बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सोल्टीबाट आइएचजी बाहिरियो, अब ‘दि सोल्टी काठमाडौं’ को नाममा सञ्चालन हुने

शुक्रबार, ३१ वैशाख २०७८, १८ : ०१
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौं । नेपालकै एक पुरानो तारे होटल सोल्टी क्राउन प्लाजा अब नेपालकै एकल स्वामित्वको होटल बन्ने भएको छ । झण्डै साढे पाँच दशक लामो यात्रा पुरा गरिसकेको होटलबाट विदेशी सेयर साझेदार समेत रहेको व्यवस्थापक इन्टर कन्टिनेन्टल होटेल्स ग्रुप (आइएचजी) बाहिरिने भएसँगै होटल सोल्टी नेपालीको एकल स्वामित्वमा आउने भएको हो । 

२६ वर्ष लामो होटलको व्यवस्थापकीय जिम्मेवारी समेत सम्हालेको बेलायती कम्पनी आइएचजीले हालैमात्र सोल्टीबाट बाहिरिने निर्णय गरेको हो ।  त्यसो त कम्पनीसँगको सम्झौताअनुसार व्यवस्थापकीय जिम्मेवारीको करार अवधिसमेत सकिएसँगै आइएचजीले आफुसँग भएको सेयर समेत बेचेर होटलबाट बाहिरिने निर्णय गरेको हो । सो समूहले यसअघि नै आफुसँग भएको कम्पनीको सेयर सोल्टी इन्टरप्राइजेजलाई बिक्री गरिसकेको छ । 

पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारको प्रमुख सेयर रहेको सोल्टी कम्पनीले आइएचजीसँग ८४ लाख २५ हजार माथिको सेयर ४७ करोड २३ लाख ४५ हजारमा किनेको सोल्टी इन्टरप्राइजेजले जनाएको छ ।  योसँगै अब कम्पनीको एकाधिकार नेपालीमै निहित भएको र अब होटल सञ्चालन र व्यवस्थापन समेत कम्पनी आफैंले गर्ने निर्णय भएको होटल सोल्टीका अध्यक्ष दिनेश विष्टले जानकारी दिएका छन् । यद्यपि होटलको व्यवस्थापक र सेयर होल्डर समेत फेरिए सँगै अब होटलको नामकरण समेत नयाँ गरिने उनले बताए । 

‘अब होटलको सम्पूर्ण अधिकार नेपालीमा आएको छ । यसको सञ्चालन र व्यवस्थापन समेत अब हामी आफैं गर्छौ’ अध्यक्ष विष्टले भने, ‘व्यवस्थापन फेरिएसँगै अब होटलको रिब्राण्डिङ्ग समेत हुन्छ ।’ विष्टकाअनुसार अब राखिने होटलको नाम ‘दि सोल्टी काठमाडौं’ रहनेछ । हाल होटलमा विशिष्ट ७ वटा स्वीट रुमसहित २८५ वटा कोठाहरू रहेका छन् । होटलमा बाओ स्वान रेष्टुराँ, काकोरी रेष्टुराँ, अल्फास्को रेष्टुराँ र अल डे डाइन गार्डन टेरेस रेष्टुराँसमेत सञ्चालनमा छन् ।
यसका अतिरिक्त होटलमा तारे होटलमा उपलब्ध हुने रात्रीकालिन क्लब, क्यासिनो लगायतका सुविधाहरु समेत उपलब्ध छन् ।  हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरीय लाउन्ज र  नेपालगञ्जमा अर्को पाँचतारे होटेल ‘सोल्टी वेष्टेण्ड प्रिमियर’ सञ्चालन गरिहेको कम्पनी अब छिट्टै पर्यटकीय नगरी पोखरामा समेत थप होटल सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप