मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कपालको स्याहार : केमिकलबाट कसरी जोगाउने ?

बिहीबार, ३० वैशाख २०७८, १५ : ५०
बिहीबार, ३० वैशाख २०७८

ग्राहकका व्यवहार, आनीबानी र खरिदारी प्रक्रिया दिन प्रतिदिन परिवर्तन हुँदै गइरहेका छन् । हाम्रो खानपानदेखि हामीलाई चाहिने परिधान, हेरचाहका सरसामान लगायत स्वास्थ्य उपयोगी वस्तुहरू सबैका सन्दर्भमा विश्वका सबै उपभोक्ताले नयाँ दृष्टिबाट उत्पादन तथा ब्रान्डको खोजी गरिरहेका छन् ।

विश्वभर र नेपालमा समेत आजभोलि ग्राहकहरूले आफ्ना व्यक्तिगत स्याहारसम्बन्धी ब्रान्डको खोजी गर्दा धेरैजसो प्राकृतिक तथा स्वच्छ उत्पादन खोज्ने गरेको पाइन्छ । उपभोक्ताका व्यवहारमा देखापरेका यी परिवर्तन हानिकारक केमिकलयुक्त उत्पादनले आफ्नो स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभावलाई लिएर पनि हुन सक्छ ।

हिजो आज खरिद कर्ताहरूले स्याम्पु र कन्डिसनरहरूमा सल्फेट र पाराबेन भए नभएको तर्फ औंल्याउन थालेका छन् । यी सामान सबैको खरिद सूचीमा पर्ने अनिवार्य सामान हुन् । ती उत्पादनले पनि त्यस्तै छानविनको चुनौतीको सामना गरिरहेका छन् ।

सल्फेट तथा पाराबेन तत्त्व स्याम्पु र कन्डिसनरबाट गजगजी फिँज निकाल्नका लागि प्रयोग गर्ने गरिन्छ । यसले दीर्घकालमा केसको स्वास्थ्य खराब गर्छ । साथै यी तत्त्व शिरको संवेदनशील भागका लागि पनि अनुपयुक्त हुन्छन् ।

पछिल्लो समय नेपालमा पनि स्थानीय उत्पादन किन्ने परम्परा बढेको छ । यसले ग्राहकहरूको ब्रान्ड रोज्ने निर्णयमा समेत धेरैभन्दा धेरै प्रभाव पार्दै गएको छ । उपभोक्ताका लागि अहिले स्वास्थ्य नै पहिलो प्राथमिकता हो । र, ब्रान्डहरूले पनि आफ्नो सबैभन्दा ठूलो जित नै ग्राहकको माग अनुसारको उत्पादन गर्नुपर्ने ठान्छन् । विभिन्न उत्पादनको उपलब्धता र ती उत्पादनसम्मको सहज पहुँचले पनि ग्राहकका चाहना र रुचि सुहाउँदो उत्पादनको बारेमा जानकारी राख्न सजिलो बनाइदिएको छ ।

शिक्षित व्यक्तिहरूको वृद्धि, आय स्तर र मानिसको जीवन स्तरमा भएको परिवर्तनको वृद्धिदरले उपभोक्ता ब्रान्ड प्रति सजग भएका छन् । यस्तै ई–कमर्स जस्ता साइटमा पाइने ब्रान्डसम्बन्धी प्रशस्त सूचनाले पनि उपभोक्तालाई छनोटका धेरै विकल्पहरु प्राप्त भएका छन् । स्याम्पु र कन्डिसनरहरूको प्रयोगमा पनि ग्राहकहरूले सल्फेट र पाराबेन नभएको स्याम्पु तथा कन्डिसनर उपयोग गर्नेतर्फ सचेत भएका छन् । प्राकृतिक, प्रयोगका दृष्टिले सुरक्षित र सल्फेटमुक्त हेयर क्लिनरले अन्य स्याम्पुको तुलनामा कपाललाई बढी मुलायम र चम्किलो बनाउँछ ।

सौन्दर्य ब्लगर र प्रेरकले पनि आफ्ना पाठक तथा फलोअर्सलाई सल्फेट र पाराबेन नभएको स्याम्पु तथा कन्डिसनरबाट प्राप्त हुने लाभका बारेमा जानकारी दिएका छन् । र, त्यसलाई अपनाउन प्रेरित गर्ने गरेका छन् । सल्फेट र पाराबेन नभएका स्याम्पु र कन्डिसनर प्रयोग गर्नाले हुने केही फाइदा यस प्रकार छन् :

प्राकृतिक तेल कायम रहन्छ : सल्फेटरहित स्याम्पूहरूको एक मुख्य काम भनेको कपालको प्राकृतिक चमकतालाई जस्ताको तस्तै राखेर कपालको सफाइ गर्नु हो । यो सबै सम्भव हुनुको एक मात्र कारण भनेकै प्राकृतिक तेललाई कुनै हानी नपुर्‍याई जोगाउनु हो । सल्फेटरहित हेयर क्लिनरहरूले कपालको रेसाहरूलाई त्यसमा भएका प्राकृतिक तेल नहटाई सफा गर्ने गर्छ ।

पर्याप्त आद्रता ग्रहण गर्छ : केशलाई टुक्रिन र झर्न नदिन कपालमा आद्रता हुनु जरुरी हुन्छ । सल्फेट भएका स्याम्पुहरूले केशका रेसाहरूबाट आद्रता हटाइदिन्छन्, जसले गर्दा कपाललाई रुखो तथा फुस्रो बनाइदिन्छ । अर्कोतर्फ सल्फेटरहित हेयर क्लिनरहरूले कपालमा भएको प्राकृतिक आद्रतालाई बचाई राख्न सघाउँछ ।

जलन/सुजन कम गर्छ : सल्फेटहरू कडा रसायन भएकाले तिनीहरूले शिरलाई सुख्खा तथा सुजन बनाउन सक्छन् । यो अनियन्त्रित भएमा जलन पनि पैदा हुन सक्छ । यस विपरीत, सल्फेटरहित केश उत्पादनहरू कोमल हुन्छन्, जसले गर्दा त्यस प्रकारका समस्याबिना नै तपाईंको कपाललाई सौम्य सफा गर्छ ।

केशको रङ कायम राख्छ : केश रङ्ग्याउनु अधिकांश मानिस नियमित कार्य नै हो । यद्यपि रङ कतिसम्म टिकिरहन्छ भन्ने चाहिँ तपाईंले आफ्नो केशको स्याहार कसरी गर्नु हुन्छ भन्नेमा नै निर्भर रहन्छ । सल्फेट नभएको राम्रो स्याम्पुको प्रयोग गर्नाले तपाईंको केशमा लगाइएको रङको आयु पनि लामो समयसम्म रहिरहन्छ । यसले तपाईंलाई बारम्बार आफ्नो कपाल रंगाउनबाट जोगाउनेछ ।

यसका अतिरिक्त सल्फेट र पाराबेनरहित स्याम्पु र कन्डिसनरहरू वातावरणका लागि पनि सुरक्षित हुनाको साथै संवेदनशील शिरका लागि उपयुक्त छन् र यो नपोल्ने तथा जुनै किसिमको कपालको लागि सुहाउँदो छ । हुन त रसायनमुक्त उत्पादनहरूको प्रयोग गर्ने भन्ने कुरा अझै पनि सुषुप्त अवस्थामा नै छ । तर पनि ग्राहकमा यसप्रतिको चेतना र सजगता दिनप्रतिदिन बढ्दै गइरहेको छ । 

यसको व्यापक प्रयोग नहुनुका केही कारणहरूमा यससँग सम्बन्धित अफवाहहरू पनि हुन् । यस्ता अफवाहमध्ये केही सल्फेट तथा पाराबेनरहित उत्पादन बढी महँगो हुने र बजारमा सजिलै नपाइने भन्ने हो भने केही मानिसहरूको विचारमा धेरै फिँज नआउने स्याम्पु तथा कन्डिसनर राम्रो गुणस्तरका हुँदैनन् भन्ने पनि हो ।

यसैले उपभोक्ताहरूलाई उनीहरूले आफ्नो शरीरका लागि केकस्ता उत्पादन प्रयोग गरिरहेका छन् भन्ने बारेमा सचेत गराउनु नितान्त जरुरी भइसकेको छ । साथै स्वास्थ्यवद्र्धक उत्पादन प्रयोग गर्ने बानी बसाल्न लगाउनु पनि आवश्यक भएको छ । –विवेक लिम्बुबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप