शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञा जारी गर्न बाँकी चार जिल्ला

बुधबार, २९ वैशाख २०७८, २३ : १५
बुधबार, २९ वैशाख २०७८

काठमाडौं । मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ सङ्क्रमण नियन्त्रणको प्रयास जारी राखेका छन् । मुलुकमा अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ । हालसम्म ७३ जिल्लाले निषेधाज्ञा जारी गरी सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् । त्यसमध्ये सात जिल्लामा आंशिक आदेश लागू छ । 

यद्यपि सङ्क्रमणको गति भने कम हुनाको साटो बढ्दो छ । नेपालमा यही वैशाख ७ गतेदेखि आदेश जारी गरी नियन्त्रणको प्रयास भएको थियो । वैशाख १६ गतेदेखि भने आदेश जारी गर्ने क्रम तीव्र भएको थियो । एक महिनाका अवधिमा करीब करीब मुलुक नै ठप्प हुन पुगेको छ । 

स्वास्थ्य विज्ञले यसपालिको परिवर्तित रुप गत वर्षभन्दा बढी सङ्क्रामक रहेकाले अझै केही हप्ता घरमै बसेर सङ्क्रमणको जालो तोड्नुपर्ने सुझाव दिएका छन् । विवरणानुसार मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङले निषेधाज्ञा जारी गरेका छैनन् । यद्यपि सङ्क्रमण फैलिन नदिन प्रयास भने जारी राखिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

मनाङले भने वैशाख १३ गतेको निर्णयानुसार आवश्यक तयारीका साथ सम्पर्कमा रहेका व्यक्तिको परीक्षणलाई तीव्रता दिँदै आएकामा आजको निर्णयले अत्यावश्यक काम नपरी बाहिर ननिस्कन, जात्रा मेलालगायत भीडभाड हुने काम नगर्न र विवाहमा १५ भन्दा बढी सहभागी नहुन निर्देशन जारी गरेको छ । 

मुस्ताङले जिल्ला प्रशासन कार्यालयबाट दिने अत्यावश्यकबाहेक सेवा रोकिसकेको छ ।  खोटाङले आदेश जारी नगरे पनि भीडभाड हुने गतिविधिमा रोक लगाइसकेको छ ।  रुकुम (पूर्व) ले पनि आज रातिदेखि लागू हुने गरी आंशिक आदेश जारी गरिसकेको छ । उसले गाडीका हकमा जिल्लाभर नै सञ्चालनमा रोक लगाएको तथा अन्य विषयमा स्थान तोकेर आदेश जारी गरेको छ । कम सङ्क्रमित रहेको तेह्रथुमले भने अहिलेसम्म कुनै सूचना  जारी गरेको छैन ।

गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोहीअनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताउँछन् । मुलुकमा पछिल्ला केही दिनदेखि नौ हजारमाथि दैनिक सङ्क्रमित फेला पर्दै आएका छन् तथा मृतक तीन अङ्क देखिँदै आएको छ । मुलुकमा अक्सिजन र सिलिन्डर तथा सघन उपचार कक्ष, भेन्टिलेटर र शय्यासमेत अभाव हुँदा बिरामीको मृत्यु  हुन थालेको छ । 
नेपालमा पछिले साताको विश्लेषण गर्दा संक्रमितको सङ्ख्या ५१ प्रतिशतले वृद्धि भइरहेको छ । कोरोनाबाट नेपालमा ४४ भन्दा बढी जिल्ला प्रभावित भएको जनाइएको छ । भारतभन्दा नेपालमा संक्रमण र मृत्यु दर निकै बढी रहेको मन्त्रालयका सरुवा रोग विशेषज्ञ डा.अर्चना श्रेष्ठले जानकारी दिइन् ।

नेपालमा प्रति १० लाख ३०४ र  भारतमा  २४० मात्रै सङ्क्रमण दर रहेको छ । नेपालमा प्रति १० लाखमा ३.३ जनाको मृत्यु भइरहेको छ । यो भारतको भन्दा बढी हो । भारतमा २.५ जनाको मृत्यु भएको तथ्याङ्क छ ।  पोजिटिभिटी दर भारतभन्दा नेपालमा दोब्बर  छ । प्राप्त विवरणानुसार भारतमा २२.६ प्रतिशत पोजिटिभिटी दर रहेकामा नेपालमा ४५.१ प्रतिशत छ । नेपालमा आजदेखि सक्रिय सङ्क्रमितको संख्या एक लाख नाघिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप