शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खिमलालले पाए कलम, बादललाई सूर्य, कृष्णलाई मादल !

कोरोनाबारे तयारी छैन, भुटनीदेवी माविमा मतदान हुने
बुधबार, २९ वैशाख २०७८, १८ : ३५
बुधबार, २९ वैशाख २०७८

हेटौंडा । आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनको मतदान हेटौडाको भुटनीदेवी माविमा हुने भएको छ । मतदातालाई पीसीआर रिपोर्ट अनिवार्य गर्ने/नगर्नेबारे निर्वाचन कार्यालय अहिलेसम्म अन्योलमा छ । कोरोनाका कारण दलहरुले चुनावी प्रचार–प्रसार गरेका छैनन् ।

प्रदेश निर्वाचन कार्यालय हेटौंडामा ‘राष्ट्रियसभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालय’ स्थापना गरेर निर्वाचनको गतिविधि अगाडि बढाइएको छ ।

राष्ट्रियसभा सदस्यको बागमती प्रदेशतर्फको रिक्त एक पदका लागि गत बैशाख २४ गते तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलले उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह र जसपाको समर्थनमा डा. खिमलाल देवकोटा साझा उम्मेदवार बनेका छन् ।

नेपाल मजदूर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

खिमलाललाई कलम चुनाव चिन्ह

गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका डा. देवकोटाको उम्मेदवारी स्वतन्त्र रहेको निर्वाचन अधिकृत श्रेष्ठले बताए । निर्वाचन कार्यालयले बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उनीहरुलाई चुनाव चिन्ह प्रदान गरेको राष्ट्रियसभा उप–निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार निर्वाचनमा गृहमन्त्री बादल नेकपा एमालेको सूर्य चिन्हबाट चुनाव लड्दैछन् भने डा. देवकोटालाई कलम चिन्ह प्रदान गरिएको छ । यसअघि देवकोटाले हँसिया हथौडा चिन्हमा लड्ने चर्चा थियो । प्रदेश योजना आयोगमा समेत काम गरिसकेका देवकोटा माओवादी र काँग्रेसको समर्थनमा चुनाव लडे पनि उनी एमाले निकट बुद्धिजीवी हुन् । नेमकिपाका तामाङले भने पार्टीकै मादल चुनाव चिन्ह पाएका छन् ।

एमालेमा लागेका गृहमन्त्री रामबहादुर थापा बादललाई माओवादीले कारवाही गरेपछि रिक्त बनेको राष्ट्रियसभाको एक सिटका लागि हुन लागेको उपनिर्वाचनमा बागमती प्रदेशसभाका १०९ जना सांसदले मतदान गर्नेछन् । त्यसैगरी, स्थानीय तहका २३८ जना प्रमुख÷उपप्रमुखसमेत गरी कुल ३४७ जना मतदाता हुनेछन् । प्रदेशसभा सदस्यको मतभार ४८ हुनेछ भने स्थानीय जनप्रतिनिधिको मतभार १८ गणना हुनेछ ।   

कोरोनाबारे अलमल

मतदान प्रक्रियामा सहभागी हुने मतदाताका लागि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गर्ने/नगर्नेबारे आयोगको निर्देशन पर्खिएको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले रातोपाटीलाई बताए ।

‘तत्काल आयोगले सो सन्दर्भमा कुनै पनि निर्देशन दिएको छैन । संक्रमित मतदाताहरूको मताधिकार रोक्ने अनुमति पनि हामीलाई छैन’ श्रेष्ठले भने, ‘आयोगले केही अर्को व्यवस्था नगरेसम्म हामी संक्रमित मतदातालाई पनि सुरक्षित तरिकाले मतदान प्रक्रियामा सहभागी गराउने तयारीमा छौँ ।’

मतदान प्रक्रियामा सहभागी सांसद् तथा जनप्रतिनिधिहरूलाई अनिवार्यरुपमा दुरी कायम गरी स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्न लगाइने उनले बताए । कोरोना संक्रमित मतदाताको विषयमा पनि आयोगको निर्देशन अनुसार गरिने उनको भनाइ छ । भीडभाड नियन्त्रणका लागि सक्दो पहल गरिने र सुरक्षा निकायलाई पनि सोही अनुसार परिचालन गरिने उनी बताउँछन् ।

कोरोना महामारीका कारण चुनावको माहोल कतै पनि देखिएको छैन । राजनीतिक दलका गतिविधि पनि शून्य  प्रायः छन् । ‘निर्वाचनका सन्दर्भमा दलहरूसँग छलफल गर्दा तत्काल कुनैपनि चुनावी अभियान सञ्चालन नगर्ने दलहरूको धारणा आएको र सोही अनुसार परिस्थिति बुझेर दलहरुले चुनावी प्रचार–प्रसारका कार्य अगाडि बढ्नुहुन्न भन्ने मेरो विश्वास छ ।’ श्रेष्ठले भने ।

मतदान प्रक्रियामा अनावश्यक भीडभाडजन्य कुनै पनि गतिविधि गर्न रोक लगाइएको र हालको परिस्थितिमा आफैँ सचेत हुनुपर्ने उनको भनाइ छ ।

भुटनीदेवी माविमा मतदानको तयारी

राष्ट्रियसभा सदस्यको मतदान जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन कार्यालयले जनाएको छ ।

श्रेष्ठका अनुसार निर्वाचनका लागि जेठ ३ गते मतदान अधिकृत तोक्ने तयारी भइरहेको र मतपत्र छपाइका लागि निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा अन्तिम नामावली र चुनावचिन्हबारे जानकारी गराइएको छ ।

मतदान प्रक्रिया सञ्चालन गर्न हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको भवनलाई प्रयोग गरिने भएको छ । मतदानका लागि उक्त भवनमा दुईवटा केन्द्रको स्थापना गरी मतदान प्रक्रिया सञ्चालन गरिने व्यवस्था मिलाइएको छ ।

स्थानीय जनप्रतिनिधि र प्रदेशसभा सदस्यहरुले छुट्टाछुट्टै मतदान केन्द्रमा सहभागी हुनुपर्ने र उनीहरुका लागि मतपत्रसमेत छुट्टै व्यवस्था गरिएको अधिकृत श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप