कोरोनाले जनकपुर–जयनगर रेल प्रभावित
-अजयकुमार साह
धनुषा । कोरोनाका कारण जनकपुर–जयनगर रेल सेवा प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको बताए । हालै रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भइसकेको छ ।
रेल्वे सञ्चालन गर्न नेपाली कर्मचारीलाई भारतीयले दश दिनसम्म प्रशिक्षण दिएका थिए । कोरोनाको बढ्दो कहर र निषेधाज्ञाका कारण ती भारतीय कर्मचारी तत्कालको लागि घर फर्केका छन् । महाप्रबन्धक भट्टराईले भने, “यस पटक रेल्वे सञ्चालनको अन्तिम तयारीमा थियौँ, तर समयले धोका दियो ।” उनले अवस्था सामान्य बनेपछि रेल सञ्चालन गरिने बताए ।
नेपाल सरकारले भारतबाट २०७७ असोज ७ मा दुई रेल ल्याएको थियो । रेल आएको दिन जनकपुरधाम सम्म परीक्षण स्वरुप चलाएर ल्याए पनि ७ महिनादेखि धनुषाको खजुरीको स्टेसनमा दुवै रेल सशस्त्र प्रहरीको सुरक्षामा त्रिपालले छोपेर राखिएको छ ।
नेपालले भारतीय कम्पनी कोनकन रेल्वे कर्पोरेसनसँग ८५ करोड रुपैयाँमा दुई रेल खरिद गरेको हो । नेपालको राष्ट्रिय झण्डाको रातो, नीलो र सेतो रङ्ग लगाइएको रेल इन्जिनसहित ६ वटा डब्बामा एकपटकमा १२ सयदेखि १३ सय यात्रु यात्रा गर्नसक्ने क्षमताको छ । यसअघि नेपालमा कोइला इञ्जिन भएको रेल चल्ने गथ्र्यो जुन सात वर्षदेखि बन्द छ । अहिले ल्याइएको रेल डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधि (डिइएमयु) को छ ।
रेल सञ्चालनका लागि कम्पनीले विभिन्न पदमा सयजना कर्मचारी नियुक्त गरेको छ । पहिलो चरणमा जय नगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर रेल सञ्चालन हुने महाप्रबन्धक भट्टराईले बताए । उनले बाँकी १७ किमी कुर्थादेखि बिजलपुरासम्म चालु आर्थिक वर्षभित्र नै सञ्चालन हुने जानकारी दिए । भारतको जय नगरदेखि कुर्थासम्म रेल्वे सञ्चालनका लागि ३ हल्ट र ५ स्टेशन निर्माण गरिएको छ ।
सरकारले सो रेल सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति भर्ना गर्ने बाटो खोलेको थियो । जसअनुसार आवश्यक दक्ष जनशक्ति करारमा नियुक्त गर्न सैद्धान्तिक स्वीकृति दिइएको हो । रेल्वे कम्पनीका अनुसार विभिन्न ४५ पदका लागि २ सय २६ दरबन्दी आवश्यक छ । नेपालसँग कोइलाबाट चल्ने ‘न्यारोगेज’ रेल मात्रै चलाएको अनुभव छ । अहिले चलाउन लागिएको ‘ब्रोडगेज’ रेलबारे नेपालसँग अनुभव नभएको हुँदा भारतीय प्राविधिक कर्मचारीमार्फत शुरुमा रेल सञ्चालन गरिने बताइएको छ । पहिलो चरणमा जनकपुरसम्म चल्ने रेल महोत्तरीको बिजलपुरासम्म चलाउने सरकारको योजना छ । जयनगरबाट आउने रेललाई ४ वर्षभित्र बर्दिवासमा पूर्व–पश्चिम रेलमार्गसँग जोडेर निजगढसम्म ल्याउने घोषणा सरकारले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय निजामती सेवा विधेयकको प्रस्तावना संशोधन गर्न सहमति
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका कर्मचारीलाई ६ महिना कैद
-
मधेस सरकारको कामकाज भाषाको प्रस्तावप्रति आपत्ति
-
सिमेन्ट महँगो भएर निर्माण कार्य गर्नै नसक्ने अवस्था आएको छ : सांसद श्रेष्ठ
-
रावलको पक्षमा लाग्ने अछामका ६ जना एमाले नेताको जिम्मेवारी खोसियो
-
गृहमन्त्री लेखक र एडीबी निर्देशकबिच भेटवार्ता