शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निजी अस्पतालको साझा प्रश्न : सरकार कहाँ छ ? हामी खोजिरहेका छौं

कोरोनाको उपचारमा निजी अस्पतालले हात उठाएकै हुन् त ?
शुक्रबार, ३१ वैशाख २०७८, १० : ५७
शुक्रबार, ३१ वैशाख २०७८


कोरोना महामारीले उग्र रुप लिन थालेसँगै अक्सिजनको अभाव देखाउँदै काठमाडौं उपत्यकाका निजी अस्पतालहरुले धमाधम हात उठाउन थालेका छन् । नयाँ कोरोनाका बिरामी लिन नसक्ने बताउँदै अस्पतालहरुले सूचना नै जारी गरिसकेका छन् । मुलुकभर अक्सिजनको हाहाकार भइरहँदा जिम्मेवार बन्नुपर्ने देशका ठूला र नाम चलेका अस्पतालहरुले नै हात उठाउन थालेपछि कोरोना संक्रमित झन मारमा परेका छन् ।

आफूलाई मुलुकको सुविधासम्पन्न अस्पताल घोषणा गर्न अग्रसर हुने अस्पतालहरू अक्सिजन प्लान्ट राख्ने, मर्मत सम्भार गर्ने, सिलिन्डरको व्यवस्था गर्नेतर्फ लाग्नुभन्दा यस परिस्थितिबाट पन्छिन खोज्नुले सरकारको मात्रै होइन, निजी क्षेत्रको पनि निरीहपन छर्लङ्ग भएको छ ।

हेलीप्याडदेखि आफूलाई अन्तर्राष्ट्रिय स्तरको अस्पताल भन्दै प्रचार गर्ने अस्पतालहरुले नै आज कोभिडका बिरामी लिन सक्दैनौं भन्दै सूचना जारी गर्नुले अबको अवस्था के होला, सहजै अनुमान लगाउन सकिन्छ ।

​स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै आफ्नो सिफारिसबिना कुनै पनि सरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई अक्सिजन सिलिन्डर बिक्री–वितरण नगर्न अक्सिजन उत्पादक कम्पनीहरुलाई निर्देशन दिएलगत्तै निजी अस्पतालहरुले नयाँ कोभिडका बिरामी लिन नसक्ने घोषणा गरेका हुन् ।

केही दिन अगाडि एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल (अफिन) का महासचिव हेमराज दाहालले विज्ञप्ति जारी गर्दै आफ्नै बलबुताले कोभिड संक्रमितको उपचारको व्यवस्थापन गरिरहेका अस्पतालहरुले स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णयका कारण चाहेर पनि बिरामी लिन नसक्ने अवस्था आउन सक्ने बताएका थिए । त्यसको केही दिनदेखि धमाधम निजी अस्पतालहरुले सूचना जारी गर्दै नयाँ बिरामी लिन नसक्ने जनाएका हुन् ।

अक्सिजनको चरम अभाव हुन थालेसँगै काठमाडौं उपत्यकासहित उपत्यका बाहिरका अस्पतालहरुले पनि नयाँ कोभिडका बिरामी भर्ना लिन नसक्ने जनाइसकेका छन् । यो अवस्थामा अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेर हुन्छ कि देशमै अक्सिजन उत्पादन बढाएर हुन्छ, जनताको जीवन रक्षामा तत्परता देखाउनु राज्यको दायित्व होइन र ?

​यसै सन्दर्भमा हामीले नेपालमा नाम चलेका र आफूलाई मुलुककै अत्याधुनिक अस्पताल घोषणा गरेका तीनवटा ठूला अस्पताललाई सोधेका छौं, यस्तो विषम परिस्थितिमा पनि तपाईको अस्पतालले हात उठाएकै हो त ?

हामी सरकार खोजिरहेका छौं : नर्भिक अस्पताल

कोभिड महामारी फैलिएसँगै गत वर्षदेखि नै कोभिड बिरामीको उपचार गर्दै आएको काठमाडौंको नर्भिक अस्पतालले अहिले नयाँ बिरामी लिन नसक्ने जनाइसकेको छ । आफूलाई अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न अस्पताल बताउँदै आएको नर्भिकले दोस्रो लहरको महामारी फैलिएसँगै आफूलाई कोभिड अस्पतालमा रुपान्तरण गरेको थियो । सोहीअनुसारको सेवा दिँदै आएको यस अस्पतालले पनि अन्ततः हात उठाएको छ ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह नर्भिक अस्पताल कार्डियो, न्यूरो, ग्यास्ट्रोलगायतका लागि स्पेसलाइज्ड अस्पताल भए पनि आफूसँग प्रशस्त साधन, स्रोत अनि जनशक्ति भएकाले यो महामारीमा जनतालाई सेवा दिनुपर्छ भन्ने दायित्व बोध गरी कोभिड अस्पतालको रुपमा रुपान्तरित भएको बताउँछन् ।

सिंह भन्छन्, ‘हामीसँग अक्सिजन प्लान्ट, आईसीयू, भेन्टिलेटरको व्यवस्था राम्रो भएकाले कोभिडका बिरामीको उपचार गर्न हामी तयार भयौं । यो दोस्रो लहरको महामारीमा गम्भीर प्रकृतिका बिरामी यति बढे कि हामीले धान्न नसक्ने अवस्थामा पुग्यौं ।’

आफ्नो साधन स्रोतको पूरापूर प्रयोग गर्दा पनि धान्न नसक्ने भएपछि अन्य अक्सिजन प्लान्टहरुबाट खरिद गर्दै आएको अक्सिजन पनि अब नपाइने अवस्था आएको बताउँदै सिंह रातोपाटीसँग भन्छन्, ‘सरकारले कोटा छुट्याएर अक्सिजन दिने भएपछि कसरी धान्ने ? यस्तो अवस्थामा हामीले थप बिरामी लिन नसक्ने जनाएका हौं ।’

सरकारसँग अन्य मेडिकल उपकरण भन्दा पनि कोभिडका बिरामीको उपचारका लागि चाहिने प्राणवायु अक्सिजन पर्याप्त उपलब्ध गराइदिन पर्यो भनिरहेको बताउँदै उनले भने, ‘यो अवस्थामा झनै कोटा पो निर्धारण गरियो । जेनतेन चलाइरहेका थियौं, अब कसरी धान्ने ? अवस्था असहज भएको सिंह बताउँछन् ।

नर्भिकमा दिनमा ३८ वटासम्म सिलिन्डर निकाल्ने प्लान्टसमेत छ । तर, यसको ६ सय प्रतिशत बढी चाहिने अवस्था रहेको सिंह बताउँछन् । यस्तोमा कसरी धान्ने ? बाहिरबाट हारगुहार गर्दै ल्याएर चलाइराखे पनि अब धान्न निकै कठिन भएको सिंह बताउँछन् ।

सरकारको कुनै सहयोग नहुँदा पनि महामारीमा डटेर लागेको सिंह बताउँछन् । सरकारले पर्याप्त तयारी नगर्दा आजको अवस्थाको सामना गर्नुपरेको सिंहको भनाइ छ ।

उनी भन्छन्, ‘हामी पछि हटेका छैनौं । मात्र हामीलाई पर्याप्त अक्सिजनको व्यवस्था गरिदिनुपर्यो, जति परे पनि खरिद गर्न हामी तयार छौं । ३ सयको हाराहारीमा कोभिडका बिरामीको उपचार गरिरहेका छौं । अहिले भर्ना भएका लगभग सबैलाई अक्सिजन दिनुपर्ने हुन्छ । यस्तोमा अक्सिजन पुर्याउन नै मुस्किल भएपछि नयाँ  बिरामी भर्ना नलिने भनेका हौं ।’

अहिले नर्भिकमा कार्यरत ४० जना चिकित्सक, नर्स तथा कर्मचारीमा संक्रमण भइसकेको छ । यस्तो अवस्थामा पनि नआत्तिई अस्पतालका सवै स्वास्थ्यकर्मी लागिराखेको सिंहले बताए । जोखिम मोलेर यो अवस्थामा सेवा दिइरहेको अस्पताललाई प्रोत्साहन गर्दै सहयोग गर्नुको साटो उल्टो असहयोग भएको उनको भनाइ छ ।

सिंह भन्छन्, ‘सरकार कहाँ छ ? हामी खोजिरहेका छौं । यो देशमा सरकार छ भने आउनुपर्यो अगाडि, के छ अवस्था बुझ्नुपर्यो । कागजमा लेखेको जस्तो हुँदैन । यति र उती सिलिण्डर दिएँ भन्छ सरकार, खै कहाँ दियो ? अब हामीले रातारात अक्सिजन प्लान्ट राख्न सम्भव छ ? यतिका समयसम्म सरकारले राख्न नसकेको निजी अस्पतालले कसरी राख्ने ?’

सरकारले बाटो देखाइदिए दिनरात बिरामीको सेवा गर्न तयार रहेको सिंहले बताए । उनले अब अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेर भए पनि नागरिकको ज्यान जोगाउन सरकारसमक्ष अपिल गरे ।

हात उठाउन हाम्रो धर्मले दिँदैन : मेडिसिटी

ललितपुर भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालले गत वर्षदेखि नै कोभिडका बिरामीको उपचार गर्दै आइरहेको थियो । आफूलाई नेपालकै सबैभन्दा ठूलो र सुविधासम्पन्न अस्पताल बताउने मेडिसिटीले पनि कोभिड १९ को विश्वव्यापी महामारीले निम्त्याएको हालको यस अवस्थामा आएर थप बिरामी लिन नसक्ने बतायो ।

मेडिसिटी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा प्रवक्ता  कोभिडको यो विकराल अवस्थामा अस्पताल, डाक्टर, नर्स कसैले पनि हात उठाउने कुरै नभएको र यो स्वास्थ्यकर्मीको धर्मले पनि नदिने बताउँछन् । उनले मेडिसिटी अस्पतालले हालको अवस्थामा सबैभन्दा बढी कोभिडका गम्भिर अवस्थाका विरामीको उपचार गरिरहेको पनि दाबी गरे ।

उनले अस्पतालले कोभिड र ननकोभिडलाई उत्तिकै स्थान दिइरहेको पनि बताए । अहिले अस्पतालमा १ सयजना भन्दा बढी ननकोभिड बिरामीहरु तथा १२० जनाभन्दा बढी कोभिडका बिरामीहरुको उपचार भइरहेको डा. राणाले बताए ।

राणाका अनुसार हाल मेडिसिटीमा ४० जनाभन्दा बढि कोभिडका बिरामीलाई भेन्टिलेटरसहितको विभिन्न सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ भने ननकोभिडका २० जनाको भेन्टिलेटर सहितको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

यी सबैलाई अक्सिजनको आवश्यकता पर्छ । त्यसबाहेकका पनि कोभिडका अन्य बिरामीलाई अक्सिजन आवश्यक पर्छ । दिनमा न्यूनतम ५ सय सिलिन्डर अक्सिजनको आवश्यकता भए पनि सोअनुसारको अक्सिजन नहुँदा अस्पताल समस्यामा परेको डा. राणाले बताए ।

मेडिसिटीको आफ्नै अक्सिजन प्लान्ट ‘स्वपान मेडिकल इन्डष्ट्रिज’ पनि छ । त्यहीबाट व्यवस्थापन हुँदै आएपनि हाल सरकारले त्यस इन्डष्ट्रिबाट अन्य अस्पताललाई पनि वितरण गर्न भनेपछि धान्न मुस्किल भएको उनले बताए । ‘स्वपान मेडिकल इन्डष्ट्रिज’मा १२ हजार लिटरसम्म अक्सिजन उत्पादन गर्ने क्षमता छ तर सय लिटरभन्दा बढि एउटा अस्पताललाई नदिन सरकारले निर्देशन दिएपछि आफ्नै अस्पतालले पनि नपाएको उनले बताए ।

डा. राणा भन्छन्, ‘अस्पतालले सम्पूर्ण क्षमता, जनशक्ति र संयन्त्रको उपयोग गरी कोभिडका बिरामीहरुको उपचारमा संलग्न भइरहे पनि अक्सिजनको चरम अभाव हुन थालेपछि थप बिरामी लिन नसक्ने बताएका हौं ।’

डा. राण अगाडि भन्छन्, ‘कसैलाई दोष दिने उद्देश्य हाम्रो होइन । तर सरकारी तवरबाट अस्पतालको क्षमता, अस्पतालले दिने सुविधा, अस्पतालमा रहेका उपकरण, जनशक्ति सबै अनुगमन गरेर मात्र कोटा निर्धारण गर्नुपर्ने थियो । हामीलाई दैनिक ५ सय सिलिन्डर आवश्यक पर्छ त्यसमा १ सयमात्र दिने भने पछि त हामीले कसरी उपचार गर्ने ? बिरामी लिने तर उपचारका लागि चाहिने अक्सिजन नै नभएपछि त्यो जोखिम लिनु उचित भएन । अझै पनि हामी पछि हटेका छैनौं । अस्पतालको बलबुताले भ्याएसम्म उपचार गरिरहन्छौं ।’

डा. राणा पश्न गर्छन, यो भयावह अवस्थामा बाहिर निस्किएर संक्रमितको उपचारमा दिनरात खटिने भनेको स्वास्थ्यकर्मी नै हुन्, अब के यी स्वास्थ्यकर्मीलाई काम गर्ने सहज वातावरण दिनु जरुरी छैन ?

ढोका थुनेका छैनौं, स्रोतले भ्याएसम्म सेवा जारी छ : ओम अस्पताल

काठमाडौंको चावहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले पहिलो लहरको कोरोना संक्रमण फैलिएदेखि नै कोभिडका बिरामीको उपचार गर्दै आइरहेको थियो । दोस्रो लहरको कोरोना फैलिएपछि पनि कोभिडका बिरामीको उपचार गरिरहेको यस अस्पतालले अहिले आएर अब नयाँ बिरामी लिन नसक्ने भन्दै सूचना जारी गरेको छ ।

ओम अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिश जोशी अक्सिजनको चरम अभाव हुन थालेपछि सरकारले नै अस्पतालहरुलाई अक्सिजनको कोटा छुट्याउँदा झनै समस्या भएकाले नयाँ बिरामी लिन नसकेको बताउँछन् ।

कोभिडका गम्भीर प्रकृतिका बिरामी बढ्न थालेका बेला बिरामीको उपचारमा प्रयोग हुने प्राणवायु अक्सिजन नै आपूर्ति नभएपछि बिरामी लिन नसकेको डा. जोशीले रातोपाटीलाई बताए । अस्पतालसँग जनशक्ति र ठाउँ हुँदाहुँदै पनि अक्सिजनको अभाव हुँदा समस्या भएको उनी बताउँछन् ।

‘पहिला जतिले पुग्ने गरेको थियो, त्यसको तुलनामा अहिले अक्सिजनको खपत बढी हुन थाल्यो । अक्सिजनको माग बढ्दा हामीसँग भएका सबै प्लान्टहरुबाट सतप्रतिशत उत्पादन हुँदा पनि धान्ने अवस्था नै रहेन’ डा. जोशी भन्छन्, ‘यता सरकारले पनि अस्पतालहरुलाई कोटाको आधारमा दिने भएपछि कसरी धान्ने ?’

अस्पताल आफैंले पनि अक्सिजन प्लान्ट राख्ने योजनाको सुरुवात गरे पनि आजको भोलि नै सम्भव नभएकाले सरकारी प्लान्टको भर पर्नुपरेको तर सरकारले साथ नदिँदा हात उठाउन बाध्य भएको उनी बताउँछन् ।

महामारीले घेरिसक्दा सरकारले कुनै चासो नदिएको अवस्थामा आफ्नो मात्र प्रयासले सम्भव नभएको डा. जोशीको भनाइ छ । मुलुकका ठूला सरकारी अस्पतालहरुमा पनि अक्सिजन प्लान्ट नभएको बताउँदै जोशी भन्छन्, ‘कि त देशभरका अस्पतालको मापदण्ड एउटै हुनुपर्यो, होइन भने यसरी कोटा छुट्याइदिँदा बिरामी मारमा परेका छन् ।’

अस्पतालमा भर्ना भएका संक्रमितमध्ये ८० प्रतिशत बढी बिरामीलाई अक्सिजन अनिवार्य भएको यस अवस्थामा थेग्नै नसकिएको उनले बताए । समस्या मात्रै खोज्ने तर समाधान नखोज्ने परिपाटीबाट गुज्रिरहँदा आज जनताले दुःख पाएको डा. जोशीको तर्क छ । राज्यले समयमा खोपका लागि पहल गरेर जनतालाई खोप दिन मात्र पाएको भए पनि यो अवस्था नआउने उनी बताउँछन् ।

डा. जोशी भन्छन्, ‘निजी तथा सहकारी अस्पतालहरुले राज्यसँग केही अपेक्षा गरेका छैनन् तर सेवा सरलीकरणमा भने राज्यको भूमिका महत्वपूर्ण हुनुपर्ने हो ।’

उनी अगाडि थप्छन्, ‘आजसम्म स्रोत र साधनले भ्याएसम्म कोभिडका बिरामीको उपचार गरिरहेको छौं । आगामी दिनमा पनि गर्छौं । हामीले ढोका थुनेका होइनौं । क्षमताअनुसार हाम्रो सेवामा कमी आउँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप