शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालको भर पर्दा प्रचण्ड रनभुल्ल !

ओलीदेखि ओलीसम्म, पार्टी फुटेपछि पनि माधवतिरै नजर
शुक्रबार, ३१ वैशाख २०७८, १६ : ३६
शुक्रबार, ३१ वैशाख २०७८

केपी शर्मा ओलीको विकल्पमा नयाँ सरकार दिन नसकेपछि माओवादी अध्यक्ष प्रचण्ड समीक्षा बैठक बस्न भन्दै शुक्रबार बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगे । तर, माओवादीका नेताहरु चाहिँ यस्तो समीक्षा बैठक काँग्रेस नेताको घरमा हैन, आफ्नै पार्टीभित्र गर्नुपर्ने बताउँछन् ।

अब प्रधानमन्त्री ओलीले देशलाई चुनावतर्फ धकेल्न खोजिरहेका छन् । यो अवस्थामा काँग्रेस, जसपा वा माधव नेपाल समूहको मात्र पछि लागिरहने कि पार्टीले आफ्नो आन्तरिक तयारी पनि गर्ने ? यसबारे गम्भीर भएर समीक्षा गर्नुपर्ने बेला आएको माओवादी नेताहरुको बुझाइ छ ।

यसै सन्दर्भमा अहिले माओवादी पार्टीभित्र प्रचण्डले माधव नेपालसँग गरेको सहकार्य र संगतबाट के फाइदा भयो भन्ने अनौपचारिक बहस सुरु भएको छ । माधव नेपालसँग मात्र होइन कहिले काँग्रेससँग त कहिले एमालेसँग हुँदै आएको गठबन्धनमाथि नै समीक्षा हुनुपर्ने माग माओवादीभित्र उठ्न थालेको एक नेताले नाम उल्लेख नगर्ने शर्तमा रातोपाटीलाई बताए ।

ओलीदेखि ओलीसम्म

संविधान निर्माण पूर्व ठूला दलहरुबीच सत्ता साझेदारीका विषयमा पनि राजनैतिक सहमति जुटेको थियो । सोअनुसार केपी ओली प्रधानमन्त्री हुने र सुशील कोइराला राष्ट्रपति हुने भनिएको थियो । तर, ओली प्रधानमन्त्री बन्ने सहमति लागू भए पनि सुशील कोइराला राष्ट्रपतिको उम्मेदवार हुने सहमति पालना भएन । सहमतिविपरीत कोइराला ओलीविरुद्ध प्रधानमन्त्रीको उम्मेदवार बने । परिणामतः संविधान कार्यान्वयन गर्ने प्रक्रिया बिथोलियो ।

तथापि माओवादीको समर्थनमा केपी ओली पहिलोपटक प्रधानमन्त्री बने । तर, उनको सरकार सहमति र समीकरणको मर्मअनुसार अगाडि बढेन । ओली सरकार माओवादीसँगको लिखित सहमतिविपरीत चल्न थालेपछि परिस्थितिले कोल्टे फेर्‍यो । केपी ओलीले सहमति उल्लंघन गरेको भन्दै माओवादीले र काँग्रेससँग सत्ता साझेदारीको अर्को सहमति ग¥यो । प्रचण्डले पहिलो पालो ९ महिना पूरा गरेर देउवालाई सत्ता हस्तान्तरण गरे । उक्त गठबन्धनले स्थानीय निर्वाचनमा सहकार्य गर्ने निर्णय ग¥यो ।

काँग्रेस–माओवादीले स्थानीय निर्वाचनमा तालमेल मिलाएर अघि बढ्ने निर्णय गरे । तर, काँग्रेसले हँसिया हथौडा चुनाव चिन्हमा भोट हाल्ने रुची नगरेपछि परिणामतः प्रचण्डलाई क्षति पुगेको माओवादी नेताहरुको तर्क छ ।  त्यसको समेत शिक्षा लिएर प्रचण्डले जनार्दन शर्मामार्फत केपी ओलीसँग र वर्षमान पुनमार्फत काँग्रेससँग चुनावी तालमेलका लागि गृहकार्य बढाए ।

अन्ततः केपी ओलीसँगको सहकार्य र एकतामा प्रचण्डले आफ्नो भविष्य सुरक्षित देखे । विभिन्न पक्षको दबाव र धम्कीका बाबजुद प्रचण्ड एमालेसँग चुनावी तालमेल र पार्टी एकतासम्म पुगे ।

नेपाली भूराजनीतिक अवस्थाको साङ्गो पाङ्गो विश्लेषण र नेपाली राजनैतिक नेतृत्वको मनोदशाको सही आँकलनबिनै प्रचण्ड कम्युनिष्ट आन्दोलनको सुन्दर भविष्य, राष्ट्रिय समृद्धि र राजनैतिक स्थिरता जस्ता मीठा–मीठा सपनामा रमाए ।

ओलीलाई छाडेर माधव नेपालतिर

पार्टी एकताको केही समयपछि प्रचण्ड केपी ओलीसँगको सहकार्य छोडेर माधव नेपालको बचाउमा लागे । त्यो कुरा केपी ओलीलाई मन पर्ने कुरा भएन । प्रचण्ड आफ्ना केही नेताहरुको सल्लाहमा ओलीलाई माइनस गर्नुपर्छ र नेपालसँग मिल्नुमा फाइदा हुनेछ भन्नेमा विश्वस्त हुँदै गए ।

ओलीनिकट नेताहरुले ‘माधव नेपाल पिँध नभएका लोहोटाजस्तै हुन्, उनी ओलीले चाहेमा १० मिनेटमै मिल्छन्, तपाई भ्रममा नपर्नुस्’ भनेर प्रचण्डलाई सचेत नगराएका पनि होइनन् । तर, प्रचण्ड–माधव मोहमा परिरहे ।

माधव नेपालले आफू अन्तर्राष्ट्रिय विभागको प्रमुख भएकाले अन्तर्राष्ट्रिय शक्तिसमेत मिलाउन सक्ने क्षमता आफूसँग भएको भनेर प्रचण्डलाई थप विश्वस्त गराए । सुरेन्द्र पाण्डे र घनश्याम भुसालहरुले ‘केपी ओली त केही होइन’ भन्ने झलनाथको विश्लेषणसहित प्रचण्डलाई ढुक्क गराएको माओवादी नेताहरु सुनाउँछन् ।

यहीवीचमा ओलीसँग सत्ता साझेदारीको सन्दर्भसहित प्रचण्डसँग वैचारिक अन्तरहरु पनि देखिन थाले । बीच–बीचमा प्रचण्डले पार्टी एकता भाँडिएला कि भनेर विभिन्न कार्यदलहरु बनाएर नेकपाको एकता बचाउने प्रयास पनि नगरेका होइनन् । तर, ओलीले बिहान प्रचण्डलाई, दिउँसो बामदेवलाई र राति माधवलाई बोलाएर सबैलाई आफूपछिको नेता बनाइदिने भनेर आश्वासन दिँदै विश्वस्त पार्न खोजेको कुरा तीनजना बीच खुल्दै गयो । फलतः प्रचण्ड–माधव गठबन्धन कसिँदै गयो ।

प्रचण्डलाई ओली विरुद्धको प्रस्ताव तयार पार्न माधव नेपाल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतम र झलनाथ खनालहरुले आ–आफ्ना तुसहरु निकाल्न र कतिपयले त पार्टी विभाजन गराउनका लागि ‘आफूलाई प्राप्त जिम्मेवारी’ पूरा गर्न प्रस्तावको मस्यौदासमेत बुझाएको माओवादी नेताहरु सुनाउँछन् ।

ती सबै मस्यौदा केलाएर प्रचण्डले आफ्नो राजनैतिक चतु¥याँई समेत थपथाप गरी ओलीविरुद्धको प्रस्ताव तयार पारे । ओलीबारे उठाइएका कैयौं प्रश्नहरु गलत नभए पनि त्यसको उद्देश्य पार्टी विभाजन बाहेक अर्को थिएन भन्ने ओली पक्षका नेताहरुको बुझाइ रहँदै आएको छ ।

पार्टी विभाजन हुँदा माधव नेपालले आफ्नो पक्षको बहुमतसहित माओवादीसमेत ठूलो पार्टी बन्ने र आफू कुनै पनि सर्तमा ओलीसँग मिल्न नसक्ने कुरा गरे, त्यसमै प्रचण्ड विश्वस्त बने । माधव नेपालले प्रचण्डलाई ‘तपाई बढी लचक, अस्थिर हुनुहुन्छ, ओलीसँग मिल्न जान सक्नुहुन्छ’ भन्दै ओलीसँग मिल्न नजाने प्रतिवद्धता गर्न लगाए । त्यसलाई परिपक्व बनाउन नारायणकाजी श्रेष्ठले पनि थप भूमिका खेलेको बताइन्छ ।

यसवीचमा पूर्वमाओवादीका युवा नेताहरु पनि पार्टी एकता बचाउने कि माधव नेपालसहितको मोर्चा बनाउने भन्ने कुरामा विभाजित देखिए । बादल, टोपबहादुरहरु त प्रचण्डलाई नै छोडेर ओलीसँग गए ।

ओलीले संसद विघटन गरेको घटनाबाट प्रचण्डले उठाएका सैद्धान्तिक विषयहरु सही सावित भए पनि पार्टी एकताचाँहि बच्न सकेन ।

पार्टी फुटेपछि पनि माधव नेपालतिरै नजर

संसद विघटनपछि नेकपाभित्रको विवादका कारण अनौपचारिकरुपमा विभाजित भइसकेको पार्टीमा ओली कमजोर देखिएका थिए । तर, त्यहीबेला नेकपा विभाजित पार्ने सर्वोच्च अदालतको फागुन २३ को निर्णयले ओलीलाई बलियो बनाइदियो ।

अदालतको निर्णय आउनासाथ माधव नेपालहरु संघर्षको हुँकार गर्दै ‘ओलीसँग आमने–सामने गर्न गएको’ बहानाबाजी गरे । तर, प्रचण्डलाई ‘हामी तपाईसँगै हुनेछौँ’ भनी विश्वास दिलाइरहे । प्रचण्ड पनि माधव नेपाल र घनश्याम भुसालका ‘क्रान्तिकारी अभिव्यक्ति’ को प्रभावमा परिरहे । उनीहरुको आन्तरिक रणनीति प्रचण्डले बुझ्न सकेनन् । प्रचण्डले उनीहरुको सैद्धान्तिक जामाभित्रको रहस्य बुझ्न नसकेको माओवादीको दोस्रो तहका नेताहरु बताउँछन् ।

प्रतिगमनकारी घोषित ओलीभन्दा आफूलाई सैद्धान्तिक नेता ठान्ने घनश्याम भुसाल र ओलीसँग मिल्नै नसक्ने भनिएका माधव नेपाल गोकुल बाँस्कोटाको मन्त्रणापश्चात ओलीसँग सहमतिमा पुग्नु प्रचण्डका लागि आश्चर्यको विषय भए पनि एमाले पार्टीको वर्गीय धरातल र उनीहरुले लिएका नीतिका दृष्टिले त्यो बिलकुल स्वाभाविक थियोे ।

माधव नेपाल र सुरेन्द्र पाण्डे लगायतका लागि त यो सहमति र एकता राजनैतिक दृष्टिले मात्र नभई अन्तर्राष्ट्रिय सम्बन्ध रक्षाका दृष्टिले समेत महत्वपूर्ण रहेको छ । अरु त अरु, माधव नेपालले सरकारको नेतृत्व लिन सम्भव नरहेको भनेर सक्रिय नभएका शेरबहादुर देउवा समेतलाई आफूसँग कम्तिमा पनि ३० सांसद भएको र केपी ओलीका विरुद्ध जुनसुकै बलिदान गर्न पनि तयार रहेको भनी नयाँ सत्ता समीकरणका लागि हौस्याए र नेपाल आफूचाँहि ओलीको शरणमा पुगे ।     

रनभुल्ल प्रचण्ड

यतिखेर प्रचण्ड रनभुल्लमा पर्दै नयाँ बाटो खोजिरहेका छन् । बाबुराम भट्टराई र उपेन्द्र यादवसहित शेरबहादुर देउवासँगको सहकार्यमा प्रतिपक्षी मोर्चामा उनले आफूलाई उभ्याएका छन् ।

अब प्रचण्डले उक्त मोर्चाको स्थायित्व र विश्वसनीयताबारे पनि आजै समीक्षा गर्न जरुरी देखिएको सो पार्टीका नेताहरु बताउँछन् । माओवादीका कतिपय कार्यकर्ताहरु अब प्रचण्डले अरुको भरमा परेर होइन, आफ्नै खुट्टामा उभिएर पार्टी निर्माण र राजनैतिक परिचालन गर्नुपर्नेमा जोड दिन्छन् ।

माओवादी आन्दोलनका उपलब्धिहरु धरापमा परेसँगै माओवादी पार्टीको भविश्य पनि धरापमा परेको कुरा प्रचण्डले बुझ्न अब पनि ढिला गर्न नहुने उनीहरुको धारणा छ । मुद्दा खोसिएको माओवादी आन्दोलन इतिहासको ब्याजमा हुर्कन सक्ने छैन भन्ने कुरा बेलैमा बुझ्नु जरुरी रहेको दोस्रो पुस्ताका माओवादी नेताहरुको निश्कर्ष छ ।

पछिल्लो समयमा अस्थिर देखिए पनि शान्ति प्रक्रियायताका अधिकांश सहमतिहरु कार्यान्वयन गर्न–गराउन प्रयासरत प्रचण्डले आजको अवस्था बेहोर्नु पछाडिका कारणहरुबारे  अब पार्टीभित्रै गम्भीर समीक्षा गर्नुपर्ने माओवादीका युवा नेताहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप