प्रधानमन्त्रीमा दाबी गर्नेबारे जसपामा छलफल
जनता समाजवादी पार्टी नेपाल(जसपा) ले सरकारको नेतृत्वका लागि दाबी गर्ने तयारी गरेको छ । सत्ता समीकरणका लागि दुई खेमामा विभाजित जसपाका नेताहरुबीच बुधबार भएको कुराकानीमा यो विषयले प्रवेश पाएको हो ।
आन्तरिक द्वन्द्वका कारण जसपाका अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच सम्वादहीनताको अवस्था सिर्जना भएपछि अध्यक्ष डा. भट्टराईले आज अध्यक्ष ठाकुर र अन्य नेताहरुसँग पार्टी कार्यालय बबरमहलमा छलफल गरेका छन् । छलफलमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई लगायत थिए ।
केपी ओलीलाई बहिर्गमनका लागि जसपाले वैकल्पिक सरकार दिनुपर्ने र त्यस दिशातर्फ छलफल अगाडि बढाउनुपर्ने प्रस्ताव अध्यक्ष भट्टराईले गरेको स्रोतले जनाएको छ ।
यस विषयमा एकपटक माओवादी केन्द्र र काँग्रेससँग छलफल गर्ने अध्यक्ष भट्टराईको प्रस्ताव थियो । त्यसको जवाफमा अध्यक्ष ठाकुरले तटस्थ बस्ने भनिसकेपछि सरकार र सत्ताका बारेमा कुनै पनि छलफल नगर्ने भनेका थिए ।
जसपाले देशको नेतृत्व गर्ने भएपछि त्यसका लागि एकपटक प्रयास किन नगर्ने भन्ने डा.भट्टराईको तर्क थियो । त्यसपछि ठाकुरले हुन्छ, एकपटक कुरा गरौं कुरा गर्दैमा केही बिग्रिँदैन भनेको स्रोतले बतायो ।
परिषदका अध्यक्ष भट्टराईले छलफल जारी रहेको विकल्प दिनका लागि एकीकृत निर्णय गराउन हरेक कोणबाट छलफल भइरहेको र भोलिसम्म एउटा निष्कर्षमा पुग्ने प्रतिकृया दिएका छन् ।
अध्यक्ष भट्टराईले आजै सर्वदलीय सरकारको सुझाव समाजिक सञ्जालमार्फत दिएका छन् । वर्तमान तथा पूर्वप्रधानमन्त्रीबाहेकले सरकारको नेतृत्व गर्ने प्रस्ताव पनि डा.भट्टराईको थियो । सोही सेरोफेरोमा रहेर आफ्नो पार्टीमा उनले छलफल चलाएका हुन् । पार्टीको शीर्ष तहमा भोलि पनि छलफल हुने बताइएको छ ।
अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले आजै प्रधानमन्त्री केपी शर्मा अोलीसँग दुईपटक भेटिसकेका छन् भने एकपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटमा आफूहरु सरकार निर्माणका लागि तटस्थ नै बस्ने कुरा दोहोर्याएका थिए । आफ्ना पार्टीका सांसदहरु एक ढिक्का रहेको र सांसद संख्या अझै बढ्ने बताएका थिए । ओलीसँग उनीहरुका बीचमा लामो कुराकानी भएको थियो ।
त्यसपछि अध्यक्ष ठाकुर र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर जसपा नेपालको एक नम्बरको अध्यक्ष ठाकुर रहेको र अध्यक्ष उपेन्द्र यादवबाट आउने निर्णयहरुलाई मान्यता दिन आग्रहसहितको पत्र बुझाएको दाबी स्रोतको रहेको छ । यद्यपि वरिष्ठ नेता महतोले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई भेटेको कुरालाई इन्कार गरिरहेका छन् ।
जसपाले भोलिसम्म एकीकृत धारणा तय गर्छ : भट्टराई
बुधबार ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा भएको छलफलमा शीर्ष तहबाट वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे विचारहरु आएको नेता बाबुराम भट्टराईले जानकारी दिएका छन् ।
लोकतान्त्रिक पार्टी भएकाले फरक–फरक धारणा आउनु स्वभाविक भएको भन्दै उनले छलफल जारी भएकाले बिहीबारसम्म पार्टीको एकीकृत धारण तय गरिने जानकारी दिए ।
बुधबारको अनौपचारिक छलफलमा आएका विचारहरूमाथि थप छलफल गरी राष्ट्रिय राजनीतिमा योगदान पुग्ने गरी एकीकृत निर्णय गरिने उनले बताए । भट्टराईले सञ्चारकर्मीसँग भने ‘हाम्रो पार्टीको दुई खेमा होइन, फरक–फरक विचारहरु छन्, यो स्वाभाविक हो लोकतान्त्रिक पार्टीमा ।’
संविधानको धारा ७६ को २ अनुसारको बैकल्पिक सरकार निर्माणका लागि दाबी पेश गर्ने अन्तिम म्याद विहीबार सकिँदैछ । त्यसकै निम्ति पार्टीको शीर्ष तहमा अनौपचारिक कुराकानी गरेको भट्टराईले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल उपमहानगरमा ४ भाषामा नागरिक बडापत्र
-
मध्यपूर्वमा भड्कियो युद्ध, को हुन् हिजबुल्लाह ?
-
‘मेयर’ले राजनीतिक फिल्मको असली स्वाद पस्किन्छ : दीपेन्द्र
-
एक दिनमा कति लिटर पानी पिउनुपर्छ ?
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : चौथो जितसँगै बागमती प्रदेश पहिलो स्थानमा
-
आलोचनापछि गृहमन्त्री लामिछानेले भने : हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन