शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना उपचारका नाममा निजी अस्पतालको ब्रह्मलुट

बिरामी भर्ना अगावै २ लाख धरौटी, दैनिक उपचार खर्च ५० हजारसम्म
शुक्रबार, ३१ वैशाख २०७८, ०९ : ३७
शुक्रबार, ३१ वैशाख २०७८

विराटनगर । ताप्लेजुङ, फुङलिङका ५२ वर्षीय कोरोना संक्रमित पुरुषमा श्वाससम्बन्धी समस्या भएपछि झापाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलको कोभिड वार्डमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

ती संक्रमितकी छोरीका अनुसार अस्पतालले धरौटीबापत दुई लाख रकम लिएरमात्र उपचार सुरु गरेको छ । ‘बुबालाई अस्पताल भर्ना अगावै अस्पतालले हामीसँग दुई लाख रुपैयाँ धरौटी राख्न लगायो,’ उनले भनिन्, ‘त्यसपछिमात्र बुबालाई भर्ना लिएर अस्पतालले उपचार सुरु ग¥यो ।’

अस्पतालमा राखेको धरौटीबाहेक पनि औषधि लगायतका आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री जोहो गर्न दैनिक ५० हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको उनले बताइन् । मोरङ केराबारीका त्रिलोचन्द्र थापाको समस्या पनि उस्तै छ । ६५ वर्षीय कोरोना संक्रमित बुबाको उपचारमा चार दिनमै डेढ लाख रुपैयाँ सकिएको उनले बताए । उनले भने, ‘तर यतिका पैसा सकिए पनि बुबाको स्वास्थ्यमा कुनै सुधार भएको छैन । अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।’

विराट टिचिङ हस्पिटलमा दैनिक भेन्टिलेटर चार्जमात्र २० हजार रुपैयाँ तिर्दै आएको उनले सुनाए । सो अस्पतालले एक लाख धरौटी राख्न लगाएको र अन्य विविध शीर्षकमा चर्को शुल्क लिँदै आएको उनको गुनासो छ ।
यी दुई दृष्टान्तले नै कोरोना संक्रमितको उपचार खर्च सामान्य परिवारले धान्न नसक्ने प्रस्ट देखाउँछ ।

कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको तथा अस्पतालका शय्याहरु भरिएका समाचार आइरहेका समयमा ती अस्पतालमा भर्ना भएका बिरामीको उपचार खर्चबापत अस्पतालले असुल गरिरहेका शुल्कबारे कसले अनुगमन गर्ने ? प्रश्न उब्जिनु स्वाभाविक हो । त्यसैले पनि बिरामी र आफन्तहरु मारमा पर्दै आएका छन् ।

प्रदेशमा दिनहुँ संक्रमण बढिरहेको अवस्थामा एकातर्फ संक्रमितले सहजरुपमा अस्पतालमा भर्ना पाउन छाडेका छन् भने भर्ना पाइहालेको खण्डमा पनि अस्पतालको गेटमा पुग्दा नपुग्दै धरौटीका नाममा लिने ठुलो रकमका कारण धेरै बिरामीका आफन्त यतिखेर आर्थिक तथा मानसिक संकटमा परेका छन् ।

बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोरोना संक्रमितको उपचार अगावै २ लाख धरौटी राख्नुपर्ने प्रावधान बनाएको छ । ‘कोरोना संक्रमित भर्ना गर्दा २ लाख रुपैयाँ धरौटी राख्नुपर्ने अस्पतालको नियम छ,’ अस्पतालका निर्देशक दुर्गा प्रसाईले रातोपाटीसँग भने, ‘कोभिड–१९ संक्रमित बिरामीका लागि अस्पतालले तोकेको न्यूनतम धरौटी शुल्क हो यो, क्षमता हुने र सक्नेले योभन्दा माथि जति राखे पनि हुन्छ ।’

उनले कोभिडको समयमा यसरी सेवा दिनु नै ठुलो कुरा भएको बताए । ‘तपाईहरु यस्तो बेलामा अस्पतालले उपचार दियो भनेर चाहिँ भन्नुहुन्न, कोभिडको बेलामा अस्पताल कसरी चलाएको रहेछ भनेर एकपटक हेर्न आउनुहोस्, अनि तपाईको आँखाबाट आँशु झर्छ,’ उनले भने ।

यता सरकारको स्वीकृतिमा कोभिड अस्पताल सञ्चालन गरिरहेको नोबेलमा बिरामीका आफन्तले बेहोर्नुपरेको दुःख पनि कम छैन । कोरोना उपचारको सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने बताए पनि विभिन्न नाममा अस्पतालले शुल्क लिने गरेको बिरामीका आफन्त बताउँछन् । तर नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले उपचारको नाममा छुट्टै शुल्क नलिएको दाबी गरे ।

‘बिरामी भर्ना हुँदादेखि उपचार सम्पन्न भएको अवधिसम्म अस्पतालले बिरामीको आफन्तबाट कुनै शुल्क उठाउँदैन,’ दाहालले भने, ‘बिरामीका आफन्तले बिरामी हेर्न जानका निम्ति दैनिक दुई जोर पिपिई र आवश्यक औषधि खरिद गरे पुग्छ ।’

प्रदेश १ प्रदेशसभाको सामाजिक विकास समितिका सदस्य एव नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले निजीस्तरमा सञ्चालित कोरोना विशेष अस्पतालहरु संक्रमितको उपचारमा भन्दा पनि कसरी बढी आर्थिक लाभ लिन सकिन्छ भन्नेतर्फ केन्द्रित भएको बताए ।

सामाजिक विकास समितिले प्रदेशका कोभिड अस्पतालको अनुगमन तथा निरीक्षणका क्रममा विराट अस्पताल, झापाको बिएण्डसी अस्पतालमा संक्रमितको उपचार अगावै धरौटीको नाममा ठुलो रकम लिने गरेकाले बिरामीको आफन्त थप मानसिक पीडा ब्यहोर्न बाध्य पाइएको उनको भनाइ छ ।

‘अस्पताल भर्ना अगाबै बिरामीका आफन्तले ठुलो रकम धरौटीको नाममा अस्पताललाई बुझाउनपर्ने बाध्यता एकातर्फ छ भने उपचारका नाममा बिरामीका आफन्तले थप दैनिक ५० हजारभन्दा बढी खर्च गर्नुपर्ने बाध्यात्मक अवस्था छ,’ उनले रातोपाटीसँग भने ।

संक्रमित बिरामी निको भएर घर फर्कदा कम्तीमा पनि उसले उपचार खर्चको नाममा न्यूनतम् ६ देखि १० लाख रुपैयाँ अस्पताललाई बुझाउनु पर्ने स्थिति रहेको आफुले अनुगमन तथा निरीक्षणको क्रममा पाएको उनले बताए । प्रदेश १ मा कोरोना संक्रमितले निजी अस्पतालमा उपचारको नाममा हुँदै आएको लुटको धन्दा नियन्त्रण गरी नागरिकलाई सर्वसुलभ उपचारको प्रबन्ध मिलाउन समितिले प्रदेश सरकारलाई निर्देशनसमेत दिएको कार्कीको भनाइ छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार हाल ४५५ जना कोरोना संक्रमित विभिन्न कोभिड अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । नेपाल सरकारको स्वीकृति लिएर प्रदेशमा अहिले विराटनगरको नोबेल र बुढीगंगास्थित शिक्षण अस्पतालमा कोरोना संक्रमितको उपचार हुँदै आएको छ । झापाको बिएण्डसी अस्पतालले आफ्नै हिसाबले कोरोना संक्रमितको उपचार गर्दै आएको छ ।

एकैदिन ५ देखि ५० हजार रुपैयाँसम्म असुली

१८ वैशाखदेखि सरकारले संक्रमितको उपचार खर्च बेहोर्ने निर्णय गरे पनि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र विराट शिक्षण अस्पतालले कोरोना संक्रमितको उपचारमा प्रतिदिन ५ देखि ५० हजार रुपैयाँसम्म शुल्क लिँदै आएका छन् ।

विराट टिचिङमा जनरल बेडको प्रतिदिन ४ हजार ६२५ रुपैयाँ, आइसियुको १५ हजार र भेन्टिलेटरसहित आइसियुको ३० हजार रुपैयाँ लिने गरेको छ । झापाको बिएण्डसी अस्पतालमा भने जनरल बेडको प्रतिदिन ८ हजार, अक्सिजनसहितको बेडको प्रतिदिन ३५ हजार र भेन्टिलेटरको ४२ हजार रुपैयाँ शुल्क लिने गरेको छ ।

बिएण्डसीका निर्देशक प्रसाईले यो शुल्क काठमाडौंका अस्पतालभन्दा कम रहेको दाबी गरे । उनले अस्पतालमा उच्चतम प्रविधिका उपकरण प्रयोगमा रहेकाले पनि शुल्क तलमाथि पर्नु स्वाभाविक भएको बताए ।

गरिब उपचारविहीन हुने स्थिति कुनै हालतमा स्वीकार्य हुन्न : मुख्यमन्त्री

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले निजी अस्पतालहरुमा आर्थिक अवस्था नाजुक भएका, असहाय र ज्येष्ठ नागरिकहरु उपचार पाउने अधिकारबाट बञ्चित हुने अवस्था आएको खण्डमा त्यस्ता अस्पताललाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

पहिला नै अस्पतालले धरौटीको नाममा बिरामीबाट ठुलो रकम लिने भएकाले रकम अभावमा कसैको पनि उपचार रोकिने अवस्था सिर्जना हुन नदिनेतर्फ वातावरण तयार गर्न उनले सम्बन्धित अस्पतालहरुलाई आग्रह गरे ।
‘महामारीको अवस्थामा संक्रमितको उपचारमा अस्पतालहरु केन्द्रित हुन जरुरी छ,’ उनले भने, ‘उपचारका लागि अस्पताल पुग्ने बिरामीबाट अस्पतालले उपचार अगावै विभिन्न शीर्षकमा ठुलो रकम असुल्ने काम तत्काल रोकिनुपर्छ ।’
संक्रमितको उपचारभन्दा पनि पैसालाई महत्व दिने कुरा कहीँ कतैबाट हुन्छ भने सरकार त्यस्ता अस्पतालप्रति निर्मम ढङ्गले उत्रिन बाध्य हुने उनको चेतावनी छ । आर्थिक अवस्था नाजुक भएका, असहाय र ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने सरकारको नीति भएकाले यसको कार्यान्वयन निजी हस्पिटलले पनि गर्नुपर्ने उनले प्रस्ट पारे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप