मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको सत्तारोहण : पदमुक्त भएको तीन दिनमै प्रधानमन्त्री नियुक्त, साढे २ बजे शपथ

बिहीबार, ३० वैशाख २०७८, २२ : ११
बिहीबार, ३० वैशाख २०७८

पदमुक्त भएको तीन दिनपछि नै एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका छन् । विहीबार राति राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । सपथ ग्रहण भने शुक्रबार दिउँसो साढे २ बजे हुने शीतलनिवासले जनाएको छ ।

वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र काँग्रेस–माओवादीले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबैभन्दा बढी सदस्य भएको दलको हैसियतमा एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख छ । 

यसअघि आजै राष्ट्रपति कार्यालयले विहीबार राति एक विज्ञप्ति जारी गर्दै धारा ७६(२) अनुसार कसैको पनि दाबी नपरेको उल्लेख गरेको थियो ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समयसीमा बिहीबार राति ९ बजे सकिएको थियो । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास गरिएको भए पनि अन्तिम समयमा आएर नेकपा एमालेको नेपाल खनाल पक्षले असहयोग र जसपाकै महन्थ ठाकुर केपी ओलीतिर ढल्किँदा वैकल्पिक सरकार बनाउने योजना तुहिएको थियो ।

प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली वैशाख २७ मा पदमुक्त भएका थिए ।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाएका थिए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो ।

प्रतिनिधिसभामा भएको मतदानमा २३२ सांसदहरु सहभागी थिए । तीमध्ये १५ सांसदहरु तटस्थ बसेका थिए ।

ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले अबको एक महिनामा फेरि संसदमा विश्वासको मत लिनुपर्नेछ ।

यसअघि २०७४ साल फागुन ३ गते माओवादी केन्द्रको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका थिए । पछि दुई पार्टी एकता भएर नेकपा बनेको थियो ।

तर, गत फागुन २३ को सर्वोच्चको फैसलासँगै नेकपा विभाजित बनेपछि भने माओवादीले ओलीलाई साथ नदिएपछि ओली सरकार संकटमा परेको थियो ।

सो अघि २०७२ असोज २५ मा उनी पहिलो पटक  प्रधानमन्त्री बनेका थिए । यससँगै ओलीले प्रधानमन्त्रीमा ह्याट्रिक पूरा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप