बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अबका ३ हप्ता संयमता अपनाएनौँ भने कल्पना गरेभन्दा छुट्टै सिनारियो देखिन सक्छ : डा.पाण्डे

बुधबार, २९ वैशाख २०७८, १६ : ५२
बुधबार, २९ वैशाख २०७८

काठमाडौं । जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले कोभिड १९ संक्रमण जोखिमका दृष्टिले आगामी ३ साता निकै कठिन रहेकाले स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आग्रह गरेका छन् । कोभिड १९ को पहिलो लहरभन्दा दोश्रो लहरमा संक्रमण सार्ने क्षमता बढी तथा विरामीको स्वास्थ्य अवस्था जटिल बनाउने देखिएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्नेमा उनले जोड दिए । सञ्चारकर्मीसँग बुधबार कुराकानी गदै उनले दोश्रो लहरमा कोभिड १९ संक्रमणको फैलावट बढी भएको, कोभिड निमोनिया र अधिकांशलाई अक्सिजनको कमी हुने लक्षण देखिएकाले बढी सतर्क हुन जरुरी रहेको बताए ।

उनले भने, “त्यो बेला एउटै घरमा दुईवटा संक्रमित हुने र बाँकी संक्रमित नहुने परिस्थिति थियो । यो पटक एकजना संक्रमित भयो भने सबैजना संक्रमित हुने अवस्था छ । गत साल कोभिड निमोनिया एकदमै कमलाई भएको थियो । ९० प्रतिशत होम आइसोलेसनमा नै निको भएका थिए । यो पटक धेरैलाई कोभिड निमोनिया भएको छ । अक्सिजन चाहिने, अस्पतालको, डाक्टरको सहयोग चाहिने अवस्था छ । कोभिड निमोनियाका कारणले गर्दा अक्सिजनको माग एकदमै बढेको छ । अस्पतालका बेडहरु पनि भरिभराउ छन् । विभिन्न अस्पतालहरुले उपचार गर्न सक्तैनौँ भनेर बिरामीलाई डिस्चार्ज गरेको, बिरामीलाई नलिएको अवस्था छ । परीक्षणको हिसाबले हेर्ने हो भने ३५ प्रतिशतमा पोजेटिभ देखिएको छ । हाम्रो स्वास्थ्य संरचनाले धान्न नसक्ने हो कि भन्ने स्थिति देखापरेको छ । त्यो कारणले गर्दा यो ३ हप्ता चाहिं हाम्रा लागि निकै कठिनपूर्ण छ । गत साल भारतमा पिकमा पुगेको ३ हप्तामा हाम्रो पिकमा पुगेको थियो ।  यो तीन हप्ताभित्र हामी संक्रमित भयौं भने अस्पतालको बेड पाउन गाह्रो छ । अक्सिजन पाउन गाह्रो छ ।”

उनले दोश्रो लहरमा धेरै संक्रमितमा इण्डियन भेरियन्ट नै देखिएको तथा खुल्ला सिमानाका कारण भारतमा फैलिँदो संक्रमणकै गतिमा नेपालमा पनि संक्रमितहरु बढ्न सक्ने अवस्थालाई मनन गरी आगामी ३ हप्ता दुःख सहेरै भएपनि घरभित्रै बस्नुपर्ने अवस्था रहेको उनले बताए । उनले सही तरिकाले डबल मास्क लगाएर भौतिक दुरी कायम गर्न सकेमा संक्रमणको चेन तोडिने विश्वास समेत व्यक्त गरे । तर त्यसका लागि आम नागरिकमा आत्मानुशासन आवश्यक रहेको बताए । धेरै देशहरुमा नागरिकहरु अनुशासित भएर बसेकाले कोभिड नियन्त्रणमा सहज भएको भन्दै उनले त्यसतर्फ समयमै सचेत हुनुपर्ने आवश्यकता औंल्याए ।

उनले विद्यमान अवस्थामा अस्पतालहरुमा बेड कमी भएकाले बिस्तारका लागि धैरै काम गर्नुपर्ने भएपनि हेल्थ सिस्टम नै कोल्याप्स भयो भन्ने कुरा सही नभएको दाबी गरे । उनले भने– “हेल्थ सिस्टम कोल्याप्स भयो भन्ने कुरा म मान्दिनँ । अहिले पनि अधिकांश अस्पतालले भुईँमा, चौरमा, गल्लीमा, म्याटमा, बेन्चमा भएपनि उपचार गरिरहेका छन् । हामीले उपचार गर्न सक्तैनौँ भनेर चिकित्सकहरुले हात उठाएको अवस्था छैन । प्राइभेट अस्पतालले अक्सिजनको अभाव देखाएका छन् । त्यो केही समयमा पुरा हुन्छ । संक्रमितको संख्या घट्दै गएपछि अक्सिजनको माग पनि घट्दै जान्छ । त्यसैले हेल्थ सिस्टम नै कोल्याप्स भयो भन्ने चाहिँ होइन ।”

जनस्वास्थ्यविद् डा.पाण्डेले कोभिड १९ संक्रमणको नियन्त्रण तथा रोकथामका लागि सरकारले जनस्वास्थ्यका मापदण्ड पालनामा कडा निगरानी गर्नुको साथै अस्पतालहरूको क्षमता बृद्धि, अक्सिजनको सहज आपूर्ति र खोप आयातमा विशेष पहल गर्नुपर्ने आवश्यकता औंल्याए । उनले खोपको दोश्रो डोज लगाएकाहरू संक्रमित भएपनि स्वास्थ्य अवस्था गम्भीर नभएकाले खोपको सुनिश्चितता गर्नुपर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले अस्पतालहरुले अक्सिजन लगायतको कारण देखाएर बिरामीलाई फर्काउने काम नगर्न र सकेको उपचार र परामर्श दिन आग्रह गरे । संक्रमितहरुले पनि छाती लगायतको प्रारम्भिक परीक्षण गरी सचेतता अपनाउन पनि आग्रह गरे ।
उनले भने– “जनस्वास्थ्य मापदण्ड पालना भए÷नभएको निगरानी गर्नुपर्यो । खोप ल्याउने काम छिटो गर्न र त्यसको जिम्मा निजी क्षेत्रलाई पनि दिनुपर्यो । कोभ्याक्स अन्तर्गतको बाँकी खोप ल्याउनका लागि पहल गर्नुपर्यो । नीजि अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरि स्वास्थ्यसेवालाई विस्तार गर्नुपर्यो । अहिले पनि आत्तिनुपर्ने र डराउनुपर्ने अवस्था छैन । तर यो तीन हप्ता हामीले संयमता, धैर्यता राखेनौ भने हामीले कल्पना गरे भन्दा छुट्टै सिनारियो देखिन सक्छ । ”
उनले महामारी समुद्रको छाल जस्तो भएको र उच्च विन्दुमा पुगेपछि क्रमैसँग तल झर्दै जाने भएकाले आगामी ३ हप्ता विशेष सचेत हुनुपर्नेमा जोड दिए । उनले अस्पताल, बिरामी र नकारात्मक समाचारमा भन्दा आत्मबल बलियो बनाई, योजनाबद्ध तरिकाले संक्रमित भइहाले के गर्ने भन्नेबारे पूर्व तयारीका स्वास्थ्यका मापदण्ड अपनाएर घरमै बस्न सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप