शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञामा पनि धमाधम कालोपत्रे गरिँदै कर्णाली राजमार्ग

शुक्रबार, ३१ वैशाख २०७८, १६ : ३८
शुक्रबार, ३१ वैशाख २०७८

सुर्खेत । यतिबेला कोरोनाको दोस्रो लहरका कारण जताततै निषेधाज्ञा जारी छ । कर्णालीमा पनि त्यसको प्रभाव परेको छ । तर, विकास निर्माणका काम भने कर्णालीमा रोकिएका छैनन् । यतिबेला कर्णाली राजमार्ग  धमाधम कालोपत्रे गरिँदैछ ।   लामो समयपछि कर्णाली राजमार्ग कालोपत्रे गर्न लागिएको हो । पहिलोपटक गरिएको कालोपत्रे उक्किएर सडकमा खाल्डाखुल्डी पर्ला यात्रु तथा सवारी चालकले निकै सास्ती खेप्नुपरेको थियो ।

आफैंमा साँघुरो, पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने हुँदा धेरैले यो राजमार्गलाई मृत्यु मार्गको उपमा समेत दिने गरेका थिए । हिजो आज निषेधाज्ञामा भने सो राजमार्गमा धमाधम कालोपत्रेको काम  भइरहेको छ । हालसम्म झण्डै १६ किलोमिटर कालोपत्रेको काम सकिएको सडक डिभिजन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

यो वर्ष अझै  ३०  किलोमिटर सडक कालोपत्रे गर्ने डिभिजनको लक्ष्य छ । राजमार्गको जहाँ जहाँ अलि अप्ठ्यारो छ, सवारी चल्ने समस्या छ, ती स्थानमा चारवटा निर्माण  कम्पनीले काम गरिरहेको सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जिनियर (सो खण्ड हेर्ने) तुलाराम शर्माले रातोपाटीलाई जानकारी दिए । राजमार्गको सुर्खेत वीरेन्द्रनगरदेखि कल्यान काँधसम्म सडकको अवस्था राम्रो छ । सो क्षेत्रदेखि दैलेख खण्ड पुरै र कालिकोट खण्डमा सडकको अवस्था  दयनीय छ ।  राजमार्गको अवस्था जीर्ण हुँदा बर्षेनी सयौँ सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । जसका कारण सयौँले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ ।

‘विशेषगरी दैलेख खण्डको खड्गबाडा खण्डमा कालोपत्रे नहुँदा सवारी चल्न निकै गाह्रो हुन्थ्यो’ उनले भने, ‘अहिले त्यो खण्डमा पनि कालोपत्रेको काम भइरहेको छ ।’ उनका अनुसार ३६ देखि १ सय ३२ किलोमिटरको बाटोको अवस्था जीर्ण भएकाले सो खण्डमा कालोपत्रे गर्ने योजना छ । 

त्यसका लागि चारवटा निर्माण कम्पनीलाई ४ करोडको दरमा १६ करोडको ठेक्का निकालिएको शर्माले जानकारी दिए । कालो पत्रेसँगै ग्याविन भर्ने, नाला मर्मतको काम समेत भइरहेको उनले बताए । मैनतडा,खड्गबाडा, पाल्तडा रामाघाट, पादुका, खिड्किजिउला लगायतका स्थानमा कालोपत्रे हुने जनाइएको छ ।

इञ्जिनियर खड्काका अनुसार डुङ्गेश्वरदेखि पादुका खण्डको झण्डै ८,  खिड्की जिउला खण्डको २ किलोमिटर सडक कालोपत्रे भैसकेको छ । खड्काले भने, ‘मौसमले कत्तिको साथ दिन्छ भन्ने हो । मौसमले साथ दिएको खण्डमा हामी ३० किलोमिटर अझै कालोपत्रे गरिसक्छौँ ।’

ईलाईट निर्माण सेवाका प्रतिनिधि शेरबहादुर बिसीले यो समयमा काम गर्न सजिलो भएको बताए । सडकमा गाडी पनि कम चल्ने भएकाले काम धमाधम चलिरहेको उनको भनाई छ । ‘कालोपत्रेको काम गर्ने अधिकांश मजदूर मधेश क्षेत्रका छन्’ उनले भने– ‘उहाँहरुलाई सडक छेउमा साइड क्याप्स बनायर त्यही खाना बनाएर खाने र साबुन पानीको व्यवस्था गरिएकाले कोरोनाको खासै डर छैन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप