बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नौ सातादेखिको एमाले विवाद : तत्काललाई टर्‍यो कि सधैँलाई ?

राजीनामा दुई–चार दिनलाई टर्‍यो : माधव नेपाल
बिहीबार, ३० वैशाख २०७८, २१ : ०७
बिहीबार, ३० वैशाख २०७८


नेकपा एमालेभित्र नौ सातादेखि चलेको आन्तरिक संघर्ष अन्ततः कार्यदल बनाएर टुंग्याउन नेताहरु सहमत भएका छन् । यो सँगै एमालेमा चर्किएको लामो समयदेखिको विवाद तत्काललाई पछि धकेलिए पनि साम्य भने भैसकेको छैन ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालझण्डै साढे चारघण्टा छलफल गरेर कार्यदलमार्फत विवाद सुल्झाउँदै अघि बढ्न सहमत भएका हुन् ।

ओलीसँगको वार्तापछि नेता नेपालले सर्वोच्च अदालतको फैसलापछि पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने विषयमा छलफल भएको र त्यसलाई सम्वादमार्फत टुंग्याउने आफूहरु बीच सहमति भएको प्रतिक्रिया दिए । यसको अर्थ नेता नेपाल पक्षले भन्दै आएको फागुन २८ को निर्णय खारेज गर्न ओली सहमत भएका छन् ।

स्रोतका अनुसार विवाद निरुपण गर्न तत्काल १० सदस्यीय कार्यदल बनाउन पनि दुई नेता तयार भएका छन् । दुवैतर्फका पाँच–पाँच जनाको कार्यदल बनाउने भए पनि बिहीबारको छलफलमा सात जनाको नाम मात्रै टुंगो लागेको बुझिएको छ ।

​कार्यदलमा सुवास नेम्वाङ, विष्णु पौडेल शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल र गोकर्ण विष्टको नाममा दुवै नेता सहमत भएका छन् । तर, उनीहरुले कार्यदलमा रहने नेताहरुको नाम भने सार्वजनिक गरिसकेका छैनन् । बाँकी नाम सहमतिका आधारमा थप्दै जाने दुई नेताबीच सहमति भएको छ ।

ओली र नेपालबीच बूढानीलकण्ठस्थित चपली हाइटमा रहेको क्याप्टेन रामेश्वर थापाको घरमा भएको भेटवार्तामा ओली फागुन २८ को निर्णय सच्याउन तयार भएपछि विवाद सहमतिउन्मुख बनेको हो ।

ओली फागुन २८ बाट पछि हट्ने भएपछि तत्कालका लागि नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा समेत रोकिएको नेता नेपालले सञ्चारकर्मीलाई बताए ।

‘विवाद सुल्झाउन मैले प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा छलफल भयो, फागुन २८ निर्णय फिर्ता गर्ने र जेठ २ को अबस्थामा फर्काउन एउटा विधि बनाएर जाने सहमति भएको छ’, नेपालको भनाइ छ ।

कारवाही फिर्ता गरेपछि वार्ता

सर्वोच्च अदालतले गत फागुन २३ गते माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपालाई वैद्यता नदिएपछि २०७५ जेठ ३ मा भएको दुई पार्टीको एकता भंग भएको थियो । नेकपा अस्तित्वमा रहेकै समयदेखि ओली र माधव पक्ष बीचको सम्बन्ध सुमधुर हुन सकेको थिएन । सर्वोच्चको फैसलापछि अध्यक्ष ओलीले झलनाथ खनाल माधव नेपाल पक्षलाई बेवास्ता गर्दै एकलौटी निर्णयहरु गरेका थिए ।

अदालतको फैसला आएको ५ दिनपछि ओलीले आफू पक्षीय बैठक राखेर विधान संशोधनदेखि नेताहरुलाई कारवाही गर्ने, हटाउने र अन्य पार्टीका नेतालाई जिम्मेवारी दिने निर्णय गरेका थिए । त्यसको प्रतिवादमा खनाल नेपाल समूहले देशभर समानान्तर संगठन विस्तार गरेको थियो । यसबीचमा नेता नेपाल र ओलीबीच सार्वजनिक रुपमै एकअर्कालाई तल्लो स्तरमा उत्रेर गाली गरेका थिए । त्यतिमात्रै होइन, प्रदेश सरकार ढाल्ने र बनाउने सम्मका गतिविध भएका थिए ।

पछिल्लो समय माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेर संसदमा ओलीले विश्वासको मत गुमाएपछि भने ओली केही लचक बन्दै आएका थिए । सो अनुसार ओलीले नेता नेपालसहित चार जनालाई पार्टी सदस्यबाटै गरेको निलम्बन बिहीबारै स्थायी समिति बैठक बसेर फुकुवाको घोषणा गरेका थिए । त्यसलगत्तै ओली र नेपालबीच वार्ता भएको थियो ।

ओलीअघि कानुन व्यवसायीसँग परामर्श

नेता नेपालले बिहीबारै कानुन व्यवसायीहरुसँग समेत परामर्श गरेका थिए । उनले आफुहरुले राजीनामा गर्दा सत्ता समिकरणमा हुने फेरवदल र त्यसपछि आउने कानुनी जटिलता लगायतका नाफा घाटाका विषयमा कानुनका जानाकारसँग परामर्श गरेका हुन् । त्यसअघि अर्थमन्त्री समेत रहेका विष्णु पौडेल नेता नेपालको घरमै पुगेर राजीनामा रोक्न आग्रह गरेका थिए ।

यता, संसदमा ओलीले विश्वासको मत गुमाएको र नयाँ सरकारका लागि राष्ट्रपतिले दिएको समयसीमा नजिकिँदै गएका बेला नेता नेपालको समूहले सांसदबाट राजीनामा दिएर नयाँ सरकार गठनमा सहयोग गर्ने अपेक्षा काँग्रेस माओवादीले लिएका थिए ।

तर, नेता नेपाल ओलीसँगै मिलेपछि नयाँ सरकारका लागि संसदीय अंकगणितमै फेल खाने अवस्था आएपछि ओली प्रधानमन्त्रीमा दोहोरिने बाटो खुलेको हो ।

माधव नेपालले के भने ?

केपी ओलीसँगको भेटपछि नेता नेपालले सञ्चारमाध्यममा दिएको प्रतिक्रिया यस्तो छ–

तपाई र प्रधानमन्त्री केपी ओलीका बीचमा के कुराकानी भयो ?

हामी दुईजनाका बीचमा कुराकानीहरू भए । पार्टीभित्रका समस्याहरूका बारेमा हामीले आफ्नो –आफ्नो सोचाइ राख्यौं । मैले बैशाख २६ गते जारी गरेको वक्तव्य र कमरेड केपी ओलीलाई पठाएको पत्रमा ६ बुँदे जे प्रस्ताव अगाडि सारेको थिएँ, त्यसमा केन्द्रित भएर छलफल गरियो ।

छलफलमा सहमति जुट्यो ?

छलफल गरिसकेपछि फागुन २८ गतेको निर्णय फिर्ता गर्ने, त्यसपछि भएको निर्णयहरु र सर्वोच्चको फैसलाबमोजिम पार्टीलाई जेठ २ गतेको अवस्थामा पु¥याउने र पार्टीलाई नयाँ ढंगले अघि बढाउनका लागि हामीले कुन तरिका अवलम्बन गर्ने हो भन्नेबारेमा छलफल जारी राख्ने कुरा भएको छ । कुरा जारी छ । र, अब विभिन्न तहमा कुराकानीहरू अगाडि बढ्छ ।

तपाईहरुले दिने भनेको सामुहिक राजीनामा के भयो ?

अब राजीनामा दुई–चार दिनलाई टर्‍यो  । राजीनामा दिने कुरा थियो, आज भएन । दुईचार दिन टर्‍यो ।

अब कार्यदल बन्छ कि ?

जेठ २ मा फर्कने कुरामा पोजेटिभ्ली सोचेर कुराकानी अगाडि बढाउने । कुन तरिकाबाट गर्न सकिन्छ भनेर उपाय खोजी गरेर गर्ने । कार्यदल बन्छ । मिल्ने दिशामा अगाडि बढ्न खोज्या छ । अब सबै कुराहरु कार्यदल बनाएर तय हुन्छ । ... सहमतिका आधार टुंगो लाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप