बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चितवन राष्ट्रिय निकुञ्जमा गौरी गाई गणना शुरु

बिहीबार, ३० वैशाख २०७८, १२ : ३२
बिहीबार, ३० वैशाख २०७८

चितवन  राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत संकटापन्न अवस्थाको जङ्गली गाई (गौरी गाई)को गणना चितवन राष्ट्रिय निकुञ्जमा शुरु गरिएको छ । निकुञ्जले पाँच वर्षपछि मङ्गलबारबाट सो गणना थालेको हो । 

गौरी गाईको पछिल्लो अवस्थाको बारेमा जानकारी लिने उद्देश्यले यसको आन्तरिक अनुगमन तथा गणना शुरु गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले बताए । गणनाका लागि निकुञ्जका २२ हात्ती र ६० जना जनशक्ति परिचालन गरिएको छ । गणना बढीमा पाँच दिनभित्र सकाउने लक्ष्य छ ।  
निकुञ्जको सम्भावित चुरे, भावर र नदी तटीय क्षेत्रमा सालको वनसँग जोडिएका घाँसे मैदानलाई १४ ब्लकमा विभाजन गरी प्रत्यक्ष अवलोकन विधिबाट गणना भइरहेको छ । सन् २०१६ को गणनाअनुसार पर्सा र चितवन राष्ट्रिय निकुञ्जमा गरी ४७३ गौरी गाई रहेकामा चितवनमा ३६८ छन् । सन् १९५० को दशकमा उदयपुर तथा कोशी टप्पु क्षेत्रमा प्रशस्त पाइने यो पछिल्ला दिनमा देखिन छाडेको छ । सन् २०११ को गणनामा ३१२ वटा थिए । 

नेपाल र भारतसमेत दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका ११ देशमा यसका ३ उप प्रजाति पाइन्छ । विशेष गरी सुख्खा भागमा बस्न रुचाउने यसको सरदर आयु २० देखि ३० वर्ष हुन्छ । ठूलो झुण्डमा बस्न रुचाउने यो वन्यजन्तु कहिलेकाँही बाघको शिकारमा पनि पर्ने गरेको छ । भाले गौरी गाई ६०० देखि १००० किलोग्रामसम्म हुछन् । प्रायः एउटा हुलमा ८ देखि ११ वटा गाई रहने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप