बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

नागरिकको स्वास्थ्यका लागि राष्ट्रिय ध्वजाबाहकको उच्च सक्रियता

बिहीबार, ३० वैशाख २०७८, १५ : ३८
बिहीबार, ३० वैशाख २०७८

काठमाडौं । नेपाल यतिखेर दक्षिण एसियामै कोभिड–१९ महामारीको उच्च जोखिम र पीडामा अगाडि बढिरहेको छ । सङ्ख्यात्मक रूपमा भारत कोरोनाबाट प्रभावित ठूलो जनसङ्ख्या भए पनि नेपालमा जनसङ्ख्याका आधारमा गत हप्ताबाट भारतभन्दा बढी प्रभावित रहेको तुलनात्मक तथ्याङ्कले पुष्टि गरेको छ ।

कोरोनाको यो भेरियन्ट निकै छिटो सर्ने कारणले आगामी दिनमा सङ्क्रमितको सङ्ख्या बढ्नुका साथै मृत्युदरसमेत वृद्धि हुने प्रक्षेपण गरिएको सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नागरिकको जीवन रक्षार्थ जिम्मेवारीपूर्ण क्रियाशील रहेको छ । हाल ३० हजार अतिरिक्त सिलिण्डरको आवश्यकता टड्कारो रूपमा देखापरेको छ । 

यो कोरोना भेरियन्टबाट प्रभावित आम नागरिकको जीवन रक्षार्थ अक्सिजन मुलुकमा उत्पादित भए पनि मुख्यरुपमा सिलिन्डरको अभावले गम्भीर समस्या उत्पन्न भएको समय र सन्दर्भमा मित्रराष्ट्र चीन सरकारले अनुदानस्वरुप नेपाललाई दिएको दुई हजार थान अक्सिजन सिलिन्डरमध्ये राज्यअधिनस्थ राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले यही वैशाख २८ गते आफ्नो जहाजको क्षमता बमोजिम ४०० थान सिलिन्डर चार्टर्ड उडानमार्फत ल्याइसकेको छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजनमा निगमले बाँकी एक हजार ६०० अक्सिजन सिलिन्डर लिन पुनः चीनको राजधानी बेइजिङ उडान पठाइने भएको छ । निगमका निर्देशक एवं प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार तालुक पर्यटन मन्त्रालयबाट बुधबार निगमलाई प्राप्त निर्देशन बमोजिम निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलसहितका सम्बन्धित उच्च व्यवस्थापनले उच्च सक्रियताका लागि आन्तरिक गृहकार्य सम्पन्न गरेको छ ।

प्रवक्ता श्रेष्ठले निगमको वाइडबडी जहाज ए–३३० उडान नम्बर आरए ४२५१ उक्त खाली अक्सिजन सिलिन्डर लिन मे १५, १६, १७ र १८ तारिखमा बेइजिङ नेपाली समय तालिकाअनुसार राति ११ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तयारी रहेको जानकारी दिइन् । काठमाडौँ–बेइजिङ उडान ५ः४५ घण्टाको हुने प्रक्षेपण गरिएको छ । यसैगरी निगमको जहाज कल साइन आरए ५२५२ बाट मे १६, १७, १८ र १९ तारिखमा ६ः२० को उडान यात्रा पूरा गरी उक्त सामग्री नेपाल ल्याउने योजना निगमको छ ।

निगमका सहप्रवक्ता सुलेख मिश्रले दिएको जानकारीअनुसार चीन स्थित नेपाली राजदूतावासले चीनमा रहेका नपाली समुदायसँग नेपालका लागि हाल अतिआवश्यक खाली अक्सिजन सिलिन्डरका लागि गरेको समन्वय पनि प्रशंसनीय रहेको बताए ।
निगमका प्रवक्ता श्रेष्ठका अनुसार चीन सरकारको दुई हजार अक्सिजन सिलिन्डर अतिरिक्त चीन स्थित नेपाली एनआरएन आइसिसीले सहयोगमा १०० थान, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होंसी ग्रुपले २७ थान र करुणा फाउण्डेशनको सहयोगमा ११० थान गरी कूल अतिरिक्त ३१३ अक्सिजन सिलिन्डर नेपाल आउने बताइएको छ ।

उक्त मेडिकल चार्टर्डको व्यवस्थापन सम्बन्धमा निगमका सहप्रवक्ता मिश्रले निगम राष्ट्रिय ध्वजाबाहक भएको हैसियतले राष्ट्र र नागरिकको आवश्यकता बमोजिम सदैव उत्तर दायित्वबोधसहित विगतदेखि नै क्रियाशील रहिआएको बताउँछन् । कुनै बेला मुलुकमा इन्धनको सङ्कट उत्पन्न हुँदा विसं २०४६ ताका निगमको जहाजमार्फत इन्धन ढुवानी गरिएको थियो । हाल आवश्यक अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री ढुवानीमा निगमको सम्बन्धित टोली क्रियाशील रहेको जनाइएको छ ।

निगमको जहाजले यसअघि चीनबाट ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र १६० थान अक्सिजन कन्सर्नटेटर ल्याएको थियो । कोभिड–१९ महामारीको असहज अवस्थामा उद्धार उडान तथा अत्यावश्यक सामग्री ओसारपसारमा निगमका जहाज विपद्का उडान सारथी बनिरहेका छन् । यसअघि कोभिडको पहिलो लहरका क्रममा पनि निगमका वाइडबडी जहाजले चीनका विभिन्न शहरबाट औषधिजन्य सामग्री तथा उद्धार उडान गरेको थियो ।

अहिलेको विपद्को अवस्थामा सरकारबाट निर्देशन भएमा कुनै पनि बेला अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगम तयारी अवस्थामा रहेको जनाइएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइडबडी ए–३३० र दुई न्यारोबडी ए–३२० जहाज छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप