ४१ मध्ये ४० जनामा कोरोना संक्रमण देखिएको उल्लेख थियो ।

‘रिपोर्ट हेरेर अचम्मित भयौं,’ इटहरी अस्पतालका इमर्जेन्सी विभाग संयोजक रामकुमार धमलाले भने, ‘पीसीआर परीक्षणका लागि संकलित स्वाब शत प्रतिशतजस्तै पोजेटिभ रिजल्ट आयो ।’ इटहरी उपमहानगरपालिकाको नगरस्तरीय आइसोलेसन संयोजकसमेत रहेका धमलाले त्यसपछिका दिनमा प्रायः पीसीआरका लागि पठाइएको स्वाबको रिजल्ट शत प्रतिशत पोजेटिभ आउने क्रम जारी रहेको बताए । 

इटहरी क्षेत्रमा गएको दुई हप्तामा संक्रमण दर उच्च भएको बताउँदै धमलाले दोश्रो लहर सुरु भएसँगै इटहरी क्षेत्रमा मात्र संक्रमित हुनेको संख्या ७१३ जना पुगेको बताए । कुल संक्रमितमध्ये १० जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिकाको अवस्था पनि उस्तै छ । महानगरले मंगलबार नगरभित्र कोरोनासँग लक्षण मिल्दोजुल्दो भएका १८६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठायो । बिहीबार प्राप्त रिपोर्टमा तीनजना बाहेक अन्य सबैमा संक्रमण देखिएको छ ।

महानगरले पीसीआर परीक्षणका लागि पठाएका नमुनामा करिब शत प्रतिशतमै कोरोना संक्रमण देखिएको विराटनगर महानगरपालिकाका कोभिड संयोजक हैदर अलीले बताए । उनका अनुसार पछिल्लो एक हप्ता यता विराटनगरमा पीसीआर परीक्षणका लागि पठाइएका नमूनामा हरेक १० मा ८ जना संक्रमित पाइने गरेको छ ।

महानगरमा वैशाख यता मात्र ३ हजार ७६० संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या भने ४ हजार १६२ छ, जसमा ३७ जनाको मृत्यु भएको छ ।  मोरङमा एकै टोलका २३ जनामा संक्रमण फेला परेको छ । लेटाङको फँडानीको एकै टोलका २६ जनाको स्वाब परीक्षण गरिएकोमा २३ जनामा संक्रमण फेला परेको हो । टोलमा संक्रमित अत्यधिक बढेपछि नगरपालिकाले सो टोललाई सिल गरी स्वाब संकलन कार्यलाई तीव्र बनाएको छ ।

प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार नाघेको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार ३०१ जना पुगेको हो । प्रदेशको सघन जनसंख्या भएको मोरङ, सुनसरी र झापामा कोरोनाको कहर उच्च दरमा फैलिन थालेको देखिन्छ ।

संक्रमित दर बढेसँगै यी जिल्लामा मृत्युदर पनि बढेको छ । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीका अनुसार पछिल्लो समय संक्रमित हुने र उपचार नपाउँदै मृत्यु हुनेको संख्या बढ्दो छ । घरमै बसिरहेका भर्खरका तन्नेरीदेखि यसअघि कुनै स्वास्थ्य समस्या नभएका वृद्धवृद्धाले समेत ज्यान गुमाइरहेका छन् ।

प्रदेशमा पछिल्लो १० दिनमा १०३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्, जसमध्ये ६१ जना मोरङका छन् । प्रदेश १ मा वैशाखको पहिलो सातासम्म दैनिक दुई अंकमा सीमित रहँदै आएको संक्रमित संख्या अहिले दैनिक हजारको हाराहारीमा बढ्दैछ । बिहीबार मात्र एकैदिन १ हजार ३९ संक्रमित थपिएका छन् । 

प्रदेश १ मा अहिलेसम्म कोरोना संक्रमणकै कारण ६१५ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । वैशाख १ गतेसम्म यस प्रदेशमा संक्रमितको संख्या ३० हजार ५१६ जना थियो । अहिले उक्त संख्या ४० हजार ८१७ पुगेको छ । यो अवधिमा १० हजार ३०१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो १२ घण्टामा १० जनाको मृत्यु

मोरङ र सुनसरीका चारवटा अस्पतालमा थप १२ जना संक्रमितको मृत्यु भएको छ । बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म विराटनगरको नोबेल मेडिकल कलेजमा ४, कोशी कोभिड–१९ उपचार केन्द्रमा ३, मोरङको बूढी गङ्गा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा २ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जनाको मृत्यु भएको हो ।

नोबेलमा धरान उपमहानगरपालिका–१ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि उनलाई गत वैशाख २२ मा उपचारका लागि ल्याइएको थियो । उनको शुक्रबार बिहान २ बजेतिर मृत्यु भएको हो ।

नोबेलमै बिहान ६ः३० बजेतिर विराटनगर महानगरपालिका–१६ की ७४ वर्षीया वृद्धाको मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा वैशाख २७ गते उनको रिपोर्ट पोजेटिभ आएकोमा शुक्रबार सबेरै अस्पताल लगिएको थियो । उपचारका लागि ल्याएको केहीबेरमै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

यस्तै धनकुटा जोरपाटीका ५६ वर्षीय पुरुषको पनि बिहान ५ बजेतिर नोबेलमै मृत्यु भएको छ । मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनमा कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख २८ गते भर्ना गरिएको थियो ।
महोत्तरी घर भएका ७७ वर्षीय वृद्धाको पनि नोबेलमै बिहान ५ः३० बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएर घरमै रहेका उनलाई शुक्रबार बिहान १ बजेतिर मात्रै अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

विराटनगरकै कोशी कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–११ मा बस्दै आएका ३८ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १९ गते अस्पताल भर्ना गरिएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा मृत्यु भएको उपचार केन्द्रका अधिकारी अनुपम राजवंशीले बताए ।

विराटनगर–६ का ५६ वर्षीय पुरुषको पनि उपचारकै क्रममा बिहान १ बजेतिर कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । उनलाई उपचारका लागि वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो । कोशी कोभिड अस्पतालमै इटहरी उपमहानगरपालिका–५ का ७९ वर्षीय वृद्धको मृत्यु भएको छ । बिहीबार अस्पताल भर्ना गरिएका उनको बिहान १ः३० बजेतिर मृत्यु भएको केन्द्रले जनाएको छ ।

त्यस्तै मोरङको बूढीगङ्गास्थित विराट मेडिकल कलेजमा विराटनगर–९ का ४९ वर्षीय पुरुषको बिहीबार साँझ ७ः४० बजेतिर मृत्यु भएको छ । उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएकोमा उपचारको क्रममा मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवले बताए ।

विराटनगर–६ का ६४ वर्षीय वृद्ध पुरुषको बिहीबार राति ८ बजेतिर विराटमै मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि वैशाख २० मा अस्पताल भर्ना गरिएका उनको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो । यता धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा धरान–८ की ३४ वर्षीय युवतीको मृत्यु भएको छ । उनको उपचारको क्रममा शुक्रबार बिहान साढे ५ बजे मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । मृतकलाई केही दिनदेखि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप